काठमाडौं– स्वास्थ्य क्षेत्रमा उत्पादनको दृष्टिले नेपालमा प्रति १ हजार जनसंख्यामा १ दशमलव १५ चिकित्सक र २ दशमलव ५४ नर्स रहेको सरकारले जनाएको छ। सरकारले आइतबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षणमा यस्तो बताइएको छ।
विश्व स्वास्थ्य संगठनका अनुसार प्रति हजार जनसंख्यामा १ चिकित्सक हुनुपर्ने न्यूनतम मापदण्ड रहेको छ। तर सरकारले भने आर्थिक सर्वेक्षणमा उत्पादनको अवस्थालाई मात्र उल्लेख गरेर प्रति एक हजार जनसंख्यामा १ दशमलव १५ चिकित्सक रहेको उल्लेख गरेको पाइएको छ।
सो सर्वेक्षणमा उत्पादित जनशक्ति देशमै खपत नभएको, जनशक्तिको समान वितरण हुन नसकेको, सीप मिश्रित दक्ष जनशक्तिको उत्पादन भने न्यून रहेकाले चुनौती रहेको जनाइएको छ।
सो सर्वेक्षणमा भनिएको छ, ‘यद्यपि, उत्पादित स्वास्थ्य जनशक्ति देशमै खपत नहुनु, उत्पादित जनशक्तिको समान वितरण हुन नसक्नु र सीप मिश्रित दक्ष जनशक्रिको उत्पादन न्यून हुनु चुनौतीको रुपमा रहेको छ।’
सरकारले उत्पादनको आधारमा डाक्टरको संख्या धेरै देखाएपनि सरकारी दरबन्दीमा भने निकै कम डाक्टर रहेका छन्। सरकारी दरबन्दीका आधारमा हेर्दा नेपालमा प्रति एक हजार जनसंख्यामा ०.०६२ मात्र चिकित्सक रहेका छन्।