काठमाडौं- काठमाडौं उपत्यकाको कान्छो अस्पतालको रुपमा चिनिन्छ, निजामती कर्मचारी अस्पताल (सिभिल) लाई। २०६५ साल जेठ १६ गते यो अस्पतालको स्थापना गरिएको थियो।
निजामती कर्मचारी र उनीहरुको परिवारलाई विशिष्टकृत सेवा दिने उद्देश्यका साथ यो स्थापना भएको हो। बिरामीहरुको स्वास्थ्य उपचारमा केन्द्रित रहेको यो अस्पताललाई अब शिक्षण अस्पतालको रुपमा पनि विकास गर्ने सरकारको नीति छ।
राष्ट्रपति रामचन्द्र पौडेलले जेठ ५ गते सार्वजनिक गरेको नीति तथा कार्यक्रममा निजामती अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्ने विषय उल्लेख छ।
नीति तथा कार्यक्रममा भनिएको छ, ‘निजामती अस्पताल र सबै संघीय अस्पतालहरुलाई शिक्षण अस्पतालको रुपमा विकास गरिनेछ।’
सरकारले सिभिल अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्ने नीति लिइरहँदा यसको संभाव्यता र समस्याका विषय पनि महत्वपूर्ण हुन्छन्।
सिभिल अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्नु अस्पतालको उद्देश्यमध्ये प्रमुख हो। सिभिल अस्पताललाई शिक्षण अस्पतालको रुपमा विकास गर्ने प्रक्रिया सुरु भइसकेको स्पतालका कार्यकारी निर्देशक डा विद्याननिधि पौडेल बताउँछन्।
शैक्षिक कार्यक्रम सञ्चालनका लागि सिभिल अस्पतालले विभिन्न विषयमा अनुमति समेत पाइसकेको छ। ती हुन्, बीएन, एमडीएमएस र डीएम।
डा पौडेलका अनुसार सिभिल अस्पतालमा यस वर्षदेखि नर्सिङ क्याम्पस पनि सुरु हुन लागेको छ। यसका लागि बी.एन नर्सिङका २० जना विद्यार्थीहरु पाएको डा पौडेलले बताए।
उनले भने, ‘दुई/तीन महिनाका लागि न्याम्सबाट केही विद्यार्थीहरु आउनु हुन्थ्यो। अनि जानु हुन्थ्यो। रोटेसन मात्र हुन्थ्यो। अब यही पढ्ने गरी एमडीएमएसका तीन जना, डीएमका दुई जना विद्यार्थी हेमाटोलोजीमा यही पढिहरेको छ। हामी शिक्षण अस्पताल भएका छैनौ। शिक्षण अस्पताल हुने प्रयासमा छौँ।’
शिक्षण अस्पतालको रुपमा विकास गर्ने सरकारको नीति भएपनि सिभिल अस्पताललाई हाल जग्गाको अभाव मुख्य समस्याको रुपमा देखिएको छ। शिक्षण अस्पतालको रुपमा विकास गर्न जग्गाको अभाव हुने भएकाले सरकारसँग माग गरिएको उनले बताए।
‘यो अस्पताल शिक्षण अस्पतालको रुपमा विकास हुने भएपछि यो जग्गाले मात्र पुग्दैन। हामीलाई अर्को जग्गा खोज्नुपर्ने छ। हामीले अस्पताल नजिकै कतै जग्गा उपलब्ध गराउन सरकारसँग माग गरेका छौँ’ उनले भने।
हाल प्रशासनिक भवन रहेको ठाउँमा दुई तलाको अण्डर ग्राउण्ड र नौ तलको गरी ११ तलाको भवन बनाउन डिपिआर गरिएको उनले बताए।
११ तलाको भवन हुँदा थप साढे तीन सय शय्या थपिने भएकाले शैक्षिक कार्यक्रम सञ्चालन गर्न सकिने उनले बताए। शैक्षिक कार्यक्रम सञ्चालन भए सेवा थप परिष्कृत हुने उनले बताए। वीर, त्रिवि शिक्षण र सिभिल अस्पताललाई काठमाडौंको जनसंख्यालाई धान्न सकिने किसिमको विकास हुनुपर्ने उनको बुझाई छ।
हाल यो अस्पतालमा दैनिक आठ सयदेखि १५ सयसम्म बिरामी उपचारका लागि आउँछन्। सिभिलमा हाल १३६ शय्या सञ्चालित छ। एक महिनामा तीन सय शय्या सञ्चालनमा ल्याउने अस्पतालको तयारी छ।
कुल पाँच सय जना कर्मचारी रहेको अस्पतालमा ४० जना मात्र स्थायी कर्मचारी छन्। रेडियोथेरापी सेवा ३/४ महिनामा र डायलाइसिस सेवा छिट्टै सुरु गर्ने अस्पतालको योजना छ।