काठमाडौं- सुर्तीजन्य पदार्थ नियन्त्रण सम्बन्धी कानुन कार्यान्वयनमा कमजोरी भइरहेको भन्दै सरोकारवालाले प्रभावकारी कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयले अग्रसरता लिनुपर्ने बताएका छन्।
एक्सन नेपाल, द युनियन, एशिया प्यासेफिक सिटिज अलायन्स फर द हेल्थ एन्ड डेभलपमेन्ट (एपिक्याट) र स्वास्थ्य पत्रकार मञ्चले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा कानुनको कार्यान्वयनमा स्वास्थ्य मन्त्रालयले नै चासो नदिएको विषय उठेको हो।
कार्यक्रममा विज्ञ तथा सरोकारवाला संस्थाका प्रतिनिधिहरु नसर्ने रोगको प्रमुख कारक सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न बनाइएको कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्नेमा जोड दिए।
स्वास्थ सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले कानुनको प्रभावकारी कार्यान्वयनका लागि विभाग सक्रिय भएर आगडि बढ्ने जानकारी दिए। 'सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्ने कुराहरूमा हामी आफूले गर्न सक्ने सबै कुरा गर्नेछौँ। यस विषयमा स्वास्थ मन्त्रालयसँग हामीले गर्न सक्ने पक्षहरूमा छलफल गरिहाल्नेछौँ। सुर्तीजन्य पदार्थको नियन्त्रण गर्ने कार्यक्रममा हामी निरन्तर साथ दिनेछौँ। सक्रिय रुपमा अगाडि बढ्ने छौं,' उनले भने।
उनले टोवाको फ्रि पालिका मात्रै नभई अब टोवाको फ्रि हाउस बनाउनु पर्ने भन्दै मधेश प्रदेशबाट त्यसको सुरुवात भएको समेत जानकारी दिए।
कार्यक्रममा क्यान्सर रोग विशेषज्ञ डा अरूण शाहीले नेपालमा सुर्तीजन्य पदार्थको सेवनले नेपालमा प्रत्येक दिन करिब ७५ जनाको मृत्यु हुने भन्दै यसको रोकथाममा सरकारले आवश्यक कदम चाल्नुपर्ने बताए। डा शाही भन्छन्, '८० प्रतिशत फोक्सोको क्यान्सर सुर्तीजन्य पदार्थको सेवनले हुन्छ। नेेपालमा सबैभन्दा धेरै मानिसको मृत्यु दमले हुन्छ। दम पनि सुर्तीजन्य पदार्थको सेवनले नै हुन्छ। प्रत्येक दिन करिब ७५ जना र बार्षिक करिब अठ्ठाइस हजार मानिसहरूको सुर्तीजन्य पदार्थको सेवनले मृत्यु हुन्छ।'
स्वास्थ्य मन्त्रालयकी अतिरिक्त स्वास्थ सचिव संगिता मिश्रले सार्वजनिक स्थलमा सुर्तिजन्य पदार्थ प्रयोग गर्ने घटे पनि निजी सवारी साधनमा यसको प्रयोग घटाउन चुकिरहेको बताइन्।
द युनियनका क्षेत्रीय निर्देशक डा तारासिंह बमले नेपालको सुर्तीजन्य पदार्थ नियन्त्रण सम्बन्धी कानुन राम्रो भए पनि कार्यान्वयन पक्ष भने सही दिशा तर्फ नगएको बताए। उनले कानुन कार्यान्वयको विषय सही दिशामा जाने हो भने धेरै उपलब्ध सहजै हासिल हुने जानकारी दिए।
‘संसारकै सबैभन्दा राम्रो र शक्तिशाली कानुन बनायौँ तर कार्यान्वयन पक्ष सबैभन्दा कमजोर भयो। नेपालको टोवाको कन्ट्रोल प्रोग्राम राइट ट्रयाकमा छैन्,' उनले भने।
उनले ९० प्रतिशत चेतावनीमुलक चित्र नछापिएको, सुर्ती उद्योगको स्पोन्सरसीप नहटेको, सार्वजनिक स्थलमा धूमपान गर्न नपाइने व्यवस्था पूर्ण कार्यान्वयन नभएको, खिल्ली चुरोट बेचबिखन कायमै रहेको लगायतका कानुन विपरितका कार्यहरु भइ नै रहेको बताए। डा बमले सुर्ती उद्योगीहरुले सरकारले ल्याउने कानुनलाई मुद्धा हालेर अलमल गराउन सक्ने संसारकै प्राक्टिस हो भन्दै बलियो सरकारले त्यो कुरालाई वेवास्ता गरेर कानुन कार्यान्वयनमा अघि बढाउनु पर्ने बताए।
‘नेपालमा ९० प्रतिशत चित्र छाप्ने व्यवस्था विरुद्ध परेको रिटको ८ बर्ष पछि फैसला आएको भन्दै त्यसको तत्काल कार्यान्वयन गर्न आग्रह गरे।
उक्त कार्यक्रममा विश्व स्वास्थ संघठनको तर्फबाट बोल्दै डा लोनिम दीक्षितले नेपालमा ७१ प्रतिशत मृत्यु नसर्ने रोगको कारण भएको बताइन्। `नेपालमा ७१ प्रतिशत मानिसको मृत्यु नसर्ने रोगहरूको कारणले हुन्छ। त्यसमा पनि मुख्य कारण सुर्तीजन्य पदार्थ प्रयोगको कारणले हुन्छ। त्यसकारण अब हरेक नीति निर्माणका कार्यक्रमहरू नसर्ने रोगमा केन्द्रितद हुनुपर्छ,' उनले भनिन्।
यस्तै स्वास्थ्य सेवा विभाग इपिडिमियालोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले नसर्ने रोगको प्रमुख कारक सुर्तीजन्य पदार्थको रोक्नका लागि बनेका कानुनको कार्यान्वयन गर्नु आवश्यक रहेको बताए। उनले नसर्ने रोग सम्बन्धी बहुक्षेत्रीय कार्यायोजनामार्फत विभिन्न पक्षसंग छलफल गरी सुर्ती जन्य पदार्थ नियन्त्रण सम्वन्धी कामलाई समेत अघि बढाउन लागेको बताए।
त्यस्तै कार्यक्रम एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले सुर्तीजन्य पदार्थको प्रयोग कम गर्न कर बढाउनु पर्ने र आफुहरूले त्यसमा सरकारलाई दबाब दिने बताए।
कार्यक्रममा उपस्थित सबै सरोकारवालाहरूले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, नियमवालीहरू कार्यन्वयन गर्न सम्बन्धित निकायलाई दबाब दिने बताए।