काठमाडौं- सरकारले स्वास्थ्य क्षेत्रको सात वर्षे रणनीतिक योजना पास गरेको छ। मन्त्रिपरिषदको बैठकले 'नेपाल स्वास्थ्य क्षेत्र-रणनीतिक योजना २०७९/८०-२०८७/८८ पास गरेको हो। मन्त्रिपरिषदबाट रणनीति पास भएसँगै स्वास्थ्यका महत्वपूर्ण कार्यक्रमहरु अगाडि बढ्नुका साथै वैदेशिक सहयोग आउने बाटो खुलेको छ।
मन्त्रिपरिषदमा पेस भएको झण्डै एक वर्षपछि उक्त रणनीति पारित भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत असार २४ गते उक्त रणनीति मन्त्रिपरिषदमा पेश गरेको थियो।
प्रत्येक नागरिकको स्वास्थ्य अवस्थामा सुधार गर्न लक्ष्यसहितको उक्त रणनीतिमा सन् २०३० सम्मका दीगो विकास लक्ष्यहरु पुरा गर्ने विषयमा कार्यक्रम र योजनाहरु रहेका छन्।
यस्ता छन् रणनीतिका मुख्य पाँच उद्देश्य
स्वास्थ्य प्रणालीको कुशलता र उत्तरदायित्व अभिवृद्धि गर्नु
स्वास्थ्यका वृहत निर्धारकहरुलाई सम्बोधन गर्नु
स्वास्थ्यमा दिगो लगानी र सामाजिक सुरक्षा प्रवर्द्धन गर्नु
गुणस्तरीय स्वास्थ्य सेवामा न्यायोचित पहुँच प्रवर्द्धन गर्नु
जनसङ्ख्या र बसाइँ सराइको व्यवस्थापन गर्नु
सात वर्षको अवधिमा उक्त रणनीतिबाट निम्न नतिजा आउने अनुमान गरिएको छ
• स्वास्थ्यका लागि सीप–मिश्रित जनशक्तिको उत्पादन र परिचालन
• तथ्य र समतामा आधारित योजना तर्जुमा
• सुरक्षित र जनमैत्री स्वास्थ्य पूर्वाधार
• गुणस्तरीय औषधि र सामग्रीको नियमित उपलब्धता
• सुशासन, नेतृत्व र जवाफदेहितामा सुधार
• जनस्वास्थ्य विपतको प्रभावकारी व्यवस्थापन
• स्वास्थ्यमा वृहत निर्धारकको प्रतिकूल प्रभाव न्यूनिकरण
• आफ्नो, परिवारको र सामुदायको स्वास्थ्यप्रति जिम्मेवार नागरिक
• स्वास्थ्य क्षेत्रमा राज्यको लगानी वृद्धि
• स्वास्थ्यमा सुदृढ सामाजिक सुरक्षा
• स्वास्थ्य सेवाको गुणस्तरमा सुधार
• स्वास्थ्य क्षेत्रमा घट्दो असमता
• विकास प्रक्रियामा जनसाङ्ख्यिक लाभांशको उपयोग र जनसाङ्ख्यिक संक्रमणको व्यवस्थापन
• व्यवस्थित बसाइँ सराइ र योजनाबद्ध वसोबास