केही दिन अगाडि एक वडाका सर्वसाधारण बीच रेबिज भाइरसलाई लिएर त्रास फैलिएको भनेर लेखकलाई फोन मार्फत जानकारी आएको थियो। कारण थियो सो वडाका अधिकांशले हालै रेबिजबाट मरेको गाईको दुध पिएको भनिएको थियो। उनीहरु सोहि गाईको दुध पीइरहेकोले रेबिज भाइरस लाग्ने पो होकी भनेर चिन्तित थिए। यो चिन्ता स्वाभाविक पनि थियो। प्रश्न थियो रेबिज विरुद्धको खोप लगाउनु पर्ने कि नपर्ने?
सामान्यतय दुध दिइरहेको पशु (गाई/भैंसी/बाख्री)को मृत्यु रेबिजबाट भइसके थाहा पाए पछि मात्र सर्वसाधारणले थाहा पाउने अनि त्रासको अवस्था शृजना हुनेगर्दछ। यस्तो अवस्था लेखकले दुई दशकदेखि वर्षेनी जसो नै देख्दै र परामर्श दिँदै आइरहेको छ।कोभिड-१९ को महामारी अगाडि पनि एक गाउँमा रेबिज संक्रमित गाईको दुध पन्चामृतको रुपमा पिउँदा गाउँले बीच रेबिजको ठूलो सन्त्रास फैलिएको थियो। उहाँहरुलाई परामर्श र नेपाल सरकारले विकास गरेको रेबिज सम्बन्धी प्रश्नोत्तर निर्देशिका देखाए पछि ढुक्क भएका थिए।
उक्त निर्देशिका अनुसार रेबिज लागेको जनावरको दुध पिएमा खोप लिनु पर्दैन भनेर लेखिएको छ। विश्व स्वास्थ संगठनले पनि रेबिज संक्रमित जनावरको दुध पिएर रेबिज भाइरस नसर्ने वा सरेको पुष्टि नभएको भनेर आफ्नो निर्देशिकामा उल्लेख गरेका छन्। लेखकले आफ्नो २० बर्षे अनुभवमा पनि रेबिज पुष्टि जनावरको दुध पिएर मृत्यु भएको देखेको (अस्पतालमा) वा सुनेको वा अनुसन्धान लेख पढेको छैन।
नेपालमा विशेषत निजी दुग्ध पसल र दुग्ध संस्था/कम्पनी मार्फत दुध बिक्रि हुने गर्दछ। रेबिजको भाइरस सय डिग्री सेल्सियसको तापक्रममा पुग्नु अगावै नै मरिसकेको हुन्छ। दुग्ध संस्था/कम्पनीमा दुधलाई पश्चाराईजेसन (उच्च तापक्रममा राखेपछि) गरेपछि मात्र बजारमा वितरण गर्ने गरिन्छ। त्यस्तै दुग्ध पसलबाट किनिएको दुध पनि नेपाली समाजमा पर्याप्त समय उमालेर मात्र खाने प्रचलन छ। तसर्थ यसरी किनिएको दुध पनि राम्ररी उमाल्ने हुँदा संक्रमण मुक्त दुध भैसकेको हुन्छ।
रेबिज लागेर मरेको पुष्टि भइसके पछि सो जनावरको दुध पीइरहेकाहरु बीच रेबिज भाइरसको त्रास र चासो/जिज्ञासा हुनु स्वाभाविक हो। यस्तो अवस्था/समस्या नेपालमा मात्र नभएर छिमेकी देश भारतमा पनि बेला बेलामा हुने गरेको विभिन्न संचारका मध्यमहरु मार्फत सार्वजनिक हुने गरेको पाइन्छ। विश्व स्वास्थ संगठन र नेपाल सरकारको रेबिज सम्बन्धी निर्देशिकाको आधारमा र त्यस्तै लेखक स्वयंमको दुई दशक अनुभवले पनि रेबिज लागेको जनावरको दुध पिएर रेबिज भाइरस सर्दैन र त्रसित हुनु पनि पर्दैन।
-(डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन्।)