नेपालगन्ज- बाँकेको नेपालगन्जस्थित भेरी अस्पताल सेवा सुधारका हिसाबले लगातार उकालो लाग्दै गइरहेको छ। विगत दुई वर्षदेखि न्यूनतम सेवा मापदण्डमा अगाडि रहेको अस्पतालले यस वर्ष अघिल्ला वर्षमा भन्दा पनि बढी सुधार गर्दै नम्बर थप गर्न सफल भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गुणस्तर तथा नियमन महाशाखाले न्यूनतम सेवा मापदण्डका लागि गरेको स्थलगत अनुगमन र मूल्यांकनमा यस वर्ष अस्पतालले ७५ अंक ल्याउन सफल भएको छ। गत वर्ष अस्पतालले न्यूनतम सेवा मापदण्डमा ६७ अंक ल्याएको थियो। दुई वर्ष अघि अर्थात आर्थिक वर्ष २०७७/७८ मा ६१ अंक थियो।
न्यूनतम सेवा मापदण्डमा दुई वर्षदेखि उत्कृष्टको स्थान यस वर्ष पनि निरन्तरता पाउने आशा रहेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा बद्री चापागाईंले बताए। उनले सामूहिकताको भाव, उपलब्ध जनशक्ति र आर्थिक स्रोतको छरितो व्यवस्थापनका साथै सूचना प्रविधि मैत्री कार्यसंस्कारका कारण उपलब्धि हासिल गर्न सफल भएको जानकारी दिए।
'स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको गुणस्तर तथा नियमन महाशाखाले न्यूनतम सेवाको निम्ति गरेको स्थलगत अनुगमन तथा मूल्यांकनमा हामीले ७५ अंक हासिल गर्न सफल भएका छौं,' ७५ अंक प्राप्त गरेपछि अस्पतालले सामाजिक सञ्जाल फेसबुकमा खुसी साट्दै लेखेको छ, 'जिर्ण र साँघुरो भौतिक संरचना, जनशक्तिको पर्याप्त दरबन्दी नहुनु हाम्रा काबु बाहिरका सिमितता हुन्। तर सामूहिकताको भाव उपल्ब्ध जनशक्ति र आर्थिक स्रोतको छरितो व्यवस्थापन , सुचना प्रविधि मैत्री कार्यसंस्कार, कार्यरत चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा सम्पूर्ण कर्मचारीहरुको इमान्दारिता र लगनशीलताको परिणामस्वरूप यो उपलब्धि हासिल भएको हो। आशा छ दुई वर्षदेखिको उत्कृष्टताको हाम्रो स्थानले यो साल पनि निरन्तरता पाउनेनैछ।'