जनकपुरधाम– जनकपुरधाममा दुई सरकारी गाडी आपसमा ठोक्किदा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंह घाइते भएका छन्।
सोमबार राति करिब साढे ९ बजे रामानन्द चोकमा मन्त्री सिंह सवार मधेश प्रदेश ०२– ००१ झ ०१६५ नम्बरको गाडीमा प्र ०३–००१ झ ००९६ नम्बरको गाडीले ठक्कर दिएको बताइएको छ। दुर्घटनामा घाइते मन्त्री सिंहको उपचार प्रादेशिक अस्पतालमा भइरहेको छ।
मन्त्री सिंहलाई अस्पतालमै पुगेर मुख्यमन्त्री सतिश कुमार सिंहले स्वास्थ्य लाभको कामना गरे। उनले मन्त्रीजीको स्वास्थ्य स्थिति खतरामुक्त रहेकाे र घटनाबारे छानबिन गर्न धनुषा प्रहरीले डिएसपीको नेतृत्वमा छानबिन समिति गठन गरेको बताएका छन्।
मन्त्री सिंहको गाडीमा ठक्कर दिने गाडी खानेपानी डिभिजन पर्साको रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहले जानकारी दिए। उनका अनुसार घटनाको अनुसन्धान भइरहेको छ।