सुर्खेत - राष्ट्रिय जनगणना २०७८ का अनुसार कर्णाली प्रदेशमा शिशु मृत्युदर ६ दशमलव चार प्रतिशत रहेको देखिएको छ। तीन लाख ५२ हजार नौ सय ८३ बिवाहित महिलाले हालसम्म आठ लाख ५२ हजार तीन सय २२ बच्चा जन्माएका छन्। तीमध्ये छ दशमलव चार प्रतिशत अर्थात् ५४ हजार पाँच सय ४८ शिशुको मृत्यु भएको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ। मृत्यु हुनेमा बालिकाभन्दा बालक धेरै छन्।
प्रदेश सामाजिक विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७७ र ७८ मा मात्रै दुई सय १८ शिशुको मृत्यु भएको थियो। मन्त्रालयका अनुसार पछिल्लो तीन वर्षमा पाँच वर्षमुनिका पाँच सय ८६ बालबालिकाको मृत्यु भएको छ।
यसैबीच, राष्ट्रिय जनगणनाको तथ्याङ्कमा पछिल्लो समय कर्णाली प्रदेशमा छोरीभन्दा छोराको धेरै जन्म भएको देखिन्छ। गत वर्षसम्म आठ लाख ५२ हजार तीन सय ५२ बच्चा जन्मिएकामा ५२ दशमलव दुई प्रतिशत अर्थात् चार लाख ४४ हजार नौ सय १२ छोराको जन्म भएको छ।
त्यस्तै, ४७ दशमलव नौ प्रतिशत अर्थात् चार लाख आठ हजार दुई सय ६३ छोरीको जन्म भएको छ। यहाँका महिलाहरु अझै पनि जोखिम मोलेर घरमै सुत्केरी हुनाले मातृ तथा शिशु मृत्युदर नघटेको सरोकारवालाहरु बताउँछन्। रासस