काठमाडौं- रौतहटको गरिब परिवारमा जन्मेका रामजी रामले नेपाल मेडिकल काउन्सिलले लिएको चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षा उत्तीर्ण गरेका छन्। अध्ययनका क्रममा विभिन्न समस्या र अप्ठ्याराहरुसँग जुधेका रामजीले शुक्रबार डाक्टरको लाइसेन्स परीक्षा उत्तीर्ण गरेका हुन्।
शुक्रबार लाइसेन्स परीक्षामा पास भएपछि रामजीले सामाजिक सञ्जाल फेसबुकमा अध्ययनका समयमा आफूलाई सहयोग गर्ने सबैलाई सम्झिएका छन्। उनले आधिकारिक रुपमा सिकेका चिकित्सा शास्त्रका गुणहरुको अभ्यास गर्ने अनुमती पाएँ भन्दै बिरामीका दुखहरुले लिने परीक्षामा पनि पास हुन पाउँ भन्ने इच्छा राखेका छन्।
'आज नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा पास भएँ। परीक्षाको बेला आफ्नो खल्ती रित्याएर मलाई अध्यन गर्न सघाउनुहुने सम्पुर्ण दाताहरु, दृश्य अदृश्य रुपमा मलाई सिकाउनुहुने हाम्रा सम्पुर्ण गुरुहरु, बिरामीहरु, सम्पुर्णलाई यो सर्टिफिकेट चढाउँछु। आजदेखि अधिकारीक रुपले सिकेको चिकित्साशास्त्रको गुणहरुको अभ्यास गर्न पाउने अनुमती पाएँ। अब मेरा बिरामीका दुखहरुले लिने परीक्षाहरुमा पास हुन पाउ!' उनले लेखेका छन्।
काउन्सिलले शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसार लाइसेन्स परीक्षामा एमबीबीएस तर्फ ४० दशमलव ४९ र बिडीएस तर्फ २९ दशमलव ६१ प्रतिशत उत्तीर्ण भएका छन्।
छात्रवृत्तिमा पढ्ने अवसर पाए पनि कलेजले विभिन्न शिर्षकमा लाखौं रकम माग गर्दै परीक्षाबाट बञ्चीत गराएका रामजीले विभिन्न अवरोधहरुलाई चिर्दै एक वर्षअघि एमबीबीएस पास गरेका थिए।
एमबीबीएस उत्तीर्ण भएलगत्तै त्यतिबेला पनि उनले सामाजिक सञ्जालमा खुशी साटेका थिए। उनले आफ्नो बुबालाई सम्बोधन गर्दै आफू एमबीबीएस उत्तीर्ण भएको जानकारी दिएका छन्। उनले आफ्नो अफ्ठेरो समयमा साथ दिने सबैलाई धन्यवाद समेत दिएका छन्।
'बुवा अन्ततः म एमबीबीएस पास भएँ। आजसम्मको परीक्षा यात्रामा प्रत्यक्ष अप्रत्यक्ष रुपमा साथ दिनु हुने सम्पुर्ण गुरुहरु, परिवार, इष्टमित्र एवं यो एमबीबीएस यात्राभरी साथदिने यूजीसी, नेसनल मेडिकल कलेज, आइओएम, शिक्षा मन्त्रालय, चिकित्सा शिक्षा आयोग, पिडिआरसी, नेपाल मेडिकल काउन्सिल, सञ्चार मध्यम लगायत अप्ठ्यारो परिस्थितिहरुमा साथ दिनुहुने महानुभावहरु प्रति हार्दिक हार्दिक-आभार प्रकट गर्दछु!,' रामजीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए।
उनले परीक्षाहरु अझै नसकिएको र जीवनका बाँकी परीक्षाहरुमा पनि हौसला, साथ र सहयोग गर्ने सबैसँग कामना गरेका छन्। 'परीक्षाहरु सकिएको छैन भने म विश्वस्त छु! किनकि एउटा चिकित्सकको परीक्षा रोगहरु र रोगका कारणहरुले हर हमेशा लिइरहेको हुन्छ! जहिलेसम्म जीवन छ तबसम्म परीक्षाहरु कहिले सकिन्न! जीवनका बाँकी परीक्षाहरुमा यहाँहरुको साथ, हौसला र सहयोग मिलोस भने कामना गर्दछु,' उनले लेखेका थिए।
रामजीले वीरगन्जस्थित नेसलन मेडिकल कलेजमा एमबीबीएस अध्ययन गरेका हुन्। अध्ययनका क्रममा कलेज प्रशासनले उनलाई पैसा नतिरको भन्दै परीक्षामा सहभागी समेत हुन दिएको थिएन।
चिकित्सा शिक्षा आयोग र इस्टिच्युट अफ मेडिसिन (आइओएम)ले रामलाई परीक्षामा सहभागी गराउन निर्देशन दिएको भएपनि नेसनल मेडिकल कलेजले अतिरिक्त शुल्क नबुझाएको भन्दै परीक्षा हलबाटै निकालिदिएको थियो।
छात्रवृत्तिमा पढेका उनीसँग नेसनल मेडिकल कलेजले पटक पटक गरेर लाखौं रकम मागेको थियो। अन्तिम वर्षको परीक्षाका समयमा कलेजले ७ लाख ५० हजार १३१ रुपैयाँ अतिरिक्त शुल्क मागेको थियो।
२०७२ सालमा रामजीले नेसनल मेडिकल कलेजमा एमबीबीएस अध्ययन सुरु गरेका थिए। त्यसपछि उनलाई विभिन्न संघसंस्था तथा व्यक्तिहरुले सहयोग गर्दै आएका छन्।