रुकुम पश्चिम- रुकुम पश्चिममा आँखा सर्जिकल सेन्टरको स्थापना भएको छ। नेपाल नेत्रज्योति सङ्घको पहल तथा राप्ती आँखा अस्पताल दाङको सहयोगमा मुसीकोट नगरपालिका–१ सल्लेमा सर्जिकल सेन्टरको स्थापना गरिएको हो।
आँखा उपचार केन्द्र सल्लेलाई नै आँखा सर्जिकल सेन्टरको रुपमा विकास गरिएको आँखा उपचार केन्द्र सल्लेकाइञ्चार्ज धनबहादुर केसीेले जानकारी दिए।
जिल्लाको आवश्यकता र सेवाग्राहीको मागका आधारमा सर्जिकल सेन्टरको सुरुवात गरिएको उनको भनाइ छ। आज जिल्ला समन्वय समिति प्रमुख लुम्बिनी गौतमले सर्जिकल सेन्टरको उद्घाटन गरे।
सेन्टरमा मोतियाविन्दु, जलविन्दु, आर्सनली बन्द भएको, मासु पलाएको समस्याको शल्यक्रिया हुने इञ्चार्ज केसीले जानकारी दिए। उनका अनुसार ३० लाख ५० हजार लागतमा सर्जिकल सेन्टरको स्थापना भएको हो।
आर्थिक वर्ष २०७७/७८ मा कर्णाली प्रदेश अन्तर्गत स्वास्थ्य सेवा कार्यालयको रु १० लाख, मुसीकोट नगरपालिकाको रु पाँच लाख र राप्ती आँखा अस्पताल दाङको रु दुई लाख गरी १७ लाखमा अपरेटिङ माइक्रोस्कोप खरिद गरिएको थियो।
त्यस्तै आर्थिक वर्ष २०७८/७९ मा मुसीकोट नगरपालिकाको रु तीन लाख, बाँफिकोट गाउँपालिकाको रु तीन लाख, कर्णाली प्रदेश अन्तर्गत स्वास्थ्य सेवा कार्यालयको रु पाँच लाख, त्रिवेणी गाउँपालिकाको रु दुई लाख ५० हजार गरी रु १३ लाख ५० हजार जेनेरेटर, ल्याम्प, ओडिसेट तथा एसी खरिद गरिएको थियो।
आँखा सर्जिकल सेन्टरका लागि थप उपकरण तथा अन्य व्यवस्थापन गर्न केही समय लाग्ने भएकाले आगामी आर्थिक वर्षदेखि सर्जिकल सेवाको सुरुआत गरिनेछ। विसं २०६८ मा आँखा उपचार केन्द्रको स्थापना भएको १२ वर्षपछि जिल्लामा आँखा सर्जिकल सेन्टरको स्थापना भएको हो।
सर्जिकल सेन्टर स्थापना र आँखा उपचार केन्द्रलाई सहयोग गर्ने विभिन्न २० व्यक्ति तथा सङ्घ संस्थालाई सम्मान पनि पनि गरिएको नेपाल नेत्रज्योती सङ्घ रुकुम पश्चिम शाखा सभापति शिवरामखत्रीले जानकारी दिए। रासस