जीवनशैली र खानपानका कारण उत्पन्न हुने समस्या डायबिटिज नेपाली समाजमा बढ्दो क्रममा छ। बदलिँदो जीवनशैली र असन्तुलित खानपानका कारण डायबिटिजका बिरामीहरु बढिरहेको चिकित्सकहरु बताउँछन् । डायबिटिजका विषयमा आमजन तथा बिरामीले सोध्ने अनेकौं प्रश्नहरु छन्। तीमध्ये मुख्य १२ प्रश्नको नेपाल डायबिटिज इन्डोक्राइन पोलिक्लिनिकमा कार्यरत इन्डोक्राइनोलोजिस्ट डा अलर्क देवकोटा रजौरियाले उत्तर दिएका छन् :
डायबिटिज भनेको के हो ?
डायबिटिज भनेको सुगर असन्तुलन हो । हामीले खानाका माध्यमबाट सुगर लिन्छौं, शरीरलाई नियमित चाहिने भन्दा बढी ब्यायामका माध्यमबाट घटाउनुपर्ने हुन्छ । तर, त्यचस्तो गर्न नसक्दा मधुमेह हुन्छ । शरीरमा सुगरको मात्रा बढी हुने रोग डायबिटिज हो। नेपाली समाजमा यसलाई मधुमेह वा चिनी रोग पनि भनिन्छ । मानिसले जुनसुकै खाना खाइसकेपछि शरीरमा ग्लुकोजको रुपमा प्रवेश गर्छ र त्यसबाट कोष संचालन गर्ने शक्ति आउँछ। चिनीबाट कार्बोहाइड्रेड र इनर्जी पाइन्छ। त्यसलाई प्रयोग गराउने भनेको इन्सुलेनले हो। त्यसमा आउने असन्तुलन नै डायबिटिज हो ।
डायबिटिज कति प्रकारका हुन्छन् ?
डायबिटिज सामान्यतया दुई प्रकारका हुन्छन्, टाइप १ र टाइप टू । ८० प्रतिशत भन्दा बढी चाहिँ टाइप १ र २ नै हुन् । जब शरीरमा इन्सुलिन बन्दै बनेन भने त्यसलाई ‘टाइप १ मधुमेह’ भनिन्छ। शरीरमा इन्सुलिन छ तर पर्याप्त मात्रामा उत्पादन गरेन अथवा शरीरले भएको इन्सुलिनलाई राम्रोसँग प्रयोगमा ल्याउन सकेन भने त्यो ‘टाइप २’ मधुमेह हो। मुटुको रोग, कलेजो रोग, अरु रोगको औषधि जस्तो स्टोरोइड, महिलामा पीसीओडी डिम्बको रोगले पनि डायबिटिज देखिन्छ।
डायबिटिजका लक्षणहरु के के हुन्
अधिकांस बिरामीहरु लक्षणका कारण चिकित्सककहाँ पुगेको देखिदैनन् । अन्य कुनै कारणबस रगत जाँच्दा चिनीको मात्रा बढी देखएमा आउँछन् । भोक लागिराख्ने, भोक लाग्ने, पिसाब लागिरहने, थकान बढी महशुस हुने मुख्य लक्षण हुन्छ।
डायबिटिज र खानाकको सम्बन्ध कस्तो हुन्छ ?
डायबिटिज खानपानकै कारणले हुन्छ । त्यसैले बजारको खानेकुरा नाखाने, मैदा भएको नखाने, चिनि धेरै भएको नखाने तारेको र चिल्लो नखाने गर्नु राम्रो हो। खानामा पनि अन्नको मात्रा कम गर्ने, हरियो सागपात र सलादले पेट भर्ने गर्नुपर्छ।
डायबिटिज के-कस्ता स्वास्थ्य समस्या ल्याउँछ ?
सवै अंगलाई छुने रोग हो । यसले टाउकोदेखि पाइतालासम्म छुन्छ । पक्षघात हुन सक्छ, आँखामा समस्या देखिन सक्छ, मुटुमा समस्या आउन सक्छ । मिर्गौलामा हानी गर्छ । घाउ चाँडै निको नहेनु हुन्छ । खुट्टाका नसाहरुमा समस्या देखिन सक्छ । यसले सवैलाई छुन्छ ।
डायबिटिज जाँच गर्ने समय र अवस्था के-के हुन् ?
नेपालीहरुको जीवनशैली परिवर्तन भइरहेको छ। त्यसैले जाँच युवाअवस्थामा पनि गर्नुपर्छ । खानपिन राम्रो छैन, नियमित शारीरिक अभ्यास छैन, मोटपना छ र पारिवारिक हिस्ट्री भएकाहरुले ३० वर्ष पुगेपछि नै जाँच गर्नुपर्छ । अन्यथा हामीले ४० पुगेपछि नियमित जाँचका लागि सिफारिस गर्छौं । यसबाहेक मुटु, कलेजो, मिर्गौला आदिको समस्या भएर नियमित औषधि सेवन गरिरहेकाहरुले पनि नियमित जाँच गराउनुपर्छ।
डायबिटिज जाँच गर्ने प्रक्रिया के-के हुन्छन् ?
एउटा फास्टिङ सुगर हुन्छ । जसका लागि ८ देखि १० घन्टा खाली पेट हुनुपर्छ । अर्को खाना खाएपछिको सुगर जाँच भनिन्छ । खाना मुखमा हाल्न थालेको २ घन्टापछि जाँच गर्ने गरिन्छ । एचबी१सी जुनबेला पनि गर्न सकिन्छ । र्यान्डम जाँच जुनसुकै बेलामा गर्न सकिन्छ । यसमा रगतको परीक्षणबाट स्तर हेरिन्छ । एचबीवानसी वा ग्लाइकोसाइलेटेट हेमोग्लोबिन जाँचमा तीन महिनाअघिदेखिको ग्लुकोजको स्तर रगत परीक्षणबाट हेरिन्छ।
डायबिटिजबाट जोगिन के गर्ने ?
मुख्यकुरा जीवनशैली हो। मोटोपन भए अभ्यास गर्ने गर्नुपर्छ । त्यसपछि खानपिनमा सन्तुलन कायम राख्नुपर्छ। मीठो कुरा कम खाने बानी बसाल्नुपर्छ । नेपालमा अधिकांसले म:म: खान्छन् । ममको स्वाद त जीब्रोमा त हो, त्यहाँ भन्दा तल गएपछि हानी गर्छ । खानाका हिसाबले पनि अभ्यास गर्नुपर्छ । खानाको मात्रा बढी छ, अभ्यास कम छ भने भविष्यमा समस्या आउन सम्भावना बढी हुन्छ।
गर्भवती महिलामा हुने डायबिटिज कस्तो हुन् ?
सुगर पहिलेदेखि नै थियो र गर्भावस्थामा जाँच गर्दा देखिने पनि हुन्छ । जुन आमा र बच्चाका लागि बढी खतरा हुन्छ । गर्भवती हुनुभन्दा पहिला मधुमेह नभएको र गर्भवती भएको २४ हप्तादेखि २८ हप्ताको बीचमा रगत परीक्षण गर्दा मधुमेह देखियो भने त्यसलाई गर्भवती अवस्थामा देखिने मधुमेह भनिन्छ। चिकित्सकिय भाषामा यसलाई जेसटेसनल मधुमेह भनिन्छ। गर्भवती समयमा मधुमेह भएको खण्डमा आमा, शिशु दुवैमा समस्या आउँछ। शिशु जन्मेपछि पनि भविष्यमा आमा र शिशु दुवैलाई मधुमेह हुने सम्भावना हुन्छ।
हाइपोग्लासिमिया भनेको हो ?
यदि सुगरको मात्रा ७० भन्दा तल जान्छ भने डायबिटिजमा ग्लासिमिया भनिन्छ । कसैलाई यही ९० र १०० मा पनि हुन सक्छ तर लक्षण भने देखिन्छ । खाना खाइसकेपछि भोक लागेर आउने, रिस उठ्ने, चिसो पसिना आउने आदि हुन थालेमा हाइपोग्लासिमियाको अशंका गर्नुपर्छ । सधैं अंकमा मात्रै भर पर्नुहुँदैन।
डायबिटिजले आँखा र खुट्टामा कस्तो असर पार्छ ?
रगतमा सुगरको मात्रा धेरै हुँदा आँखाका पर्दाको रक्त नशाहरुमा यसले असर गर्दै जान्छ त्यसो हुँदा रक्तश्राव हुने, पर्दामा चिल्लो निस्किने, रगत जम्ने, पछि रक्त सञ्चालनमा कमी हुनुका साथै उपचार समयमा नभए पर्दा खुम्चिएर दृष्टि सधैँका लागि गुम्ने खतरा पनि हुन्छ। लामो अवधिसम्म रगतमा चिनीको मात्रासँगै चिल्लोपन बढ्दै जाँदा रेटिनाको स-साना रक्तनलीमा असर पुर्यातउने गर्दछ। उक्त रक्तनलीबाट बोसो, रगत र तरल पदार्थ चुहावट हुँदा रेटिना सुन्निएर दृष्टि धमिलो हुने र रेटिना खुम्चिएर दृष्टि गुम्न सक्ने हुन्छ।
खुट्टामा नशा सम्बन्धी समस्या हुन्छ । खुट्टा पोल्ने समस्या लिएर धेरै बिरामी आउँछन्। अर्को डायबिटिज फुट अल्सर हुन्छ । कुनै कारणले घाउ हुन्छ, त्यो बल्झिदै गएर खुट्टा नै काट्नुपर्ने हुन सक्छ।
डायबिटिजको रोकथाम र उपचार के हुन् ?
यसको पहिलो, दोस्रो र तेस्रो उपाय नै जीवनशैलीमा परिवर्तन हो । शारीरिक अभ्यास हो । त्यसपछि खानपानमा सन्तुलन गर्नुपर्छ । त्यसपछि मात्रै औषधि हो।