सिन्धुली- सिन्धुली अस्पतालमा उपचारका क्रममा गर्भवतीको मृत्यु भएको छ। गर्भवतीको मृत्युपछि अस्पतालमा आफन्त र स्थानीय विरोधमा उत्रेका छन्।
अस्पतालमा उपचारका क्रममा कमलामाई नगरपालिका-५ की २९ वर्षीया गंगा गुरुङको मंगलबार मृत्यु भएको हो। उनको मृत्युपछि आफन्तले अस्पतालमा उपचारका क्रममा लापरबाही भएको आरोप लगाउँदै विरोध गरेका छन्।
आफन्तले गर्भवतीलाई चिकित्सकले बेहोस बनाउने गलत औषधि दिएका कारण मृत्यु भएको आरोप लगाएका छन्। आफन्तले विरोध जनाएपछि अस्पताल क्षेत्रमा तनावको अवस्था सिर्जना भएको प्रहरीले जानकारी दिएको छ।
विरोधमा उत्रेका स्थानीयले अस्पताल तोडफोड गरेका छन्।
प्रहरीका अनुसार आफन्त र स्थानीयले अस्पताल परिसर र बीपी राजमार्गमा समेत प्रदर्शन गर्दा राजमार्गमा सवारी आवागमनमा समेत असर परेको छ।