पाटन अस्पतालको ठीक अघिल्तिरको सञ्चय कोष भवनको छेटौं तल्लामा रेस्टुरेन्ट छ । हामी लिफ्टबाट रेस्टुरेन्टको रिसेप्सनतर्फ बढ्दै गर्दा त्यहाँ मधुरो स्वरमा गीत बजिरहेको थियो- एउटा मान्छेको मायाले कति फरक पार्दछ जिन्दगीमा !
रेस्टुरेन्टको माहोल संगीतमय बनाउन सूचीबद्ध गीतबाट त्यो गीत बज्ने समय त्यही परेको हुँदो हो। नारायण गोपालका कालजयी गीतमध्ये एउटा यसमा ध्यान जानुपर्ने खास-उस्तो कारण थिएन त्यतिबेला । त्यसैले सहकर्मी रोमिका न्यौपाने र म द म्याक्स फाउन्डेसनकी को-फाउन्डर तथा सीईओ प्याट गर्सिया-गोन्जालेज खोज्न माथिल्लो तलामा उक्लियौं ।
त्यहाँ पाटन अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा अरुण शाही भेटिए। प्याट बाटोमै रहिछन् । १० मिनेट जतिमा प्याट आफ्नो टिमसहित त्यहाँ आइपुगिन् । निरन्तर सक्रियताको थकान तपसिलमा राखेर अनुहारमा आभा बोकेकी उनले अपरिचित बीचको माहोल एकछिनमै मित्रवत बनाइन्।
नेपालसहित ८३ देशका गरिब क्यान्सरका बिरामीलाई नि:शुल्क औषधि दिँदै आएको छ द म्याक्स फाउन्डेसन । नेपालमा १३ प्रकारका क्यान्सरका औषधि प्रदान गरिरहेको फाउन्डेसनले पाटन, बिपी क्यान्सर अस्पताल चितवन र शुशील कोइराला प्रखर क्यान्सर अस्पताल नेपालगञ्जबाट नि:शुल्क प्रदान गर्दै आएको छ । फाउन्डेसन स्थापनाको २२ वर्षपछि दिवंगत छोरा (सौतेनी)को जन्मदिनको अवसर पारेर उनी नेपाल आइपुगेकी छिन् । दक्षिण अमेरिकी देश अर्जेन्टिनामा जन्मेकी उनी अहिले अमेरिका बस्छिन्। जहाँबाट उनले आफ्नो दिवंगत छोराको नाममा स्थापना गरेको फाउन्डेसन चलाइरहेकी छिन्।
हामीले उनलाई पहिलो प्रश्न नै फाउन्डेसनको स्थापना र यसको लक्ष्य बिरामीलाई औषधि उपलब्ध गराउनु नै किन रह्यो भन्नेबाट गर्यौं । लामो सास फेरिन् । त्यसक्रममा आफ्नो स्मृति ग्रन्थीलाई दुई दशकअघि पुर्याउन आदेश दिएको हुनुपर्छ । उनले विस्मृतितिर धकेल्न खोजेको तर नसकेको पुत्र-वियोगको पललाई भावुक आवाजमा प्रस्तुत गर्न थालिन् । आँखामा आँशु भर्दै उनले भनिन्, 'हाम्रो छोरा म्याक्सलाई १४ वर्षको उमेरमा उनलाई ल्युकेमिया (रगतको क्यान्सर)को डायग्नोसिस भयो। हामी अर्जेन्टिनाबाट हौं, र त्यतिबेला म्याक्स बिरामी हुँदा त्यो प्रकारको ल्युकेमियाका लागि कुनै उपचार उपलब्ध थिएन, मात्र बोनम्यारो ट्रान्सप्लान्ट थियो- यदि हामी मिल्ने डोनर पाएको भए बचाउन सक्थ्यौं। दुई-तीन वर्ष खोज्यौं तर पाउन नसकेपछि १७ वर्षको उमेरमा गुमायौं।'
त्यही एउटा मान्छे (म्याक्स)को मायाले उनको जिन्दगीमा फरक पार्यो । उनीहरुले द म्याक्स फाउन्डेसन स्थापना गरे। उनी थप्छिन्, 'अरू परिवारले हामीले झेलेको दुःख नझेलुन्। औषधि-उपचार र हाम्रो जस्तै समस्या परेका परिवारबीच एउटा पुलको रूपमा सहयोग गर्न सकियोस्।'
आफ्नो छोराका लागि सम्भावित डोनर खोज्न बेला नै उनीहरुले महशुस गरे, - स्रोतहरू छन्, तर ती पाउन कठिन छन्। टम्म भरिएका आँखालाई सहज बनाउँदै उनले थपिन्, 'जब पहिलोपटक रोगबँरे जानकारी हुन्छ, तपाईलाई केही थाहा हुँदैन। त्यसैले हामीले वेबसाइट द म्याक्स फाउन्डेसन र एउटा इमेल खाता सुरु गर्यौं। जहाँ मानिसहरूले सहायता माग्न सक्थे। त्यो इमेलमार्फत, हामीले संसारभरका, विशेषगरी निम्न र मध्यम आय भएका देशहरूबाट धेरै सन्देशहरू प्राप्त गर्यौं, जहाँ बिरामीहरूलाई स्थानीय रूपमा उपलब्ध नभएको उपचार चाहिएको थियो। हामीले यी बिरामीहरूका लागि उपचार ल्याउने प्रयास गर्न समर्पित गर्यौं।'
प्याटहरुलाई त्यही एउटा मान्छेको मायाले फरक पार्यो । अब कुरा गरौं त्यही एउटा साथी (द म्याक्स फाउन्डेसन)को साथ कति फरक पारेको छ लाखौंको जिन्दगीमा भन्ने बारे। अहिले यो ८३ देशका ४० हजार परिवारका बिरामी र २०० अस्पतालसँग काम गरिरहेको छ। विगत २२ वर्षदेखि यसले मुख्यत: दुईटा काम गर्छ। पहिलो, रोगको यकिन गराउन विश्वका काबिल विशेषज्ञसँग समन्वय गराउँछ। दोस्रो, किन्न नसक्नेलाई औषधिहरु नि:शुल्क उपलब्ध गराउन उत्पादक औषधि कम्पनीहरुसँग समन्वय गर्छ। यहीँनेर उनको डिस्क्लाइमर छ, 'हामी भगवान होइनौं, कहिलेकाहीँ परिणाम हाम्रा आशा अनुसार आउँदैन तर कम्तिमा तपाईं प्रयास गर्नुहुन्छ र तपाईंले आफ्नो प्रियजनलाई बचाउन सक्दो मौका दिनुहुन्छ।'
हामीले उनलाई प्रतिप्रश्न गर्यौं, 'निदान र उपचारमै मात्रै किन केन्द्रीत हुनुभयो, क्यान्सर रोकथामसँग जोडिएका विषयमा किन काम गर्न गर्नुहुन्न?'
यो २२ वर्षमा उनले पहिलोपटक यस्तो प्रश्नको सामना गरेको बताइन्। आफ्नो योजनाबारे प्रस्ट कुरा राखिन्, 'यो राम्रो प्रश्न हो तर अहिलेसम्म कसैले यो प्रश्न कहिल्यै सोधेको थिएन। जब हामीले द म्याक्स फाउन्डेसन सुरु गर्यौं, हामीले दुईटा निर्णयहरू लियौं। पहिलो, हामी स्रोत र बिरामीहरूको बीचमा पुल बन्ने, दोस्रो, हामीले कसैले पनि सहयोग नगरेका मानिसहरूलाई सहयोग गर्ने।' रोकथाम र स्क्रिनिङमा धेरै संस्थाहरुले काम गरिरहेका कारण पनि आफू अहरुले नगरेका काममा सक्रिय रहेको बताइए आफ ध्यान दिन्छन्, छन् तर कसैले औषधि उपलब्ध गराइरहेको थिएन। त्यसैले हरेक निर्णयको बेला, हामीले अरूले नगरेको काम गर्ने निर्णय गर्यौं। त्यसैले हामीले औषधि पुर्याउने काममा ध्यान केन्द्रित गर्यौं।'
स्रोतसम्म पहुँच राख्न नसक्ने र कसैले सहयोग नगरेकाहरुलाई सहयोग गर्ने लक्ष्य फाउन्डेसनको हो। त्यसैले गरिब, असहाय र दूरदराजका बिरामी फाउन्डेसनको प्राथमिकता सूचीमा छन्। कहिलेकाहिँ अवरोधहरुले त्यो लक्ष्यमा समस्या खडा गर्ने नेपालको कार्यक्रम संयोजक श्वेता अग्रवाल बताउँछिन्। अवरोधबारे हामीले प्रश्न गर्दा उनले श्वेतातर्फ हेरिन् र श्वेताले थपिन्, 'एउटा अवरोध भनेको निदानको समय हो। दूरदराजका बिरामीहरूले आवश्यक सुविधा समयमा पाउँदैनन् र काठमाडौँ वा भरतपुरमा निदान र उपचारका लागि आउनुपर्छ। निदानपछि, उनीहरूको आर्थिक स्थिति पनि उपचार जारी राख्न अवरोध बन्न सक्छ। हामीले बिरामीहरूसँग फलो-अप गर्दै जानुपर्छ, किन औषधि लिन आउनु भएको छैन भनेर सोध्दा, उनीहरूले यात्रा खर्च गर्न नसकेको वा बाटो बन्द भएको भन्ने जवाफ पाइन्छ।'
प्याटले थपिन्, 'अर्को समस्या भनेको निदानको लागत कसैले पनि बेहोर्दैन। क्यान्सरको शंका लागेमा, बिरामीको परिवारले पुष्टि गर्न खर्च गर्नुपर्छ। यस क्षेत्रमा नीति सुधारको आवश्यकता छ। निदानमा सहयोग गर्नका लागि नीति हुनु आवश्यक छ।'
कार्यक्रम संयोजक अग्रवालले नेपाल जस्ता मुलुकका मौलिक समस्या समेत महशुस गरेकी छिन् । चेतनाको कमीका कारण आउने समस्याहरु उनले सूचीबद्ध बताइन्। त्यसमध्ये एउटा जोड दिइन्, 'जब कुनै महिला रोगीलाई निदान गरिन्छ (विशेष गरी विवाह पछि), धेरै परिवारले उनलाई सहयोग गर्दैनन्। आमाबाबुले आफ्नी छोरीको क्यान्सरको उपचार भएको कुरा लुकाउँछन्, ताकि उनको विवाह गराउन समस्या नहोस्। उनीहरू आफ्ना ससुरालीलाई रोगको बारेमा थाहा नदिन चाहन्छन्। यी केही अवरोधहरूको उदाहरण हुन्, जुन हामीले सामना गरिरहेका छौं।'
नेपालमा पाटन अस्पतालमा फाउन्डेसनले २० वर्षदेखि काम गरिरहेको छ। अस्पताललाई औषधि निर्माता कम्पनीले नै चयन गरेको उनी बताउँछन्। 'सात वर्षअघि, हामीले कार्यक्रमको जिम्मेवारी लियौं। त्यसपछि हामीले बीपी कोईराला मेमोरियल र सुशील कोईराला प्रखर क्यान्सर अस्पतालमा विकेन्द्रीकरण गरेका छौं,' उनले थपिन्, 'यद्यपि, क्यान्सर उपचारमा विशेषज्ञता आवश्यक पर्छ। पाटन अस्पतालजस्तो उत्कृष्ट सेटअप भएको ठाउँमा पनि चुनौतीहरू छन्। त्यसैले हामीले विकेन्द्रीकरण गर्नुभन्दा बिरामीहरूलाई यातायातमा सहयोग गर्दै उनीहरूलाई उत्कृष्ट हेरचाह दिने निर्णय गरेका छौं।'
नेपाल आउन आफूलाई २० वर्ष लागेकोमा थकथकी महशुस गरिन्। नेपाल आएपछि उनलाई लागेछ, 'म धेरैअघि यहाँ आइसक्नुपर्थ्यो।' । कुराकानीकै क्रममा ओभाएका आँखाले फेरि आँशु लिएर आए । भावुक हुँदै थपिन्, 'यो मेरो सपना थियो। बिरामीहरूलाई भेट्दा, म्याक्सको नाम र विरासतको निरन्तरता देख्दा म धेरै भावुक भएकी छु।'
पाटन अस्पतालमा छोरा म्याक्सको तस्विर राखिएको होला भन्ने उनले अपेक्षा गरेकी थिइनन्। त्यहाँको भित्तामा छोराको तस्विर भेटिनु उनका लागि ठूलो सरप्राइज मात्रै थिएन, एउटी ममतामयी आमाको मन कटक्कै पार्ने पल थियो। भावुकताले गाँठो पारको मनबाट बल गरेर बोली निकाल्दै उनले भनिन्, 'मलाई यसले उर्जा दिएको छ र मैले धेरै सुधार गर्नुपर्ने कामहरूको सूची बनाएको छु। तर म यहाँको बलियो प्रणाली र यस देशको कार्यक्रम व्यवस्थापन क्षमताको सुधारको पनि अपेक्षा गर्छु।'
नेपालमा उनले नि:शुल्क औषधि पाएका बिरामी र उनीहरुका आफन्त समेत भेटिन्। उनीहरुसँग अन्तरक्रिया गरिन्। त्यसपछि उनलाई लाग्यो, 'सपना पूरा मात्र होइन, त्यो भन्दा अझै राम्रो भएको छ।'
कुरा सकेपछि पो अघि सुनेको गीतको भावार्थ महशुस भयो-
एउटा मान्छेको मायाले प्याटलगायतलाई परोपकारतर्फ डोर्यायो। प्याटलगायतको साथले धेरैको जीवनमा फरक पारेको छ !