भेरीगङ्गा (सुर्खेत)- सुर्खेतमा पाँच जनामा दादुरा देखा परेको छ। पैसठ्ठी शङ्कास्पद बिरामीको चेकजाँच गर्दा उनीहरुमा दादुरा भेटिएको हो।
वीरेन्द्रनगर र चिङ्गाड दुई-दुई तथा गुर्भाकोटका एक जनामा दादुरा भेटिएको स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले जानकारी दिए। उनका अनुसार कालीकोटमा पनि तीन जनामा दादुरा देखिएको छ।
यही जेठ २८ गतेदेखि सुर्खेतका नौवटै पालिकामा दादुराविरुद्धको खोप अभियान सुरु गरिने भएको छ। दुई चरणमा सञ्चालन हुने उक्त खोप अभियन आगामी असार ५ गतेसम्म सञ्चालन गरिने छ।
पहिलो चरणमा बराहाताल, चिङ्गाड, भेरीगङ्गा र लेकबेँसी तथा दोस्रो चरणमा वीरेन्द्रनगर चौकुने, सिम्ता, पञ्चपुरी र गुर्भाकोटमा खोप अभियान सञ्चालन गरिने गौतमले बताए।
यसैबीच, दादुरा रुबेला खोप अभियान सञ्चालनसम्बन्धी जिल्ला खोप समन्वय समिति, सञ्चारकर्मी र सरोकारवालाको अभिमुखीकरण गरिएको छ। कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गङ्गाराम सुनारले वडाले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए। अभियानलाई सफल बनाउन सरकारको धेरै लगानी भएको उल्लेख गर्दै उनले गुणस्तरीय र प्रभावकारी समन्वय आवश्यक पर्ने बताए।