काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आज (बुधबार) भारतको भ्रमणमा जान लागेका छन्। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रचण्ड ४ दिने औपचारिक भ्रमणमा जान लागेका हुन्।
प्रधानमन्त्री प्रचण्ड बुधबार दिउँसो काठमाडौंबाट दिल्ली प्रस्थान गर्नेछन्। भारत भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले द्विपक्षीय हित र चासोबारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गर्नेछन्। भ्रमणमा प्रधानमन्त्री दाहालले अन्य महत्वपूर्ण विषयसँगै स्वास्थ्यका विषयमा पनि मोदीसँग छलफल गर्नेछन्।
स्वास्थ्यका विषयमध्ये पहिलो नम्बरमा तनहुँमा रहेको जिपी कोइराला श्वासप्रस्वास केन्द्रमा एक सय शय्याको अस्पताल बनाउने विषय रहेको छ।
यस्तै धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सहयोगसँगै फ्याकल्टी एक्सचेन्ज कार्यक्रमलाई निरन्तरता दिने विषयमा पनि छलफल हुने बताइएको छ।
यसैगरी, भारत र नेपालको सीमा क्षेत्रमा हेल्थ डेस्क स्थापनाको विषयमा पनि छलफल हुने छ। नेपालको सीमा क्षेत्रमा हेल्थ डेस्क सञ्चालनमा छन्। तर भारतीय क्षेत्रमा भने नभएका कारण उक्त विषय पनि छलफलका लागि राखिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।
यस्तै, विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को क्षेत्रीय निर्देशकमा डा शम्भु आचार्यलाई निर्वाचित गराउन भारतीय सहयोग जुटाउने औपचारिक प्रस्ताव पनि नेपालले राख्ने छ।
यसका साथै भारतको विभिन्न मेडिकल कलेजमा चिकित्सा शिक्षाको स्नातकोत्तर तह तथा सो भन्दा माथि अध्ययनरत नेपाली विद्यार्थी (रेजिडेन्ट डाक्टर)को निर्वाह भत्ता (स्टाइपेन्ड) का विषयमा पनि छलफल हुने छ।
भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति र उपराष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ। प्रधानमन्त्रीले नेपाली राजदूतावासमा नेपाली समुदायसँग छलफल समेत गर्नेछन्।