काठमाडौं- गर्भवतीको मृत्युपछि सिन्धुली अस्पतालविरुद्ध आन्दोलनमा उत्रेका आफन्तहरुले आन्दोलनका कार्यक्रम फिर्ता लिएका छन्। अस्पताल प्रशासन, सरोकारवाला र पीडितपक्षबीच तीन बुँदे सहमति भएपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएका हुन्।
मृतकका आफन्तले विरोधका कार्यक्रम फिर्ता लिएसँगै अस्पतालमा सेवा सुरु भएको छ। सहमति अनुसार घटनाका विषयमा छानबिन गर्न चार सदस्यीय समिति गठन हुने छ। समिति गठन गर्न प्रदेश स्वास्थ्य मन्त्रालयलाई अनुरोध गरिने सहमति पत्रमा उल्लेख छ।
समितिमा मन्त्रालबाट तोकिएका चिकित्सक २ जना, जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधि १ र पीडित पक्षबाट १ जना रहनेछन्।
यस्तै, अस्पताल व्यवस्थापनबाट अस्पतालका आन्तरिक सुधार तथा सम्बद्ध स्वास्थ्यकर्मीहरुको व्यवहारगत पक्षमा सुधार गर्ने विषयमा पनि सहमति भएको छ।
सहमति पत्रमा पीडित पक्षबाट मृतकका जेठाजु सोमबहादुर श्रेष्ठ र काका तुल बहादुर गुरुङले हस्ताक्षर गरेका छन् । अस्पतालका तर्फबाट अध्यक्ष सतिश ढकाल र निमित्त मेडिकल सुपरिन्डेटेन्ट उमेश प्रधानले हस्ताक्षर गरेका छन्।
मृतकका आफन्तले आन्दोलन गरेपछि अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले आफूहरू असुरक्षित भएको भन्दै बहिरंग, इमर्जेन्सीलगायत सेवा बन्द गरेका थिए।
कमलामाई नगरपालिका-५ की गंगा गुरूङको मंगलबार मृत्यु भएको थियो। गुरुङलाई अस्पतालमा १० बजेतिर ल्याइएको थियो। उनको अवस्था सुधार नभएपछि थप उपचारका लागि बर्दिबास लगिएको थियो। बर्दिबास लैजाने क्रममा गुरुङको मृत्यु भएको आफन्तले जानकारी दिएका छन्।
आफन्तले गुरुङलाई बेहोस बनाउने गलत औषधि दिएका कारण मृत्यु भएको आरोप लगाएका छन्।