काठमाडौं– आर्थिक वर्ष २०७९/८० को कुल ग्राहस्थ्य उत्पादनमा स्वास्थ्य तथा सामाजिक क्षेत्रको योगदान १ दशमलव ९२ प्रतिशतले वृद्धि हुने अनुमान रहेको छ। अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०७९/८० को आर्थिक सर्वेक्षण संसदमा प्रस्तुत गर्दै यस्तो बताएका हुन्।
आर्थिक वर्ष २०७८/७९ को तुलनामा चालु आर्थिक वर्षमा कुल ग्राहस्थ्य उत्पादनमा शून्य दशमलव १३ प्रतिशत विन्दुको सामान्य वृद्धि हुने अनुमार रहेको छ।
गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा कुल मूल्य अभिवृद्धि ६ दशमलव ५१ प्रतिशतले वृद्धि हुने अनुमान रहेको छ।
यस्तै, नेपालीहरुको औसत आयु, मातृ मृत्युदर, पाँच वर्ष मुनिका बाल मृत्युदर, नवजात शिशु मृत्युदर घटेको सर्वेक्षणमा उल्लेख छ।
आर्थिक सर्वेक्षण २०७९/८० मा उल्लेख भए अनुसार स्वास्थ्य क्षेत्रमा बढ्दै गएको सार्वजनिक तथा निजी लगानी र स्वास्थ्य सम्बन्धी नागरिक चेतनामा वृद्धि हुँदै गएसँगै स्वास्थ्य सूचकमा उल्लेख्य सुधार हुँदै गएको छ।
बाल मृत्यूदर र मातृ मृत्यूदर घट्दै गएको र दक्ष प्रसूतिकर्मीबाट प्रसूति गराउने गर्भवतीको संख्या बढ्दै गएको र औसत आयू बढ्दै गएको सो सर्वेक्षणमा उल्लेख छ।
यस्तै पछिल्ला वर्षमा कुल प्रजनन् दर घटेको कारण जनसंख्या वृद्धिदर समेत घट्दै गएको सर्वेक्षणमा उल्लेख छ।
नेपालको कुल प्रजनन् दर २ दशमलव १ प्रतिशत रहेको छ।
सो सर्वेक्षणमा कोभिड महामारीको स्थिति, स्वास्थ्य सेवा तथा जनशक्ति विस्तार, राष्ट्रिय खोप अभियान, विपन्न नागरिक औषधि उपचार लगायतको अवस्थाबारे जानकारी दिइएको छ।
यस्तै, परिवार नियोजनाका अस्थायी साधनको प्रयोगको अवस्था, स्वास्थ्य संस्थाबाट सेवा लिएका क्षयरोगका बिरामीको संख्या, औलो रोग, हात्तीपाइले रोग, एचआईभी संक्रमणको अवस्था, डेंगु संक्रमण, मिर्गौला प्रत्यारोपणको अवस्था मुटुको भल्भको निशुल्क शल्यक्रिया तथा मुटुको शल्यक्रिया, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट भएको रोगको परीक्षण तथा निदानात्मक सेवा प्राप्त गर्नेको संख्या उल्लेख गरिएको छ।