काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले अर्थ मन्त्रालयका कर्मचारीका कारण सुर्तीजन्य पदार्थमा कर नबढेको बताएका छन्। विश्व सुर्तीजन्य पदार्थरहित दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले सो कुरा जनाएका हुन्।
'मैले सुरुवातदेखि नै सुर्तीजन्य पदार्थमा कर बढाउनुपर्ने कुरा राख्दै आएको थिएँ। तर बजेट भाषणमा एकदमै कम कर बढेपछि अर्थमन्त्रीसँग कुरा गर्दा उहाँले कर्मचारी साथीहरूले अहिलेलाई यति गरौँ भन्नु भएकाले सोही अनुसार आएको जानकारी दिनुभयो,' उनले भने।
उनले सम्बन्धित व्यापारी र व्यवसायीको कुरा जोडिएकाले कर नबढेको समेत बताए। कर नबढेको विषयमा आफूले क्याबिनेटमा समेत कुरा राखेको र यसलाई सच्याउन माग गरेको उनको भनाई छ। मन्त्री बस्नेतले सुर्तीजन्य पदार्थ विष जस्तै भएकाले आफू पनि नखान र अरूलाई पनि नखाने उत्प्रेरणा दिन समेत जोड दिएका छन्।
यसैगरी स्वास्थ्य प्रवर्धन तथा सुर्तीजन्य पदार्थ नियमन शाखाका स्वास्थ्य शिक्षा प्रशासक भक्त बहादुर केसीले सङ्घ, प्रदेश र स्थानीय तहमा सुर्तीजन्य पदार्थसँग सम्बन्धित कानुन र नियमको कार्यान्वयनलाई थप प्रभावकारी बनाउन आवश्यक भएको बताए। उनका अनुसार प्रत्येक स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत र प्रत्येक जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमनको निरीक्षक तोकिएको छ।
'सुर्तीजन्य पदार्थको हानिकारक असर तथा सुर्तीजन्य पदार्थ नियन्त्रण नियमन सम्बन्धी सचेतना कार्यक्रम तथा प्रवर्द्धनात्मक कार्यक्रम गर्न स्थानीय तह, प्रादेशिक तह र सङ्घीय तहमा समन्वय र पैरवी गर्दै आइएको छ । स्वास्थ्यकर्मीहरूका लागि सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धी क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिँदै आइएको छ,' उनले भने, 'सुर्तीजन्य पदार्थको रोकथाम तथा नियन्त्रणको लागि तीनै तहमा विद्यालय स्वास्थ्य शिक्षा, सरोकारवालाहरू सँग अन्तरक्रिया कार्यक्रमहरू, आमसञ्चार कार्यक्रमहरू थप व्यापक गर्दै लैजान आवश्यक छ।'
सुर्तीजन्य पदार्थको असरहरूलाई न्यूनीकरण गर्न नेपालमा सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन सम्बन्धी ऐन, कानुन, नियमावली र निर्देशिका पारित भई लागु भइसकेको अवस्थामा यी प्रावधनहरुको कडाइका साथ लागु गरी सुर्तीजन्य पदार्थबाट हुने असरलाई न्यूनीकरण गर्नुपर्ने विज्ञहरू बताउँछन्। सुर्तीजन्य पदार्थको यो साझा समस्याको सम्बोधन गर्न सङ्घ, प्रदेश र स्थानीय तह, राजनीतिक नेतृत्व,गैरसरकारी संस्था, नागरिक समाज, सञ्चार कर्मी, निजी क्षेत्र र सम्पूर्ण नागरिकको भूमिका आवश्यक भएको उनले बताए।
आज देशैभरि 'हामीलाई खाद्यान्न चाहिन्छ, सुर्तीजन्य पदार्थ होइन' भन्ने नेपाली नाराका साथ विभिन्न कार्यक्रम गरी यो दिवस मनाइँदैछ।