भक्तपुर - काठमाडौं क्यान्सर सेन्टरले भक्तपुरका ५० बढी किसानलाई सम्मानित गरेको छ। विश्व सुर्तीजन्य वस्तुरहित दिवसको अवसरमा चाँगुनारायण नगरपालिका वडा नं. ९ ताथलीको फैढोकास्थित सेन्टरले भक्तपुरका चार वटा नगरपालिकाका ५० बढी किसानलाई सम्मानित गरेको हो।
क्यान्सरबारे अभिमुखिकरणका साथ सुर्तीजन्य उत्पादन घटाउनका लागि किसानले खेलिरहेको भूमिकाको कदर गरी गरेको सेन्टरले जनाएको छ। निकोटिनको लतबाट जोगाउन हरेक वर्ष मे ३१ का दिन विश्वभर सुर्तीजन्य पदार्थ विरुद्धको दिवस मनाउने गरिन्छ।
उनीहरुलाई चाँगुनारायण नगरपालिकाका उपनगर प्रमुख रमेश बुढाथोकी, चाँगुनारायण नगरपालिका वडा नंं ९ का वडा अध्यक्ष गणेश त्यात, सेन्टरका प्रमुख कार्यकारी निर्देशक डा अञ्जनीकुमार झा लगायतले सम्मान गरेका थिए।
उपनगर प्रमुख बुढाथोकीले चाँगुनारायण नगरपालिका पनि क्यान्सरको जोखिममा रहेको उल्लेख गर्दै क्यान्सरबाट जोगिनका लागि खानपानका साथ आनीबानीमा सुधार ल्याउनुपर्नेमा जोड दिए। कार्यक्रमका अतिथिहरुले धूँवा आउने÷नआउने सुर्तीजन्य पदार्थबाट निर्मित चुरोट, बिँडी, तमाखु, खैनी, गुट्खा वा पानपराग सुर्तीजन्य पदार्थ सेवन गर्न नहुनेमा जोड दिएका थिए।
किसानसँग क्यान्सर सम्बन्धी अन्तरक्रिया समेत भएको उक्त कार्यक्रममा क्यान्सरबाट जोगिने उपायहरुबारे छलफल भएको आयोजक सेन्टरले जनाएको छ।