काठमाडौं- कर्णाली प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत भएको छ। आइतबार प्रदेश प्रमुख तिलक परियारले प्रदेश सभामा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।
नीति तथा कार्यक्रममा आर्थिक वर्ष २०८०/८१ लाई नागरिक स्वास्थ्य परीक्षण वर्षको रुपमा लिइने उल्लेख छ। 'यसका लागि स्थानीय र संघीय तहका अस्पताल तथा स्वास्थ्य संस्था र विकास साझेदार समेतको सहकार्यमा नागरिकको स्वास्थ्य परीक्षण सेवा सञ्चालन गरिनेछ', भनिएको छ।
कर्णालीबासीको आधारभूत स्वास्थ्य सेवाको पहुँचलाई सुलभ, सहज, गुणस्तरीय र प्रभावकारी बनाउन विशेषज्ञ स्वास्थ्य सेवाका लागि आवश्यक पूर्वाधार, जनशक्ति, औषधि तथा उपकरणको व्यवस्थापन गरिने विषय पनि नीति तथा कार्यक्रममा उल्लेख छ।
रोग लागेपछि मात्र उपचार गर्ने प्रवृत्ति अन्त्य गर्न स्वास्थ्य प्रदायक संस्था, भौतिक पूर्वाधार, प्रविधि र आवश्यक जनशक्तिको प्रबन्ध गरी रोगको उपचार र रोगको पूर्वरोकथाम प्रक्रियालाई प्राथमिकता दिइने, २५ देखि ५० शैय्यासम्मका जिल्ला अस्पतालमा डायलाइसिस, दन्त चिकित्सा, फिजियोथेरापि, प्रयोगशाला, आँखा उपचार, रक्तसञ्चार लगायतका विशेषज्ञ स्वास्थ्य सेवाका लागि आवश्यक उपकरण तथा जनशक्ति व्यवस्थापन गर्दै टेलिमेडिसिन मार्फत् समेत सेवा प्रवाह गर्ने व्यवस्था मिलाइने विषय पनि नीति तथा कार्यक्रममा उल्लेख छ।
समय समयमा विशेषज्ञ र विशिष्टिकृत स्वास्थ्य सेवा शिविर सञ्चालन गरिने, प्रदेशका सबै जिल्ला अस्पताल र स्वास्थ्यचौकीहरूलाई सूचना प्रविधिसँग जोड्नको लागि एकै प्रकारको अस्पताल व्यवस्थापन सूचना प्रणाली जडान गरी सेवा प्रवाह गर्ने व्यवस्था मिलाइने, प्रदेश अस्पताल, सुर्खेतमा मुटु, क्यान्सर, मिर्गौला डायलाइसिस र युरोलोजी सेवा उपलब्ध गराई प्रेषण अस्पतालको रुपमा सेवा विस्तार गरिने, मिर्गौलाको डायलाइसिस सेवालाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र चौरजहारी अस्पतालमा विस्तार गर्न आवश्यक व्यवस्था गरिने, संक्रामक रोगको रोकथाम, निगरानी, निदान, नियन्त्रण र व्यवस्थापनका लागि आवश्यक जनशक्ति, उपकरण र पूर्वाधारको व्यवस्था गरिने लगायतका विषय नीति तथा कार्यक्रममा परेको छ।
स्वास्थ्यका विषय
यस्तो छ नीति तथा कार्यक्रमको पूर्णपाठः