ज्वरो देखिए औँलामा गन्न सकिने सरुवा रोगहरुको मात्र परीक्षण गर्ने गरिन्छ। तर, ती परीक्षण गरिएका सरुवा रोगहरु पुष्टि नभए रोगको इतिहास विश्लेषण गरि सम्भावित संक्रमणको अनुमानमा उपचार गर्ने गरिन्छ। तर यस्तो अवास्थामा द्रुत र सहि संक्रमणको उपचारबाट बिरामी बन्चित हुनसक्दछ। र एन्टीबायोटिकको समेत अनावश्यक प्रयोग हुने गर्दछ।
नेपालमा पछिल्लो समय ज्वरोका बिरामीमा संक्रमण पुष्टि नहुने ट्रेन्ड बढ्दो छ। अझ, पछिल्लो केहि बर्षको तथ्यांक हेर्ने हो भने संक्रमण पुष्टि नभएका ज्वरोका बिरामीहरुको भार बर्षेनी उक्लिदो/बढ्दो र अहिले त अग्रपंतिमा नै पुगेको देखिन्छ।
सन् २००१ मा काठमाडौंमा गरेको एक अनुसन्धानले ज्वरोका बिरामीमा उपियाँबाट सर्ने एक प्रकारको ब्याक्टेरियल संक्रमण 'म्यिउरिन टाइफस' पत्ता लागेको थियो। सो प्रकाशित अनुसन्धानले लक्षणमा 'म्यिउरिन टाइफस' टाइफाइड भन्दा खासै भिन्न नभएको देखाएको थियो।
'म्यिउरिन टाइफस' नियमित प्रयोगशाला परीक्षण अन्तर्गत नपर्ने भएकोले यसको वास्तविक भार/प्रभाव नेपालमा कति होला भनेर यकिन वा अनुमान भने गर्न सकिदैन। यसका लक्षणहरु टाइफाइडसँग मिल्दो जुल्दो हुदा बर्षौदेखि सोहि रोग भनेर संक्रमितहरुको उपचार गरिरहेको हुनसक्दछ।
'म्यिउरिन टाइफस' रिकेटसिया टाइफी नामक ब्याक्टेरियाको कारण हुने गर्दछ। यो संक्रमित 'फ्लि' अर्थात् 'उपियाँ' बाट सर्ने गर्दछ। उपियाँ बिरालो, मुसा जस्ता संक्रमित जनावरहरुलाई टोकेपछि सो उपियाँले मानिसलाई टोक्दा, छाला छुटिएको (स्किन ब्रेक) ठाउँमा दिसा गरिदिदा संक्रमण सर्ने गर्दछ। तर संक्रमण मानिसबाट मानिसमा भने सर्दैन। संक्रमण भएको एकदेखि दुई हप्तामा लक्षणहरु देखा पर्ने गर्दछ।
उच्च ज्वरो आउनु, टाउको, मांशपेशीका र जोर्नी दुख्नु, वाक-वाक वा बान्ता हुनु र लक्षणहरु देखिन थालेको झन्डै ५ दिन तिर शरीरमा बिबिरा देखिनु यसका मुख्य लक्षणहरु हुन। समयमा उपचार नगरिए कलेजो, फोक्सो, मुटु लगाएत विभिन्न अंगहरुमा समेत प्रभाव पार्न सक्दछ। यसको पुष्टि संक्रमण विरुद्ध बन्ने एन्टीबडीको परीक्षण र पीसीआर प्रविधिबाट गर्न सकिन्छ। समयमा पहिचान गर्न सके संक्रमण विरुद्ध एन्टीबायोटिकको प्रयोग गरि पूर्ण स्वास्थ लाभ गर्न सकिने छ।
'म्यिउरिन टाइफस' विरुद्धको खोप हालसम्म उपलब्ध छैन। तसर्थ संक्रमणबाट बच्चनु नै 'म्यिउरिन टाइफस'बाट बच्नु हो। 'म्यिउरिन टाइफस' बाट बच्नु भनेको 'उपियाँ' को टोकाइबाट बच्नु हो। र उपिया को टोकाइबाट बच्नु भनेको मुसाको नियन्त्रण गर्नु हो। तसर्थ सर-सफाईमा ध्यान दिएर मुसा नआउने वातावरण सिर्जना गर्नु पर्दछ।
ज्वरो धेरै संक्रामक रोगहरुको साझा लक्षणको रुपमा लिइन्छ। लक्षणको प्रकृति, संक्रमितको भ्रमण इतिहासबाट संक्रमणको शंका वा सम्भावना अनुमान गर्न सकिन्छ, तर यकिन भने गर्न सकिदैन। काठमाडौंमा गरिएको अनुसन्धानले 'म्यिउरिन टाइफस' संक्रमित ज्वरोका बिरामीको संख्या उल्लेखनीय रहेको देखाएको थियो।
पछिल्लो केहि बर्ष यता मानिसमा सफा पानी प्रति देखिएको सतर्कताको कारणले टाइफाइड जस्ता पानीजन्य संक्रमणको भार/प्रभाव कम हुँदै गइरहेको/जानेछ, तर टाइफाइड जस्तो लक्षण लिएर 'म्यिउरिन टाइफस' जस्ता किटजन्य संक्रामक रोग भने आगामी दिनहरुमा चुनौतीको रुपमा देखिन सक्नेछ। तसर्थ, 'म्यिउरिन टाइफस'लाई पनि नियमित परीक्षणको दाएरामा ल्याउन सके संक्रमितले द्रुत र सहि उपचार पाउने थिए।
-(डा शेरबहादुर पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिट संयोजक हुन्।)