काठमाडौं– आठ अर्ब २० करोड रुपैयाँको स्युडोफ्रिडिन अनियमितता प्रकरणमा औषधि व्यवस्था विभागको भूमिका समेत शंकास्पद देखिएको छ। महान्यायाधिवक्ताको कार्यालयले गरिरहेको छानबिनमा प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरो र औषधि व्यवस्था विभागका अधिकारीहरुको समेत मिलेमतो हुन सक्ने देखिएको हो।
‘ठूलो परिमाणमा कच्चापदार्थ आयात गरेको कम्पनीले त्यसअनुपातमा औषधि उत्पादन गर्योगरेन भनेर निरीक्षण गर्ने काम औषधि व्यवस्था विभागको हो,’ महान्यायाधिवक्ता कार्यालय स्रोतले भन्यो, ‘तर औषधि व्यवस्था विभागका फर्मासिस्टहरुले नक्कली 'ब्याच म्यानुफ्याक्चरिङ नम्बर' (बिएमआर) का आधारमा धमाधम गृह मन्त्रालयलाई थप स्युडोफ्रिडिन आयात अनुमतिका लागि सिफारिस गरेको भेटियो।’
रुघाखोकी लगायतको औषधी निर्माणका लागि कच्चापदार्थको रुपमा प्रयोग हुने स्युडोफ्रिडिनको खुला आयात निर्यातमा प्रतिबन्ध छ। औषधि व्यवस्था विभागको सिफारिसमा गृह मन्त्रालयले स्विकृती दिएपछि मात्रै यो रसायन आयात गर्न पाइन्छ। आवश्यकभन्दा बढी आयात गरी रहस्यमय ढंगले बिक्री-वितरण गर्ने तीन औषधी उत्पादक कम्पनीले स्युडोफ्रिडिन खरिद गरेको भेटिएको हो। त्यसका लागि औषधि व्यवस्था विभागका केही फर्माासिस्टहरुले योजनाबद्ध ढंगले नक्कली बिएमआरका भरमा सिफारिसपत्र बनाइदिएको भेटिएको हो।
स्रोतका अनुसार, वयानका क्रममा औषधि कम्पनीका केही कर्मचारीले इमेलमा पठाएको विवरणका भरमा औषधि व्यवस्था विभागका अधिकारीहरुले अनुमतीपत्र दिने गरेको स्वीकारेका छन्। सरकारी कार्यालयहरुमा आधिकारिक प्रमाणित नभई इमेलमा पठाएको कागजातका आधारमा निर्णय गर्ने व्यवस्था हुँदैन। तर, औषधि व्यवस्था विभागका अधिकारीहरुले भने त्यस्ता कागजातका आधारमा सिफारिस गरेको खुलेको छ।
दुई दिनअघि मात्रै महान्यायाधिवक्ता कार्यालयको छानविन टोलीलाई अनुसन्धानका क्रममा खिचिएको गोप्य भिडियो रेकर्ड गायव भएको सूचना पुगेको छ। उक्त भिडियो रेकर्डमा औषधि कम्पनीका एक कर्मचारीले औषधि व्यवस्था विभागका फर्मासिस्टहरुकै मिलेमतोमा नक्कली बिएमआर सदर हुने र थप कच्चापदार्थ आयातका लागि सिफारिस हुने गरेको स्वीकारेका थिए। तर, मुद्दाको कागजातमा भने यो विवरण गायव बनाइएको छानविन टोलीका एक सदस्यले बताए।
प्रहरी अनुसन्धान अनुसार नक्कली बिएमआरका कारण दुई औषधि उत्पादक कम्पनीले गरेको अवैध आर्थिक कारोवारको परिमाण ६ अर्ब ३० करोड रुपैयाँ पुगेको छ। एसआर फर्मास्युटिकल कम्पनीले तीन वर्षमा २१ सय किलोग्राम स्युडोफ्रिडिन आयात गरेकोमध्ये एक हजार ६ सय ८० किलो दुरुपयोग भएको थियो। प्रहरीले त्यसमा करिव तीन अर्ब ४० करोड रुपैयाँ अनियमितता भएको दाबी गरेको छ।
ललितपुरमा रहेको आर्या फर्मास्युटिकल्सबाट करिव दुई हजार चार सय ५० किलो स्युडोफ्रिडिन दुरुपयोग भई करिब एक अर्ब ९० करोड रुपैयाँ अबैध रुपमा लागूऔषध कारोबारमा प्रयोग भएको प्रहरीले बताएको छ। धादिङको टोरस फर्मास्युटिकलबाट तीन वर्षको अवधिमा एक हजार सात सय किलोग्राम स्युडोफिड्रिन दुरुपयोग भई सञ्चालकहरुले करिब दुई अर्ब ९० करोड रुपैयाँ अवैध आर्जन गरेको प्रहरीले तयार पारेको प्रतिवेदनमा उल्लेख छ।
तीन वर्षको अवधिमा तीन फर्मास्युटिकल कम्पनीहरुबाट नक्कली बिएमआरका कारण मात्रै आठ अर्ब २० करोड रुपैयाँको अवैध कारोबार भएको देखिन्छ। फर्मास्युटिकल कम्पनीहरुले यति ठूलो परिमाणमा अवैध कारोबार गर्नुमा औषधि व्यवस्था विभागको नियमन अत्यन्त फितलो देखिएको र त्यसमा कतिपयको मिलेमतो हुनसक्ने छानविन टोलीको आशंका छ।
स्युडोफ्रिडिनको मुद्दामा मिलेमतो गरेको आरोपमा सरकारले दुईजना सरकारी वकिलहरुलाई निलम्बन गरिसकेको छ। सरकारी वकिलहरु टेक घिमिरे र दयाशंकर अधिकारीमाथि छानबिन गर्न सचिवद्वय बद्रीनाथ गौतम र किरण पौडेलको नेतृत्वमा दुई सह–सचिव रहेको छुट्टाछुट्टै समिति गठन भएको छ। समितिले लागूऔषध मुद्दामा सरकारी वकिलका साथै प्रहरीको लागूऔषध नियन्त्रण ब्युरो र औषधि व्यवस्था विभागले गरेको सिफारिसको पनि अध्ययन गर्ने जनाइएको छ।
यसरी पहिलोपटक पक्राउ परेका थिए स्युडोफ्रिडिन तस्कर
प्रहरीले स्युडोफ्रिडिन हालेर बनाइएको रुघाको औषधि अत्याधिक मात्रामा नेपालबाट चीन लैजाँदै गरेका चीनियाँ नागरिकहरुमाथि अनुसन्धान गर्दा स्युडोफ्रिडिनको तस्करी हुने गरेको खुलेको हो।
२०७० को कात्तिक ६ गते प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले १५ किलो रुघाको औषधि बोकेर चीन जान लागेका तीन जना चिनियाँ नागरिकलाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरेको थियो। ब्युरोबाट खटिएका प्रहरीले एयरपोर्टबाट याङ चेङ्क्वेन, याङ मुच्याङ र जेङ सु मिङलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्दा रुघाको औषधिबाट स्युडोफ्रिडिनको तस्करी हुने गरेको खुलेको हो।
रुघाका यस्ता औषधिमा स्युडोफ्रिडिनको मात्रा करिब आधाआधी जस्तो हुन्छ। लागुऔषधिका तस्करले घरेलु प्रविधिबाट सहजै चक्कीको स्युडोफ्रिडिन अलग गर्न सक्छन्। उनीहरुले औषधिबाट निकालेको स्युडोफ्रिडिनलाई ‘पार्टी ड्रग्स’ भनेर चिनिने मेथाफेडामाइन (आइस ड्रग्स) बनाउँदै बिक्री गर्ने गरेको प्रहरी अनुसन्धानमा भेटिएको छ। प्रहरीका अनुसार स्युडोफ्रिडिनयुक्त आइस ड्रग्सले प्रयोगकर्तामा भ्रम (इलुजन) पैदा गराउँछ। त्यसले मानिसको मस्तिष्क र केन्द्रीय स्नायु प्रणालीमा प्रत्यक्ष असर गर्छ। यसको असर गम्भीर हुनाले यसको प्रयोगमा अमेरिका र भारतमा समेत कडाइ गरिएको छ।
कति हुन्छ स्युडोफ्रिडिन आयात
औषधि व्यवस्था विभागकै तथ्यांकअनुसार नेपालका औषधि उत्पादकले वार्षिक ६ हजार किलो स्युडोफ्रिडिन मगाउँदै आएका छन्। नेपाल भित्रिएको स्युडोफ्रिडिनको यो परिमाण अनुसार वार्षिक ७ करोडभन्दा बढी चक्की औषधि उत्पादन भइरहेको छ। नेपालको जनसंख्याका तुलनामा यो परिमाण दोब्बरभन्दा बढी हो।
तथ्यांक अनुसार नेपालमा सन् २००८ मा चार सय ७५ किलो स्युडोफ्रिडिन आयात भएको थियो। जसबाट ५५ लाख ट्याब्लेट औषधि उत्पादन हुन्छ। सन् २०१२ मा यो परिमाण बढेर ६ हजार एक सय २५ किलो पुग्यो जसबाट सात करोड ट्याब्लेट उत्पादन हुन सक्छ। त्यसयता हरेक वर्ष स्युडोफ्रिडिनको आयात बढाउँदै लगिएको छ। यसरी अत्याधिक मात्रामा नेपाल भित्रिएको स्युडोफ्रिडिनमध्ये करिब ६० प्रतिशत औषधि बनाउन र बाँकी लागूऔषध तस्करहरुलाई बिक्री गरिने गरेको आंशाका छ।