काठमाडौं- सरकारले सिंहदरबार वैद्यखाना र जडीबुटी प्रशोधन केन्द्रको पुनःसंरचना गर्ने नीति लिएको छ। शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा उक्त विषय उल्लेख छ।
नेपालमा आयुर्वेदिक औषधिको उत्पादन र उपलब्धता वृद्धि गर्न उक्त नीति ल्याइएको नीति तथा कार्यक्रममा उल्लेख छ। 'सिंहदरबार वैद्यखाना र जडीबुटी प्रशोधन केन्द्रको पुनःसंरचना गरी आयुर्वेदिक औषधीको उत्पादन र उपलब्धता वृद्धि गरिनेछ,' नीति तथा कार्यक्रममा भनिएको छ।
वैद्यखाना आयुर्वेद औषधि उत्पादन गर्ने पुरानो सरकारी निकाय हो भने जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेड सरकारी स्वामित्तव भएको कम्पनी हो।
राजा प्रताप मल्लको पालामा आयुर्वेदिक औषधि उत्पादन गर्ने वैद्यखानाको रुपमा यसको स्थापना भएको थियो। २०५२ सालबाट सिंहदरबार वैद्यखाना विकास समितिको रुपमा यो सञ्चालित छ।
जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी विसं २०३८ मा स्थापना भएको हो। स्थापनाकालदेखि लामो समयसम्म घाटामा चलेको यो कम्पनी विगत तीन वर्षदेखि भने नाफामा चलिरहेको छ।
नेपालमा दुई हजार प्रकारका औषधिजन्य तथा सुगन्धित वनस्पति पाइन्छन्। वनस्पति विभागले हालसम्म ८१९ प्रकारका वनस्पति प्रमाणित गरेको छ। हाल ३०० वनस्पति व्यापारिकरूपमा प्रयोग भइरहेको छ। यसमध्ये कम्पनीले १३ प्रकारका सुगन्धित तेलजन्य जडीबुटीको कारोबार गरिरहेको छ।
विश्व बजारमा सुगन्धित तेलको माग वार्षिक १७.२ अर्ब अमेरिकी डलर बराबरको रहेको छ। सन् २०२७ सम्म वार्षिक ७.५ प्रतिशतका दरले वृद्धि हुने अनुमान गरिएको छ। नेपालले सन् २०१५ मा ५० लाख डलर बराबरको सुगन्धित तेल निर्यात गरेको थियो। यो विश्व बजारको मागको ०.०२ प्रतिशतमात्र हो।
सिंहदरबार वैद्यखाना विकास समिति करिब चौध रोपनी जग्गामा अवस्थित छ। हरेक वर्ष ५ करोडको औषधि बिक्रि गर्ने समितिको लक्ष्य हो। तर पछिल्लो पाँच वर्षको तथ्यांक नियाल्ने हो भने वर्षेनी घट्दो छ। लक्ष्य अनुसारको उत्पादन बिक्रि गर्न सकेको छैन।
हेरौँ कुन वर्षमा कति औषधि बिक्रि भएः
आर्थिक वर्ष २०७३/७४ मा ३ करोड ४३ लाख
आर्थिक वर्ष २०७४/७५ मा ५ करोड ३४ लाख
आर्थिक वर्ष २०७५/७६ मा २ करोड ४८ लाख
आर्थिक वर्ष २०७६/७७ मा २ करोड १७ लाख
आर्थिक वर्ष २०७७/७८ मा २ करोड ६८ लाख
आर्थिक वर्ष २०७४/७५ बाहेक अन्य वर्षहरुमा लक्ष्य अनुसारको उत्पादन बिक्रि हुन नसकेको तथ्यांकले स्पष्ट पारेको छ। उत्पादनको बिक्रि बढ्नुको साटो वर्षेनी घट्दो छ।
वैद्यखानाबाट विगतमा १७० प्रकारका औषधि उत्पादन भइरहेकोमा हाल २६ प्रकारका औषधिहरु मात्र उत्पादन भइरहेका छन्।
वैद्यखानाबाट अहिले अविपत्तिकर चूर्ण, अश्वगन्धा चूर्ण, गुडुचि चिया (क्वाथ), तुलसी चिया, त्रिफला चूर्ण, आमलकी चूर्ण, जेष्ठवासादी चूर्ण, निम्बादि चूर्ण, विल्वादि चूर्ण, यष्ठीमधु चूर्ण, पिडादर मलहम, कस्तुरादी वटि, टंकणभष्म, चन्द्रप्रभावटि, शंख भष्म, ताम्र भष्म, नाग भष्म, स्र्वण भष्म, प्रवाल भष्म, मोति भष्म, योगराज गुग्गालु, कासान्तक वटी, च्यवनप्राश अवलेह, सुगर फ्रि च्यवनप्राश अवलेह र मिमिया र शु. शिलाजित नामका औषधिहरु मात्र उत्पादन भइरहेको छ। यी औषधिहरु ग्याष्ट्रिक, दुखाई कम गर्ने, रोग प्रतिरोधात्मक क्षमता बढाउने, दीर्घ रोगीहरुले खाने औषधि लगायत हुन्।