काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गरेको छ। बजेट सार्वजनिक भएसँगै विभिन्न क्षेत्रका सम्बन्धित व्यक्तिले विश्लेषण गर्न थालेका छन्।
सरकारले सार्वजनिक गरेको बजेटमा स्वदेशी औषधि उद्योगलाई प्रोत्साहित गर्ने, निःशुल्क रुपमा उपलब्ध हुने ९८ प्रकारका औषधि स्वदेशमै उत्पादन गर्ने जस्ता विषय उल्लेख छ। स्वदेशी उत्पादनमा सरकारले जोड दिएपछि स्वदेशी औषधि उद्योगीहरु केही उत्साहित देखिएका छन्।
नेपाल औषधि उत्पादक संघ (एपोन)का महासचिवविप्लव अधिकारीले ९८ प्रकारका औषधि स्वदेशमा उत्पादन गर्ने विषयलाई स्वागतयोग्य भएको बताएका छन्।
एपोनका महासचिव विप्लव अधिकारीसँग बजेट बारे स्वास्थ्यखबरकी कमला गुरुङले लिएको प्रतिक्रिया यस्तो छः
यस वर्षको बजेट धेरै उत्साहित आएको छैन। देश आर्थिक मन्दीमा भएकाले हामीले पनि धेरै अपेक्षा गरेका थिएनौं।
सरकारले ९८ प्रकारका स्वदेशी औषधि खरिद गर्ने नीति ल्याएको छ। त्यो स्वागतयोग्य विषय हो। तर यसको कार्यान्वयन र खरिद प्रक्रिया कस्तो र कस्तो हुन्छ भन्ने महत्वपूर्ण विषय हुन्। सरकारले स्वदेशी उत्पादन र उद्योगलाई उत्साहित हुने खालका कार्यक्रमको सुरुवात गरेको हो की भन्ने पनि लागेको छ। ९८ प्रकारको औषधिको खरिद कार्यविधि कसरी बन्छ भन्ने छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गत हुने भएकाले यो बाध्यात्मक कार्य पनि हो। तर यसको कार्यान्वयन पक्ष भने हामी स्वदेशी उद्योगीको लागि महत्वपूर्ण छ।
यो निर्णय कार्यान्यवन भए देशको पुँजी देशमै रहन्छ। उद्योगको समृद्धि भनेको देशको समृद्धि हो। सरकारले यो निर्णय कार्यान्वयन गरे हामीले देशमा औषधि उत्पादनका लागि नयाँ प्रविधि भित्र्याउन सक्छौ। स्वदेशी उद्योगको विकास पनि हुन्छ।
योसँगै सरकारले स्वास्थ्य संस्था र स्वास्थ्य बीमालाई सुदृढ बनाउने कुराहरु पनि ल्याएका छन्। स्वास्थ्य बीमालाई स्वदेशी औषधि उद्योगको उत्पादनलाई खपत गर्न सकिन्छ भन्ने छ। बीमा र स्वदेशी औषधिलाई जोड्न सके राम्रो हुन्थ्यो।