काठमाडौं– सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट आज संघीय संसद्मा प्रस्तुत गर्दैछ। जेठ १५ गते बजेट पेस गर्नुपर्ने संवैधानिक प्रावधानअनुरुप अर्थमन्त्री प्रकाशशरण महतले दिउँसो ४ बजे आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्न लागेका हुन्।
अर्थमन्त्री महतले सोमबार नै संसद्मा बजेटसँग आश्रित आर्थिक विधेयक, विनियोजन विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयक पनि पेस गर्ने कार्यसूची छ। आगामी आर्थिक वर्षका लागि अर्थमन्त्रालयले १७ खर्ब हारहारीको आकारको बजेट ल्याउने छ।
आगामी आर्थिक वर्षको बजेटमा सरकारले पूर्वाधार क्षेत्रमा प्राथमिकता दिने तथा लोकप्रिय बन्ने केही कार्यक्रमको घोषणा गर्ने छ।
दुई वर्षअघस कोभिड-१९ को खोप खरिद तथा कोभिड नियन्त्रणका कारण स्वास्थ्य मन्त्रालयले १ खर्बभन्दा बढीको बजेट पाएको थियो। तर चालु आर्थिक वर्षमा ६९ अर्ब पाएको छ। यसपटक भने स्वास्थ्यको बजेट घट्ने अनुमान गरिएको छ।
स्वास्थ्यले करिब ५० अर्ब हाराहारीमा बजेट पाउने सम्भावना रहेको बताइन्छ। आगामी आर्थिक वर्षका लागि राष्ट्रिय योजना आयोगले स्वास्थ्यलाई ४० अर्ब भित्र रहेर कार्यक्रमहरु बनाउन बजेटको सीमा तोकेका कारण ५० अर्ब हाराहारीमा बजेट आउने अनुमान गरिएको हो।
बजेटमा स्वास्थ्यका पूर्वाधार निर्माण, स्वास्थ्य बीमा, डिजिटल हेल्थ कार्यक्रम, आधारभूत र जीवनरक्षक औषधि तथा औषधिजन्य सामग्रीको उत्पादनलाई थप प्रोत्साहन गर्ने लगायतका कार्यक्रम आउने बताइएको छ।