काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले थोरै समयमा धेरै नतिजा निकाल्ने गरी जलनको उपचार र रोकथाममा लाग्न ६ वटा अस्पताललाई निर्देशन दिएका छन्। नेपालमा जलन उपचार व्यवस्थापनमा संलग्न काठमाडौं उपत्यकाका ६ वटा अस्पतालका प्रमुखलाई मन्त्री बस्नेतले उक्त निर्देशन दिएका हुन्।
जलन उपचार र जटिलता व्यवस्थापनको वर्तमान अवस्था बारे बुझ्न आज मन्त्री बस्नेतले ६ वटा अस्पतालका प्रमुख र विज्ञहरुसँग छलफल गरेका छन्। छलफलमा मन्त्री बस्नेतले विज्ञहरुबाट प्राप्त सुझाव कार्यन्वयनमा नेतृत्वदायी र सकारात्मक भूमिका खेल्ने समेत बताए।
मन्त्रालयका सचिव डा रोशन पोखरेल सहित मन्त्रालय अन्तर्गत महासाखाका अधिकारी पनि छलफलमा सहभागी थिए। छलफलमा जलन उपचार व्यवस्थापनमा संलग्न वीर अस्पताल, पाटन अस्पताल, कान्ति बाल अस्पताल, त्रिवि शिक्षण अस्पताल, कीर्तिपुर बर्न अस्पताल र सुष्मा कोइराला मेमोरियल अस्पतालका प्रमुख र विज्ञहरुले जलन उपचारको वर्तमान अस्वस्था, चुनौती र अबको बाटो सन्दर्भमा छलफल गरेका थिए।
मन्त्रालयका सचिव डा पोखरेलले उपत्यकाका ६ वटै जलनको उपचार हुने अस्पतालहरुलाई समन्वयात्मक रुपमा सेवा प्रवाहको व्यवस्था गर्ने गरी सम्पर्क व्यक्ति तोक्ने, ती अस्पतालहरुले उपत्यका बाहिरका संघीय र प्रादेशिक अस्पतालहरुलाई उपचारमा सहजिकरण गर्ने गरी अस्पताल तोक्ने बताए। ती अस्पतालहरुको नेटवर्किङ गरी तोकिएका अस्पतालबाट जलनको उपचार एवं विशेषज्ञ जनशक्ति व्यवस्थापनमा सहजीकरण गर्ने गरी टेलिमेडिसिन सेवा मार्फत एकीकृत जलन उपचार व्यवस्थापन गर्न सबै मिलेर काम गर्नुपर्ने बताए।