काठमाडौँ- चिसो बढेसँगै देशभर डेंगु संक्रमितको संख्या घट्दै गएको छ। एक सातायता डेंगुबाट संक्रमित हुनेको संख्यामा कमी आएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा किटजन्य शाखाका प्रमुख डा गोकर्ण दाहालले जानकारी दिए।
‘कात्तिकको अन्तिम सातासम्म करिब १ हजार संक्रमित रहेकोमा हाल सयभन्दा कम छन्’,‘संक्रमित संख्या घटेर गए पनि यसको जोखिम भने घटेको छैन,’ डा दाहालले भने।
संक्रमण घटे पनि सावधानी अपनाउन उनको सुझाव छ। यस वर्ष डेंगु संक्रमण ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ। डेंगु संक्रमण सबैभन्दा बढी काठमाडौँमा फैलिएको थियो।
पछिल्लो तथ्यांक अनुसार यस वर्ष हुम्लाबाहेक देशभर करिब २९ हजार डेंगु संक्रमित भएका थिए भने १२ जनाको संक्रमणका कारण मृत्यु भएको थियो। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा युवानिधि बसौलाका अनुसार हाल अस्पतालको आकस्मिक कक्षमा डेंगुका बिरामीको चाप घटेको छ।
चिसोको सुरुवात भएसँगै कात्तिकको अन्तिमसम्म पनि नघटेको डेंगु संक्रमण मंसिरको पहिलो साताबाट भने घटेको उनी बताउँछन्।
सरुवा रोग विशेष डा शेरबहादुर पुनले डेंगु सङ्क्रमण सङ्ख्यात्मक रूपमा घट्दै गए पनि यसको जोखिम कम भइनसकेकाले सचेत रहन आग्रह गरे। कडा बान्ता भएर, खान मन नलाग्ने जस्ता लक्षण लिएर डेंगुका बिरामी अझै पनि अस्पतालमा आइरहेको उनी बताउँछन्।
डेंगु घटे पनि चिसोमा भाइरसजन्य संक्रमण बढ्न सक्ने चिकित्सकले बताएका छन्। संक्रमण रोग विशेषज्ञ डा अनुप सुवेदी चिसोमा डेंगुको संक्रमण घटे पनि भाइरसजन्य संक्रमणको जोखिम भने उच्च रहने बताउँछन्। चिसोमा भाइरल ज्वरो, निमोनिया तथा श्वासप्रश्वास सम्बन्धी समस्या बढ्ने उनको भनाइ छ।
भाइरस लामो समयसम्म बाँच्न सक्ने भएकोले रुघा-खोकी जस्ता संक्रमण चिसोमा बढी हुने डा सुवेदी बताउँछन् । उनी भन्छन्, ‘चिसोमा रुघा-खोकीको समस्या बढ्छ। भाइरस पनि लामो समयसम्म जीवित रहन सक्छ। त्यसैले चिसोमा भाइरस संक्रमणको जोखिम बढ्ने हो।’
बढ्दो चिसोले विशेषगरी बालबालिका, दीर्घरोगी रोगी, प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई भाइरल ज्वरो, रुघाखोकी, निमोनिया, श्वासप्रश्वास सम्बन्धी समस्या देखिने सरुवा रोग विशेष डा शेरबहादुर पुन बताउँछन्।
‘चिसो सँगसँगै खासगरी श्वासप्रश्वाससँग सम्बन्धित संक्रमणहरुले बालबालिकाहरुलाई अलि बढी प्रभावित पारेको देखिन्छ। त्यस्तै बढी उमेरका मानिसहरुमा इन्फ्लुएन्जा चाहिँ हरेक वर्ष देखा पर्ने गरेको छ,’ डा पुनले भने।
चिसो बढेसँगै शरीरको तापक्रम घट्ने हुँदा कहिलेकाहीँ बढेको चिसोलाई शरीर अनुकुल बनाउन समय लाग्ने भएकाले समेत विभिन्न स्वास्थ्य समस्या बढ्न सक्ने चिकित्सकहरुको भनाइ छ।
त्यस्तै, जाडो मौसममा मानिसहरू आराम गर्न र शरीरलाई न्यानो राख्न घरभित्रै बस्न रुचाउँछन्। जसका कारण शारीरिक गतिविधि कम हुन्छ। चिसोमा शरीर निष्क्रिय हुने भएका कारण पनि विभिन्न स्वास्थ्य समस्या निम्तिन सक्ने चिकित्सकको भनाइ छ।