काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्लुएचओ ) बाट अमेरिका बाहिरिने प्रक्रिया स्वीकृत गर्ने निर्णय गरेपछि विभिन्न क्षेत्रबाट आलोचना भइरहेको छ।
सन् २०२० मा ट्रम्पले पहिलो पटक डब्लुएचओबाट अमेरिका हटाउने निर्णय गर्दा दुबै दलका सांसदहरूले उक्त संस्थाप्रति आलोचना गरेका थिए। तर, विश्वव्यापी महामारीको समयमा यस्तो निर्णय गर्नु 'निरर्थक कार्य' भएको भन्दै धेरैले विरोध जनाएका थिए। त्यतिबेला तत्कालीन सभामुख न्यान्सी पेलोसीले ट्रम्पको निर्णयलाई 'पूर्णत: मूर्खतापूर्ण' भनेकी थिइन्। त्यस्तै, सेवानिवृत्त रिपब्लिकन सिनेटर लामार एलेक्जेन्डरले पनि ट्रम्पको कदम असहमतिपूर्ण रहेको बताएका थिए।
बाइडेन प्रशासनका पूर्व कोभिड-१९ प्रतिकार्य संयोजक डा असीश झाले ट्रम्पको यो पछिल्लो निर्णयलाई रणनीतिक भूल भनेका छन्।
चीनको प्रभाव बढ्ने चेतावनी
झाका अनुसार डब्लुएचओ एक महत्त्वपूर्ण संगठन हो, र अमेरिका डब्लुएचओ बाट निस्कदा त्यहाँ शक्ति रिक्तता सिर्जना गर्छ, जसलाई चीनले पूर्ति गर्ने सम्भावना धेरै छ।
'अमेरिकाको समर्थनबिना डब्लुएचओ कमजोर हुन्छ, जसको फाइदा चीनले उठाउनेछ। यसले चीनलाई विश्वभर थप राजनीतिक प्रभाव जमाउने अवसर प्रदान गर्छ,' उनले सीएनएनसँगको अन्तर्वार्तामा भने।
जर्जटाउन विश्वविद्यालयका सार्वजनिक स्वास्थ्य कानुनका प्राध्यापक लरेन्स गोस्टिनले पनि ट्रम्पको निर्णयलाई 'सबैभन्दा महत्त्वपूर्ण कार्य' भन्दै गम्भीर प्रतिक्रिया दिएका छन्।
'यो एक विनाशकारी राष्ट्रपतिको निर्णय हो। एचओबाट हट्दा विश्व स्वास्थ्य क्षेत्रमा गहिरो असर पर्छ, तर अमेरिका स्वयंलाई अझ ठूलो क्षति पुग्छ,' उनले सामाजिक सञ्जालमा लेखेका छन्।
डब्लुएचओलाई कमजोर बनाउने निर्णय
झाका अनुसार डब्लुएचओले विशेष गरी विश्वव्यापी इन्फ्लुएन्जा निगरानीका लागि अमेरिकी कर्मचारी र विज्ञतामा धेरै निर्भर गर्दछ।
ट्रम्पको कार्यकारी आदेशअनुसार उपसचिव र बजेट कार्यालयका निर्देशकले डब्लुएचओलाई दिइने कुनै पनि रकम, सहयोग वा स्रोत रोक्नेछन्। तर, डब्लुएचओबाट पूर्ण रूपमा हट्न एक वर्ष लाग्नेछ, र यो अवधिमा अमेरिका अझै केही आर्थिक सहयोग गर्न बाध्य रहनेछ।
तर, झाले भने, 'तर त्यो बाध्यता कसले लागू गर्छ? ट्रम्प अन्तर्राष्ट्रिय मान्यतासँग डराउँछन् त?'
गोस्टिनले ट्रम्पको निर्णय कानुनी रूपमा गलत रहेको बताएका छन्। 'कानुनअनुसार अमेरिका एक वर्षपछि मात्र हट्न सक्छ, तर ट्रम्पले अहिले नै समर्थन रोक्ने प्रयास गरिरहेका छन्। यो गैरकानुनी छ र ठूलो रणनीतिक गल्ती हो,' उनले भनेका छन्।