सबैलाई आफ्नो आँखाबाट हेर्ने, आफ्नै दिमागबाट सोच्ने र आफ्नै मुखबाट बोल्ने छुट हुन्छ नै। ६ वर्षको आयु बोकेको स्वास्थ्य बिमा कार्यक्रमलाई देशभर फैलिसकेको, धेरैलाई लाभ मिलिसकेको, चार सयभन्दा बढी स्वास्थ्य संस्था आवद्ध भइसकेको, कानुनी रुपमा स्वायत्त बोर्ड भएको, राजनीतिक आकर्षण बढाउँदै लगेको, २६ अर्ब लगानी भइसकेकोमा ५ अर्ब मात्र भुक्तानी बाँकी रहेको कार्यक्रम भनी सकारात्मक रुपमा व्याख्या गर्न गरेको पाइन्छ।
अर्कातिर, तुरुन्तै अर्को कोणबाट अस्पतालहरुलाई पैसा नै तिर्न सकेको छैन रे, कसै–कसैले लुट्नसम्म लुटेका छन् रे, बिमाको औषधि बाहिर लगेर फेरि बेच्छन् रे, ढाड दुख्दा मात्रै पनि दुई–तीन पटक एमआरआई र अनेक टेस्ट गराई एक लाख रुपैयाँ असुल गराएरै छाड्छन रे, यो वर्ष ३० हजार मात्रै खर्च भयो, बाँकी ७० हजार पाउन भन्दै मानिसहरु अस्पतालको टिकट काट्ने ठाउँमा आएर कराउँछन् रे भन्ने नकरात्मक पक्षहरुलाई बढाइ–चढाइ गरेर खोइरो उतार्ने गरेको पनि पाइन्छ।
यसलाई वैज्ञानिक चिन्तनबाट चियाएर यो निरन्तरको अभ्यास हो, सिक्दै–सच्याउँदै अघि बढ्नु उपयुक्त हुन्छ भनी प्राज्ञिक र बौद्धिक धारबाट व्याख्या गर्न पनि सकिन्छ।
निःसन्देह सोचाइ र रोजाइ आ–आफ्नै हुन सक्लान्। यसै सेरोफेरोमा रहेर यस लेखमा नेपालको सन्दर्भ र अन्य मुलुकको सिकाइ–भोगाइलाई अन्तर्यमा राखेर स्वास्थ्य बिमालाई तत्काल टेको दिने मात्र नभई दीर्घकालीन टिकाउ बनाउने प्राविधिक प्रकृतिका पाँच ‘टी’ का विषयमा चर्चा गरिएको छ।
पहिलो ‘टी’ : टेक्नोलोजी
साइन्सलाई सर्भिस र सर्भिसलाई सिस्टममा बदल्ने तागतिलो औजार भनेको अहिलेको सन्दर्भमा ‘इन्टिग्रेटेड सफ्टवेयर, डेटा फ्लो र डिजिटल चेन’ नै हो। उसै पनि पाँचथरी नियामक रहने स्वास्थ्य क्षेत्र ठूलो इकोसिस्टम भएको क्षेत्र हो भनी भनिरहनु नै परेन। त्यसमा पनि केन्द्रमा बिरामी वा सर्वसाधारण पर्ने अकाट्य सत्य रहेको सन्दर्भमा त उनीहरुलाई त्यो इकोसिस्टमको मालामा कसैले उन्न सक्छ भने हावामा उडिरहेको आइटीले नै मात्र हो।
स्वास्थ्य बिमा आफैंमा ठूलो इकोसिस्टम जोड्नुपर्ने र दूधको दूध, पानीको पानी तोड्नुपर्ने विधा भएकोले यसको समुचित उपयोगिता पुष्टि गर्न बिरामी छिरेदेखि ननिस्किँदासम्मको पुरा ‘पेसेन्ट साइकल’ च्याप्प पार्ने इलेक्ट्रोनिक मेडिकल रेकर्ड सहितको इन्फर्मेसन टेक्नोलोजीले नै बिमाको विधि पूरा गराउँदै ‘पानी चुहिने प्वाल’ टाल्ने र सबै पक्षबीच पुल हाल्ने बलियो जगको काम गर्न सक्छ।
यतिमात्र नभई स्वास्थ्य क्षेत्रलाई नै प्रोटोकलयुक्त, इथिक्सले भरपुर बनाउन मद्दत मिल्छ, बिमाका कारण। बिमा बोर्ड, सेवाप्रदायक संस्था र बिमितबीचको मिलनबिन्दु पनि यही हो र दाबीमध्ये ‘हो’ लाई ‘हो’ र ‘होइन’ लाई ‘होइन’ सजिलै भनी हरियो–पहेंलो–रातो जोनमा बिमालाई आफैं पारिदिने आर्टिफिसियल इन्टेलिजेन्स सहितको २४ घण्टे बफादार पहरेदार पनि हो, यस किसिमको ‘टेक्नोलोजी’।
दोस्रो ‘टी’ : टिपिए अर्थात् थर्ड पार्टी एड्मिनिस्ट्रेटर
स्वास्थ्य बिमाका वरपर पर्ने सबै पक्षबीच दरिलो सम्पर्कमा रहेर योजनामा ‘समन्वयकर्ता’ र कार्यन्वयनमा ‘सहजकर्ता’ को भूमिका निभाउने प्रकृतिको संस्था विश्वले यत्तिकै सिर्जना गरेको होइन।
फुटबलको आफ्नै नियम छ, अन्तर्राष्ट्रिय र राष्ट्रिय नियामक निकाय पनि छ, त्यसमाथि खेलाडी भनेका आफैंमा कुशल र अनुशासित हुन्छन् र पनि खेलमा रेफ्री राखिन्छ भनेझैँ हो यो ‘टिपिए’ को अभ्यास पनि यस्तै हो।
जसरी रेफ्रीलाई निश्चित इथिक्स र ‘टिओआर’ तोकेर मैदानमा उतारिन्छ, उसैगरी ‘टिपिए’ लाई पनि नियमनको परिधिभित्र रहेर अस्पताल छान्ने, इम्प्यानल गर्ने, प्रविधि लगाउने, दावी गरिएकामध्ये सही दावी छुट्याउने, नमिलेकामा कारण खुट्याउने र दावी भुक्तानी यथाशीघ्र टुंग्याउने भूमिका दिइएको हुन्छ। काम एउटै भए तापनि नामका हकमा कतै ‘क्लेम सेटलर’ बोलिन्छ भने कतै ‘हेल्थ इन्स्योरेन्स इन्टरमिडियरी’।
भारत लगायत एसियाका अन्य मुलुक र अफ्रिकामा ‘टिपीए’ नाम बढी प्रयोग गरिएको छ भने दक्षिण कोरियामा ‘हेल्थ इन्स्योरेन्स एण्ड रिभ्यु असेस्मेन्ट’ अर्थात् छोटकरीमा ‘हिरा’ भनेर स्वायत्त सरकारी निकाय नै तयार गरिएको छ।
कतै रेफ्री नै म्याच फिक्सिङमा नपरुन् भनी रेफ्रीमाथि पनि निगरानी गर्ने गरिएझैँ ‘टिपीए’ को इफेक्ट र साइड इफेक्ट मूल्यांकन हुने गरी यसलाई राज्य–नियन्त्रित राखिएको हुन्छ।
समग्रतामा भने, टिपिएको प्रयोग स्वास्थ्य बिमालाई छरितो, प्रविधिमैत्री, व्यावसायिक, मर्यादित, ‘लुप–होल प्रुफ’ बनाउनका लागि उपयोगी रहन्छ, धेरै अर्थमा। ट्राफिक जाम भएका बखत सिठी फुक्दै ट्राफिक प्रहरी आइपुग्दा आशा जगाएझैँ हुनपुग्छ, ‘टिपिए’ को भूमिका।
तेस्रो ‘टी’ : टक प्रोग्राम
जति बढी पक्ष सामेल गर्नुपर्ने हुन्छ, स्वभाविक रुपमा त्यही अनुपातमा इकोसिस्टमको आकार बढ्न पुग्छ नै। यस खालको ‘मल्टी–स्टेकहोल्डर प्ले’ मा एक पक्षको, एक जनाको र एक संस्थाको मात्र कुरा सुन्दा भाव अपुरो त हुन्छ नै कार्यक्रमलाई अमुक ढंगले विषमतातिर ठेल्दै लगेर भित्तामा टाँसिदिने सम्भावना पनि उत्तिकै रहन्छ।
उसै पनि स्वास्थ्य बिमाका तिनै पक्षबीच ‘लभ एन्ड हेट’ को सम्बन्ध बन्न पुगेको हुन्छ, आज झगडा फेरि भोलि सम्बन्ध तगडा भनेझैँ हुनेगरी। सबै पक्षलाई मिलाएर लैजान, राम्रा–नराम्रा अनुभवबाट ‘निरन्तर सुधार’ को मुल फुटाइराख्न र स्टेकहोल्डरहरुबीच सम्बन्ध जुटाइराख्न सिलसिलेवार रुपमा शीर्षकसापेक्ष र समयसापेक्ष उद्देश्यमुलक संवाद भइराख्नु जरुरी हुन्छ।
कार्पेटमुनि छोपिएको धुलो बढार्ने कुचो हो संवाद। बिमा कार्यक्रम थप सुधार्ने मलजल हो संवाद। नयाँ स्वास्थ्य संस्था गाँस्दै लाने सियो–धागो हो संवाद। स्थानीय सरकारको सरोकार बढाउने चुम्बक हो संवाद र तर्क–बितर्क गरी नयाँ प्रयोग सुरु गर्ने माध्यम हो संवाद। तसर्थ तह–तहमा, तप्का–तप्कामा, देशमा, प्रदेशमा र कहिलेकाहीँ विदेशमा पनि राखिनुपर्छ यसखाले ‘टक प्रोग्राम’।
चौथो ‘टी’ : ट्रेनिङ
एउटा कुनै अस्पतालले बिमाको नियम एक किसिमले बुझेको हुन्छ सक्छ भने अर्को अस्पतालले त्यही नियमलाई अर्को ढंगले बुझेको हुन सक्छ। त्यसैगरी बिमितलाई नै पनि बिमाको नियम, दायरा र कहाँ गएर कसरी के–के सेवा लिन सकिन्छ भन्ने कुराको स्पष्टता नभएको पनि बुझिन्छ।
दर्ता सहयोगीले पनि कतै–कतै त यसरी भनेका हुने रहेछन् कि मानौं, ३५ सयमा एक लाख रुपैयाँ नगद नै साटिएको होस्। तसर्थ बिमा कार्यक्रमका सन्दर्भमा स्टाफलाई होस् या सेवा प्रदायक अस्पताल र त्यहाँका कर्मचारीहरुलाई वा बिमालाई प्रिमियम तिरिदिन सक्ने स्थानीय सरकार हुन् कि सहकारी।
यी सबैलाई तालिम दिन नपुगेकै अवस्था हो। यसबाट बिमाको सीमा थाहा नहुनेदेखि आ–आफ्नो दायित्व र अधिकारको समेत सीमा थाहा नभएर बिमाको गति धिमा भएको हो कि भन्ने देखिन्छ।
प्रयोगमा रहेको विद्युतीय दावी प्रणाली (इमिस) मा के–कसरी भर्ने र कुन–कुन डकुमेण्ट कसरी अपलोड गर्ने भन्ने कन्फ्युजनले पनि अस्पताल र बिमा बोर्डबीच जुहारी चलेको हुन सक्छ।
डाक्टर, नर्स, स्वास्थ्य प्राविधिक लगायत सम्बन्धित चिकित्सकीय पाठ्यक्रमदेखि नै यसको पढाइ हुने हो भने बल्ल यो कार्यक्रमको रुपरेखा प्रकारान्तरमा भने अनुसारले अघि बढ्न सक्छ। तालिम र शिक्षा भनेको ‘जरा तितो, फल मिठो’ हुने तत्व हो। अहिले मिहिनेत गरेर भविष्यमा मिठो फल खानका लागि अत्यावश्यक छ, ट्रेनिङ।
पाँचौ ‘टी’ : थिंक ट्यांक
अध्ययन, अनुसन्धान, सत्य–तथ्य, ध्यान र ज्ञान भनेको प्रकृतिले दिएको ताकत र ल्याकत बाहेक संसार चलाउने आधार स्तम्भहरु हुन् र विकासका क्याटालिस्ट पनि।
इतिहासका कुनै पनि राजा र राजनीतिज्ञ सफल–असफल हुने कुराको निर्धारण नै उनीहरुले बोक्ने सल्लाहकारको हातमा हुन्छ। हाम्रै बिमाको सन्दर्भमा पनि यत्रतत्र फैलिएको ‘खत्तम भयो, ध्वस्त भयो, कोल्याप्स हुन्छ, टाट उल्टियो’ जस्ता हुण्डरीरुपी टिप्पणी गर्दा १८० डिग्री कोणमा फरक तर्क पस्किएका थिए प्राज्ञिकहरुले।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको स्वास्थ्य बिमासम्बन्धी चिन्तन–चर्चा (प्यानल डिस्कसन) मा जर्मनीको हेडेल्बर्ग युनिभर्सिटीका हेल्थ फाइनान्सिङ्की प्राध्यापक म्यानुएला डिएलेग्री, प्राज्ञ स्वाति श्रीवास्तव र आयुष्मान भारतका अनुसन्धानकर्ता अमित पलिवल जस्ता दिग्गजहरुका भनाइ हुबहु उद्धृत गर्ने हो भने ‘जुनसुकै देशले पनि स्वास्थ्य बिमा सुरु गर्दाको स्वरुपलाई दिनदिनैको ‘सिकाइ–भोगाइ–दुखाइ’ बाट सिक्दै–सिक्दै, राम्रो कुरा थप्दै–थप्दै र नराम्रो कुरा झिक्दै–झिक्दै निखार्दै लाने हो’ भन्ने नै थियो।
तसर्थ, स्वास्थ्य बिमा ‘सबल र सफल’ पार्नका लागि यस कार्यक्रमको साइडमा एक स्वतन्त्र र स्वायत्त प्रकारको थिंक ट्यांक रहनु जरुरी हुन्छ, ‘खोज, सोच र सोध’ का आधारमा बोर्डलाई निरन्तर सल्लाह दिने कार्यादेश हुने गरी। बकम्फुसे हल्ला र स्वार्थवस बिमा हल्लाउनेको पल्लालाई उछिन्न सक्ने एक मात्र पावर–हाउस हो, यस्तो किसिमको थिंक ट्यांक।