हाल एक पछि अर्को देशमा कडा 'हेपाटाइटिस'ले बालबालिकालाई सिकिस्त बनाएको जानकारीहरु आउने क्रम जारी छ। बिरामी बालबालिकामध्ये झन्डै १० प्रतिशतमा कलेजो प्रत्यारोपण नै गर्नु परेको थियो। यो लेख लेख्दै गर्दा कडा 'हेपाटाइटिस' हुनुको सहि/ठोस प्रमाण भने पत्ता लागिसकेको छैन। यो जति रहस्यमय छ, त्यतिनै चिन्ताजनक विषय बनेको पनि छ। तसर्थ, विश्व स्वस्थ संगठनले सन् २०२१, अक्टुबर महिना यता १६ बर्ष मुनिकामा हेपाटाइटिसको समस्या देखिए (हेपाटाइटिस 'ए', 'बी', 'सी' ,'डि' र 'इ' भाइरस नेगेटिभ भएका) तथा प्रयोगशाला परिक्षणमा कलेजो इन्जाइमहरु (AST, ALT ) ५०० IU/L भन्दा बढी देखिए रहस्यमय कडा 'हेपाटाइटिस'को सम्भावना परिभाषित गरेका छन् र त्यस्तो देखे जानकारी दिन अनुरोध समेत गरेका छन्।
केहि दिन अगाडी इन्डोनेसियाले तीन बालबालिकाको मृत्यु पनि यहि रहस्यमय कडा 'हेपाटाइटिस'को कारणले भएको जानकारी दिएको छ। युरोप-अमेरिका हुँदै एशियाका विभिन्न देशहरुमा यो समस्या बालबालिकामा देखिने क्रम बढ्दो देखिन्छ। कुनै पनि संक्रमण देखिदै/फैलदै गए रोगको नियन्त्रण नै सबैको प्राथमिकता पर्दछ र यो हुनु पनि पर्दछ। तर रहस्यमय कडा 'हेपाटाइटिस'को ठोस प्रमाणित कारक थाहा नहुदा 'नियन्त्रण तथा बच्ने उपाय' सम्बन्धी रणनीति/योजनाको विकास गर्ने बारेमा नीति-निर्माता वा विज्ञहरु अलमलमा परेका देखिन्छन्।
बालबालिकामा देखिएको कडा रहस्यमय 'हेपाटाइटिस'को कारक पत्ता लगाउन वैज्ञानिकहरुले विभिन्न कोणहरुबाट परीक्षण तथा अनुसन्धानहरुलाई निरन्तरता दिइरहेका/अगाडि बढाई रहेका छन्। ठोस तथा विश्वासिलो नतिजा हात पार्न भने आजको मितिसम्म सकिसकेका छैनन्। तर वैज्ञानिकहरुले अहिलेसम्म गरेका परीक्षणहरुबाट भने रुघा खोकी गराउने भनेर परिचित 'एडेनोभाइरस' संक्रमण कारक हुनसक्ने चाखलाग्दो तर आश्चर्यजनक सम्भावना व्यक्त गरेका छन्। कडा 'हेपाटाइटिस' देखिएका झन्डै ४४ प्रतिशत बालबालिकामा 'एडेनोभाइरस' नामक संक्रमण भेटिएकोले पनि यस्तो अनुमान/सम्भावना व्यक्त गरिएको हो। केहीमा (११ प्रतिशतमा) भने कोरोना भाइरस र 'एडेनोभाइरस' दुवै देखिएका थिए। 'हेपाटाइटिस' गराउने कारकहरु मध्यमा भाइरल 'हेपाटाइटिस' ('ए', 'बि', 'सि', 'डि' र 'इ') भने बालबालिकामा देखिएका थिएन। 'एडेनोभाइरस'को पनि 'टाइप ४१' अधिकांशमा देखिएको थियो।
सामान्यतय अहिलेसम्म स्वस्थ बालबालिकामा 'एडेनोभाइरस'को 'टाइप ४१' ले संक्रमण गरे कडा 'हेपाटाइटिस' गराएको जानकारी थिएन। वैज्ञानिकहरु अहिले नै 'एडेनोभाइरस'लाई कडा 'हेपाटाइटिस' वा 'लिभर फेलर' को कारक मानीसकेको त छैन, तर सम्भावनालाई पूर्ण अस्विकार पनि गरेका छैनन्। यसो हुनुमा 'एडेनोभाइरस' अहिलेसम्म विशेषत रुघाखोकी गराउने भाइरसको रुपमा परिचित हुनु तथा भइरहेका अनुसन्धानहरुका नतिजाको पर्खाई नै हो।
आगामी दिनहरुमा अनुसन्धानका थप जानकारीहरु त आउलान् तर लेखकको मनमा पनि निम्न केहि प्रश्नहरुले (हाईपोथेसिस्) भने ठाउँ लिएको छ:
१) के भाइरल 'हेपाटाइटिस' को नयाँ प्रजाति विकास भएको हो?
२) के 'एडेनोभाइरस' म्यूटेशन भएर कडा 'हेपाटाइटिस' (नयाँ समस्या) देखिन थालेको हो?
३) कोरोनाभाइरस र 'एडेनोभाइरस' दुवैले संक्रमण गर्दा यस्तो समस्या देखिने हो?
४) हालसम्म 'पोस्ट कोभिड' समस्या बयस्कहरुमा मात्र देखिएकोमा अब बालबालिकामा कडा हेपाटाइटिस 'पोस्ट ओमिक्रोन कोभिड'को रुपमा देखिन थालेको हो? (ओमिक्रोनको लहर भन्दा अगाडी नदेखिएकोले)
५) यदी 'पोस्ट ओमिक्रोन कोभिड' भए कुनै विशेष ओमिक्रोन प्रजाति-उपप्रजातिको भूमिका छ कि?
६) हाल पछिल्लो समय देखिन थालेको 'पोस्ट हाईब्रिड कोरोनाभाइरस' जस्तै 'एक्स इ', डेल्टाक्रोन इत्याधीको संक्रमण पछि देखिएको त होइन?
यी माथिका छ सम्भावनाहरुलाई लेखकले कोरोनाको उतारचढाव जारी रहदा कडा 'हेपाटाइटिस'संग जोडेर हेरेको हो।यद्यपि ओमिक्रोनको लहरभन्दा अगाडि बालबालिकामा कडा 'हेपाटाइटिस'को समस्या जानकारीमा थिएन। हाल वैज्ञानिकहरुले 'एडेनोभाइरस'लाई बालबालिकामा देखिएको कडा 'हेपाटाइटिस'को सम्भावनासंग जोडेर हेरिरहेका भएता पनि अन्तिम निर्क्यौलमा भने पुग्न बाँकी/पुगिसकेका छैन।
-(डा शेरबहादुर पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिट संयोजक हुन्।)