काठमाडौं– काठमाडौं विश्वविद्यालय (केयू) स्कुल अफ साइन्सले पहुँचको भरमा एक जना व्यक्तिलाई मनपरी ढंगले जागिर दिएको तथ्य फेला परेको छ। केयू स्कुल अफ साइन्सले स्नातकोत्तर तह अन्तर्गत एम फर्मा इन एनालाइसिस विषय सञ्चालनका क्रममा मनपरी गरेको तथ्य फेला परेको हो।
चिकित्सा शिक्षा आयोगले गरेको अनुगमना क्रममा उक्त विषय अध्यापनका लागि आवश्यक पर्ने प्राध्यापक तथा लेक्चरर नै नभेटेपछि आयोगले मनपरी रुपमा पहिलो ब्याचमा विद्यार्थी भर्ना गरेको तथ्य फेला परेको हो। अनुगमनका क्रममा उक्त विषय अध्यापनका लागि मापदण्ड अनुसार आवश्यक प्राध्यापक तथा लेक्चरर नै फेला नपरेपछि आयोगले उक्त कार्यक्रम नै बन्द गरिदिएको छ।
आयोग, कार्यकारी समितिले २०७८ साल माघ ४ गते केयूको निर्णय अनुसार नै उक्त विषय अध्यापनका लागि ५ वटा सिट दिने निर्णय गरेको थियो। जसमा ४ सिट खुला र एक सिट विदेशी विद्यार्थीका लागि भनेर निर्धारण गरिएको थियो। सोही अनुसार केयूले विद्यार्थी भर्ना गरी अध्यापन पनि गराएको थियो।
तर आयोगले गरेको अनुगमनमा केयूले उक्त विषयका प्राध्यापक र लेक्चरर बिना अध्यापन गराइरहेको फेला पारेपछि दोस्रो ब्याचदेखि नै उक्त कार्यक्रम बन्द गरेको छ। आयोगले अनुगमनका क्रममा उक्त विषयका विषयमा केयूका तर्फबाट गलत काम भइरहेको फेला परेपछि एक ब्याचभन्दा अर्को ब्याच भर्ना गर्न नदिएको स्रोतले जानकारी दियो।
आयोगका तर्फबाट अनुगमन गएका एक प्रतिनिधिले मापदण्ड अनुसार उक्त विषय अध्यापन गराउने जनशक्ति नै नभेटिएकाले कार्यक्रम बन्द गर्न आयोगलाई सिफारिस गरेको जानकारी दिए।
‘म आफैं अनुगमनमा गएको हो, उहाँहरुकोमा फर्मास्युटिकल एनालाइसिस पढाउने, लेक्चरर तहको शिक्षक पनि हुनुहुन्न, त्यही भएर यो विषय बन्द भएको हो,’ अनुगमनमा खटिएका एक विज्ञले स्वास्थ्यखबरसँग भने, ‘स्नातकोत्तर तहको अध्ययन गराउन एसोसियट प्रोफेसर चाहिन्छ। एसोसियट प्रोफेसरको कुरा त छोडिदिनुस् लेक्चरर पनि छैनन्।’
उनले गत वर्ष भिसी र डिनले तुरुन्त फ्याकल्टि राख्ने भनेर आयोगले स्वीकृती दिएको भएपनि अनुगमनमा जाँदा मापदण्ड अनुसारको प्राध्यापक, एसोसिएसट प्रोफेसर तथा लेक्चरर कोही पनि नभएको पाइएको बताए।
ललित मोहन पन्तलाई जागिर खुवाउने खेल
केयूकै एक उच्च तहका कर्मचारीका अनुसार ललित मोहन पन्तलाई जागिर खुवाउनकै लागि तत्कालिन समयमा मिलेमतोमा यो काम गरिएको हो। ‘हामीले त उक्त विषयमा अध्ययन नगरेका व्यक्तिलाई अध्यापन गराउने काम दिनुहुन्न भनेका थियौं,’ ती कर्मचारीले भने, ‘तर यहाँ राजनीतिक आस्थाका आधारमा एक जना व्यक्तिलाई जागिर खुवाउनका लागि चलखेल गर्ने काम भयो।’
ललितमोहन हाल नेपाल फर्मास्यिुटिकल्स एसोसिएसनका अध्यक्ष समेत हुन्। उनले इन्डस्ट्रियल फार्मेसीमा स्नातकोत्तर तह अध्ययन गरेका छन्। उनले एमफर्मा इन एनालाइसिस विषय भने अध्ययन गरेका छैनन्। तर केयूले उनलाई लेक्चररका रुपमा नियुक्त गरेको छ।
पन्त आफूले ढाँटेर उक्त विषय अध्यापनको जिम्मेवारी नपाएको बताउँछन्। उनले केयूले लिएको परीक्षा पास भएर लेक्चरर भएको दाबी गर्दै स्वास्थ्यखबरसँग भने, ‘म इन्डस्ट्रियल फार्मेसी पढेको मान्छे हुँ। मैले एनालाइसिस पढेको छैन। म कसैलाई ढाँटेर, ठगेर आएको होइन। काठमाडौं विश्वविद्यालयले परीक्षा लिएर परीक्षा पास भएर, फाइट गरेर लेक्चरर भएको मान्छे हो।’
स्रोतका अनुसार पन्तलाई स्कुल अफ साइन्सका डिन जनार्दन शर्मासँगको सेटिङमा नै योग्यता नै नभएपनि फरक विषय पढेका भरमा लेक्चररको जिम्मेवारी दिइएको हो। ‘अध्ययन गरेको विषय एउटा अनि पढाउने अर्को विषय पनि कहीँ हुन्छ,’ स्रोतले भन्यो, ‘यो विषयमा डिनसँग पन्तको पनि सेटिङ थियो। त्यही सेटिङका आधारमा नियुक्त गरिएको हो।’
केयू स्कुल अफ साइन्सका डिन जनार्दन लामिछाने सबै प्रक्रिया पूरा गरेर नै जनशक्ति नियुक्त गरिएको दाबी गर्छन्। 'हामीले नियुक्त गरेको प्रोफेसर ठिक छ। एक जना व्यक्तिका पछाडि नजानुहोस् न,' उनले स्वास्थ्यखबरसँग भने। डिन लामिछानेले ललित मोहन पन्तलाई प्रोफेसर भने पनि उनी लेक्चरर हुन्।
उनले मापदण्ड पूरा नभएको भए गत वर्ष आयोगले कसरी विद्यार्थी भर्नाका लागि सिट दियो भनेर प्रश्न गरे।
‘हामीलाई आयोगले नै गत वर्ष सिट दिएको हो। अघिल्लो वर्ष के आधारमा सिट दिनुभयो? पहिला सिट दिने अनि अर्को वर्षमा आएर फ्याकल्टी छैन भनेर भन्न मिल्छ? कार्यक्रम बन्द गर्न मिल्छ?’ उनले प्रश्न गर्दै भने, ‘एक वर्ष चलेको कार्यक्रम बन्द गर्न मिल्दैन। पढाउन दिनुपर्छ।’
आयोगका कर्मचारीका अनुसार केयूको उक्त कार्यक्रमका विषयमा अनुगमन टोलीले दिएको प्रतिवेदनका अनुसार नै कार्यक्रम बन्द गरिएको हो।
‘यहाँबाट जानुभएको अनुगमन टोलीले बनाएको प्रतिवेदनमा भएको सुझाव अनुसार नै कार्यक्रमका लागि सिट नदिइएको हो,’ ती कर्मचारीले भने, ‘पढाउने व्यक्ति नै नभएपछि कसरी विद्यार्थी भर्नाका लागि सिट दिन सकिन्छ? उहाँहरु खराब काम गर्ने अनि दोष आयोगलाई दिन मिल्छ? आयोगले नियम र मापदण्ड अनुसार काम गर्ने हो।’