काठमाडौं– चालु आर्थिक वर्षको ८ महिनामा ३२ हजार २४७ जना विपन्न नागरिकले विभिन्न ८ प्रकारका रोगको उपचार सेवा प्राप्त गरेका छन्।
सरकारले आइतबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षणका अनुसार आर्थिक वर्ष २०७९/८० फागुन सम्ममा ३२ हजार २४७ जनाले ८ प्रकारको कडा रोगको सेवा प्राप्त गरेका हुन्। सो सर्वेक्षणका अनुसार ८ महिनामा ८ प्रकारको कडा रोगमा सेवा लिनेमध्ये सबैभन्दा धेरै क्यान्सरका बिरामी छन्।
१७ हजार ५५६ जनाले क्यान्सरको औषधि उपचार सेवा प्राप्त गरेको सो सर्वेक्षणमा उल्लेख छ। मुटुका ४ हजार ८६६ जनाले विपन्न नागरिक उपचार सेवा मार्फत सेवा लिएका छन्।
यस्तै मिर्गौलाको उपचारमा हेमोडायलाइसिस सेवा ५ हजार ७३३ जना, परिटोनियल डायलाइसिस २७० जना, प्रत्यारोपण ३२४, औषधि उपचार ५५७ जनाले सेवा लिएको छ।
यस्तै सेरो पोजेटिभका ११६, पार्किन्सन्सका ६२, अल्जाइमरका ११, हेड इन्जुरीका ५०६, स्पाइनर इन्जुरीका ९३३ र सिकलसेल एनिमियाका १ हजार ३४६ जनाले विपन्न नागरिक औषधि उपचार सेवा लिएका छन्।
गत आर्थिक वर्षमा ३५ हजार ९६५ जनाले सेवा प्राप्त गरेका थिए।
कुन रोगमा कति सहुलियत?, कसरी पाइन्छ?
विपन्न नागरिक औषधि उपचार कोष निर्देशिका २०७५ अनुसार कडा रोग भनेर मुटुरोग, मिर्गौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी र सिकलसेल एनिमिया गरी ८ प्रकारका रोगमा सहुलियतको व्यवस्था गरिएको छ।
सरकारको सहुलियत रकम लिन विपन्न बिरामीले स्थानीय तहको वडा कार्यालयमा निवेदन दिई सिफारिस लिनुपर्छ। जसका लागि चिकित्सकको प्रिस्क्रिप्सन, नागरिकता प्रमाणपत्रको प्रतिलिपि, नाबालकको हकमा जन्मदर्ताको प्रमाणपत्रको प्रतिलिपि र निवेदन सम्बन्धित स्थानीय तहमा पेस गर्नुपर्छ।
स्थानीय तहमा गठित समितिले व्यक्ति विपन्न हो वा होइन जाँचबुझ गरी निवेदकलाई औषधि उपचार सुहलियत उपलब्ध गराउन सम्बन्धित अस्पतालमा सिफारिस गर्छ।
सरकारले जारी गरेको गरिब परिवार परिचयपत्र वाहक विपन्न बिरामी वा स्थानीय तहको सिफारिसको आधारमा बिरामीले सूचीकृत अस्पतालबाट सहुलियत रकम बराबरको सेवा निःशुल्क पाउनेछन्।
सरकारले हाल १०६ वटा अस्पतालमा कडा रोगको उपचारमा बिरामीले सहुलियत पाउने व्यवस्था गरेको छ।
केन्द्र सरकारले मिर्गौला रोगका बिरामीको हकमा मिर्गौला प्रत्यारोपणका लागि ४ लाखसम्म, अल्पकालीन रुपमा मिर्गौलाले काम नगरेको बिरामीलाई डायलाइसिसवापत एक लाखसम्म, नेफ्रोटिक सिन्ड्रोमका साथै दुवै मिर्गौला फेल भई डायलाइसिस तथा प्रत्यारोपण गर्न नमिल्ने वा नपर्ने बिरामीलाई औषधि उपचार तथा प्रयोगशालावापत एक लाखसम्म, मिर्गौला प्रत्यारोपणपश्चात् औषधि सेवनका लागि एक लाख रुपैयाँसम्मको उपचार सेवामा सहुलियत दिँदै आइरहेको छ।
यस्तै, अंगदाता र ग्रहणकर्ताको प्रयोगशाला शुल्कमा बढीमा ५० हजार रुपैयाँसम्म, हेमोडायलाइसिस बढीमा हप्ताको दुई सेसन र सोभन्दा बढी गर्नुपर्ने अवस्थामा चिकित्सकको कारण सहितको प्रिस्क्रिप्सन भएमा प्रतिसेसन २ हजार ५ सय, सेरोपोजेटिभ भएका बिरामीहरुलाई डायलाइसिस उपचार सेवा वापत प्रतिसेसन ४ हजार रुपैयाँ र पेरिटोनियल डायलाइसिस प्रतिबिरामी महिनाको अधिकतम ९० ब्याकेटसम्म निःशुल्क हुने व्यवस्था गरेको छ।
यसैगरी, मुटु रोगमा विभिन्न प्रकारका मुटु रोग जस्तैः महाधमनीको शल्यक्रिया गर्नुपर्ने बिरामी, मुटुमा पेसमेकर तथा स्टेन्ट राख्नु परेमा, एब्लेसन गर्नु परेमा, मुटुको भल्भ पूर्ण रुपमा क्षति भएको या मुटु फेल भएको उपचारका लागि एक लाख रुपैयाँ सहुलियत प्रदान गर्दै आएको छ।
क्यान्सरका बिरामीलाई विभिन्न प्रकारका क्यान्सर रोग, ती सम्बन्धी शल्यक्रिया, थप निदानात्मक सेवा, किमोथेरापी, रेडियोथेरापी, औषधि, औषधिजन्य सामग्री, शय्या तथा सेवा शुल्कहरुमा एक लाख रुपैयाँसम्मको सहुलियत प्रदान गर्दै आएको छ।
यस्तै पार्किन्सन्स, अल्जाइमर रोगमा प्रयोग हुने थप निदानात्मक सेवा, औषधि, औषधिजन्य सामग्री, शय्या र सेवा शुल्कहरुमा एक–एक लाख रुपैयाँको दरले प्रदान गरिन्छ।
यसका साथै, स्पाइनल इन्जुरी बिरामीले दुर्घटनाजन्य र चोटपटकजन्य बिरामीहरुलाई शल्यक्रिया, औषधि तथा औषधिजन्य सामग्रीहरु, थप निदानात्मक सेवा, शय्या सेवा शुल्कमा एक लाख र स्पाइनल इन्जुरी भई प्यारालाइसिस भएका बिरामीले पुनर्थापना सेवाका लागि थप एक लाख रुपैयाँ प्राप्त गर्छन्।
यस्तै सरकारले हेड इन्जुरीका बिरामीले दुर्घटनाजन्य र चोटपटकजन्य बिरामीहरुलाई शल्यक्रिया, औषधि तथा औषधिजन्य सामग्रीहरु, थप निदानात्मक सेवा, शय्या सेवा शल्य तथा पुनर्स्थापना सेवाका लागि एक लाख रुपैयाँ प्रदान गर्दै आएको छ।
सरकारले ८ प्रकारका कडा रोगको उपचारमा सिकलसेल एनिमियालाई पनि राखेको छ। सिकलसेल एनिमिया रोग लागेका बिरामीहरुलाई शल्यक्रिया, औषधि तथा औषधिजन्य सामग्री, थप निदानात्मक सेवा र शय्या सेवाशुल्कमा एक लाख रुपैयाँसम्मको सहुलियत प्रदान गर्दै गएको छ।