काठमाडौं- मेडिकेयर अस्पताललाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल सरकारबाट राजस्व छुट पाई खरिद गरिएका उपकरणहरूमा मापदण्ड बमोजिम गरिब विपन्नलाई छुट दिने तथा त्यसको लागत समेत उल्लेख गर्न निर्देशन दिइएको छ।
स्वास्थ्य मन्त्री मोहन बहादुर बस्नेतको निर्देशनमा मन्त्रालयका उच्च तहका कर्मचारीको टोलीले शुक्रबार मेडिकेयर अस्पतालमा आकस्मिक अनुगमन गर्दै यस्तो निर्देशक दिएको हो। अनुगमनका क्रममा टोलीले कूल शय्याको १० प्रतिशत शय्या विपन्न, गरिब, असहायलाई अनिवार्य छुट्याइ उपलब्ध गराउन पनि निर्देशन दिएका छन्।
साथै सबै प्रकारका सेवा शुल्क नागरिक बडापत्रमा सेवाग्राहीले देखिने गरी राख्न निर्देशन दिएको छ। अस्पतालले उपचारको क्रममा लाग्ने सेवा शुल्क वेभसाइडमा मात्र राखेको पाइएकाले अस्पताल परिसरमा पनि सबैले देख्ने गरी राख्न निर्देशन दिइएको मन्त्रालयका एक कर्मचारीले जानकारी दिए।
यसैगरी, अस्पतालको इमर्जेन्सी सेवामा सुधार, पार्किङ व्यवस्थापनमा समेत सुधार गर्न निर्देशन दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
अनुगमन टोलीले अस्पताललाई मन्त्रालयबाट स्वीकृत मापदण्ड र निर्देशिकाको अनिवार्य पालना गर्न पनि सुझाव दिएको छ।