काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको स्वास्थ्य नीति जनताप्रति उत्तरदायी नभएको भन्दै त्यसको आलोचना गरेका छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा निरोगी नेपालको विषय नपरेको भन्दै आलोचना गरेका हुन्।
'सरकारको प्राथमिकतामा निरोगी नेपाल अट्न सकेन। निरोगी नेपालको एउटा खास अर्थ थियो। बिमारी हुनै नदिने। पहिलेदेखिनै, बच्चादेखि गर्भैमा हुँदादेखि कसरी शिशुलाई निरोगी बनाउने? उसको शारीरिक र मानसिक विकास हुर्किँदै जाने क्रममा कसरी गर्ने? त्यसपछि नागरिकलाई स्वस्थ कसरी राख्ने? उसका जीवनका सम्पूर्ण पक्षहरु स्वस्थताका साथ चलुन र बिमारी भइहालेमा उपचार पाओस्। त्यस नीतिले समेटिएका यी महत्वपूर्ण कुरा हुन्। तर सरकारको नीति हेर्दा साँच्चै जनताप्रति उत्तरदायी नीति जस्तो लाग्दैन,' ओलीले संसदमा भनेका छन्।
उनले सरकारको नीति तथा कार्यक्रममा स्वास्थ्यका धेरै विषय नअटेको भन्दै सरकारले जनस्वास्थ्यप्रति गम्भीर आघात गरेको आरोप पनि लगाए।
नीति तथा कार्यक्रममा आयुर्वेदको अलिकति चर्चा गरिएको र योगका विषयमा एउटा शब्द परेको तर अन्य चिकित्सा पद्धतिका विषयमा नपरेको भन्दै जनताको स्वास्थ्यप्रति सरकार गैरजिम्मेवार बनेको बताए।