काठमाडौं- नर्सहरुको पेशागत सुरक्षा लगायतका माग राख्दै मंगलबार विभिन्न अस्पतालमा कार्यरत नर्सहरुले माइतीघरमा धर्ना दिएका छन्। अस्पतालहरुमा कामको सुनिश्चितता र कार्यभार कम गर्नुपर्ने उनीहरुको प्रमुख माग रहेको छ।
नर्सहरु सोमबारदेखि धर्नामा उत्रेका हुन्। सोमबार पनि माइतीघरमा उनीहरुले प्लेकार्डसहित धर्ना दिएका थिए। मंगलबार बिहान धर्ना दिन माइतीघरमा पुगेका नर्सहरुले नर्सहरुको सुरक्षाको माग राख्दै नारा पनि लगाएका थिए।
धर्नामा सहभागी नर्स दीपा गिरीले सरकारले नर्सहरुको कार्यभार कम गरी कामको निश्चित सीमा कायम गर्नु पर्ने प्रमुख माग रहेको बताइन्। उनले न्यून तलबमा क्षमता भन्दा बढी बिरामीको हेरचाह गरेपनि कामको मूल्याङ्कन हुन छोडेको जानकारी दिइन्।
पछिल्लो समय नर्सहरु सुरक्षित रुपमा काम गर्ने वातावरण नभएको भन्दै सामाजिक सञ्जालमा नर्सहरुमाथि हुने टिकाटिप्पणी रोकिनुपर्ने विषयमा पनि उनले जोड दिइन्।
नर्स पेशालाई राज्यले अमर्यादित बनाउनबाट रोक्नुपर्ने भन्दै उनले अस्पतालमा एक जना नर्सले बिमारी हर्ने चाप कम गर्नुपर्ने बताइन्।
धर्नामा बस्ने नर्सहरुले कार्य क्षेत्रमा सुरक्षाको प्रत्याभुति गराइयोस्, गल्ती देख्नेहरुले हाम्रो राम्रो काम पनि देखोस्, मिडियामा भाइरल हुन नर्स पेशामाथि दाग लाग्ने कुरा गर्न पाइँदैन, व्यक्ति गलत होला तर नर्सिङ पेशा गलत छैन भन्ने जस्ता नारा लेखिएको प्लेकार्ड बोकेका थिए।
वैशाख २८ गते बिपी मेमोरियल क्यान्सर अस्पतालको आकस्मिक केयर युनिटमा भएको बिरामी र नर्स बीचको भिडियो बाहिर कुराकानीमा नर्सहरुको अपमान गरिएको भन्दै नर्सहरु आन्दोलनमा उत्रेका हुन्।
आफूलाई सामाजिक अभियन्ता भन्ने व्यक्तिले नर्स र कुरुवाको संवादलाई अनुमति बिना वार्ड भित्रै गएर भिडियो खिचि सामाजिक सञ्जाल टिकटकमा अपलोड गरेको घटनाले नर्सिङ पेशाप्रति र अस्पतालको विश्वसनीयतामा आँच आउने नर्सहरुको भनाई छ। पटक पटक भिडियो इडिट गरी नर्सिङ पेशालाई नै आघात पुग्ने गरी सामाजिक सञ्जालमा व्यापक रुपमा प्रसार भएको घटनाप्रति नर्सिङदेखि अन्य संघहरुले ध्यानाकर्षण गरेका छन्।
उक्त घटनाले नर्सिङ पक्षलाई मानसिक असर गरेको हुनाले भिडियो बनाउने ती व्यक्ति बारे आवश्यक छानबिन गरी कानुनी दायरामा ल्याउन उनीहरुले माग गरेका छन्।
भिडियो