काठमाडौ– शहरको स्वच्छता, स्वस्थ्यता र वातावरणीय सुधारका लागि धूम्रपान नियन्त्रण पहिलो शर्त भएको अधिकारीहरुले बताएका छन्।
विश्व धूम्रपानरहित दिवस २०८० का अवसरमा काठमाडौ महानगरपालिकाले नेपाल अर्वुद रोग निवारण संस्था र विकास अनुसन्धान परिषदसँगको सहकार्यमा आयोजना गरेको ‘सुर्तीजन्य पदार्थ नियन्त्रण नियमन ऐन’ कार्यान्वयमा स्थानीय सरकारको भूमिका विषयक कार्यक्रममा विज्ञहरुले सो कुरा बताएका हुन्।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले चुरोटमा कर बढाएर प्रयोगमा निरुत्साहन गर्ने नीतिलाई कडाइ गर्दै लगिने बताए। ‘सुर्तीजन्य पदार्थको ७५ प्रतिशतसम्म कर लगाइएको अन्तरराष्ट्रिय अभ्यास छ। सुर्तीजन्य पदार्थको सेवनले प्रयोगकर्तालाई मात्र नभइ यसको नजिक हुनेलाई पनि समस्या पार्ने भएकोले यसलाई सानो विषय सम्झनु हुँदैन’ उनले भने।
कार्यक्रममा नेपाल अर्वुद रोग निवारण संस्थाका पूर्व अध्यक्ष इश्वर श्रेष्ठले मन्त्रालयको १ सय मिटर वरिपरि सुर्तीजन्य पदार्थको विक्री वितरण भइरहेको, सार्वजनिक स्थलहरुमा सुर्तीजन्य पदार्थको निर्वाध विक्री र प्रयोग भइरहेकोप्रति सरकारको संवेदनशीलता कम भएको बताए।
काठमाडौँ महानगरपालिकाले सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि नमूना क्षेत्र तोकेर काम गर्ने योजना बनाएको छ। कार्यक्रममा वडा ७ का अध्यक्ष बिमलकुमार होडाले भने, ‘नमूना कार्यक्रमको नतिजालाई विस्तार गरेर सबै वडामा कार्यक्रम लानेछौँ।’
नेपाल सर्जिकल अकोलोजी समाजका अध्यक्ष डा प्रकाशराज न्यौपानेकाअनुसार धूम्रपान प्रयोगकर्ताहरु प्रयोग नगर्ने व्यक्तिका तुलनामा १३ देखि २० बर्ष अगाडि नै मृत्युवरण गर्छन्। चुरोटमा ७२ किसिमका रसायन हुन्छन्। यसमा भएका रसायनले क्यान्सर बनाउँछ। यस्ता रसायनयुक्त पदार्थको प्रयोगकर्ताबाट छोडिएको धुँवा तथा फोहोरले स्वास्थ्य र वातावरणमा प्रत्यक्ष असर पारेको छ।
जसले गर्दा मानिसहरुले मृत्युवरण गरिरहेका छन्।
डा जयकुमार गुरुङका अनुसार नेपालमा करिब ५० लाख वढी व्यक्तिले धूम्रपान गर्छन्। सुर्तीजन्य पदार्थको पदार्थ नियन्त्रण नगरिए अबको २७ बर्षपछि अर्थात सन २०५० सम्ममा हरेक बर्ष करिब ५२ हजार नेपालीको सुर्तीजन्य पदार्थको प्रयोगका कारण मृत्यु हुनेछ।
उनले भने, ‘युवा पुस्ताहरुमा बढ्दै गएको हुक्काको लतले जनस्वास्थ्यमा गम्भीर संकट ल्याउँदैछ। यसको जोखिमबाट नागरिकलाई बचाउन सरकारहरुले आजबाटै काम थाल्नुपर्छ।’