काठमाडौं– विगत केही दिनदेखि गर्मी अत्यधिक मात्रामा बढेको छ। देशका तराई–मधेस क्षेत्रमा अधिकतम तथा न्यूनतम तापक्रम वृद्धि भइरहेको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार काठमाडौं उपत्यकासहित देशका अन्य उपत्यकाहरूमा समेत तापक्रममा क्रमिक वृद्धि भइरहेको छ। मध्य तराई र आसपासमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन भएको छ।
आगामी केही दिनसम्मको देशभरको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार तराईका धेरैजसो भू-भागहरूमा अधिकतम र न्यूनतम तापक्रम क्रमिक रुपमा बढ्दै जाने विभागले जनाएको छ।
कम्तीमा पनि आगामी बिहीबारसम्म तातो हावा (लू) लाग्ने सम्भावना रहेको विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पहाडी भू-भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
चिकित्सकका अनुसार तातो हावा तथा लूका कारण स्वास्थ्यमा गम्भीर समस्या निम्तिन सक्छ। साथै कतिपय अवस्थामा उच्च गर्मीका कारण ज्यान समेत जाने जोखिम हुन्छ।
लू लागेको अवस्थामा थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने जस्ता असर देखिन्छन्। साथै, कसैकसैलाई चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्छ।
तातो हावा तथा लूबाट बच्न बढी गर्मीको समयमा घर भित्र अर्थात् चिसो स्थानमा रहनुपर्छ। बाहिरी वातावरणमा बढी नजाने, घाममा नजाने गर्नुपर्छ।
हल्का लुगा तथा सकेसम्म सुती कपडा लगाउने गर्नुपर्छ। बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित (पटक-पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत, आदि) प्रशस्त मात्रामा पिउने गर्नुपर्छ। स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मीसँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिने गर्नुपर्छ।