काठमाडौं– ‘कमाउन सक्ने भएको छोरो त्यही एउटा थियोे, ऊ पनि मरुभूमिमै अस्तायो,’ लामो सुस्केरा हाल्दै बुद्धमानले पीडाको पोयो खोले।
ताप्लेजुङका बुद्धमान लिम्बुका छोरा मनोज दुई वर्षअघि मात्रै वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका थिए। आफ्नै काका र ५ साथीहरुसँगै उनी मलेसिया गएका थिए। एउटै कम्पनी (मिठाइ फ्याक्ट्री)मा काम गर्थे। बस्न पनि सबै जना एउटै डेरामा बस्दै आएका थिए।
सो कम्पनीको आधारभूत तलब १५ सय रिङ्गेट थियो। मनोजले ओभर टाइमसम्म काम गर्दा मासिक नेपाली ८० देखि ९० हजारसम्म कमाइ हुने गरेको थियो।
‘त्यहाँ कमाएको आफूलाई खर्च गरेर बाँकी रकम घरमा मलाई पठाउँथ्यो। मैले केही घरखर्च छुट्याएर बैंक खातामा जम्मा गरिदिन्थेँ,’ उनले भने।
गत फागुनमा मनोज मलेसियामै अस्ताए भन्ने खबर पाए बुद्धमानले। तर सुरुमा पत्याएनन्। जबदेखि पत्याए, त्यो दिनदेखि आँखा ओभाउन सकेका छैनन्। सुन्दर सपना बोकेर मलेसिया पुगेको छोरो २२ वर्षकै उमेरमा परलोक भयो। छोराको कुरा निस्किँदा उनै अझै पनि भक्कानिन्छन्।
छोरोको मृत्युको खबर आउँदा मध्यरातको समय थियो। ‘खाना खाएर पल्टिएका मात्र थिए। एक्कासि के भयो–भयो। दाजु, मनोजले संसार छोड्यो,’ मध्यरातमा मलेसियाबाट बुद्धमानका भाइले फोनमा भनेका थिए।
‘त्यो खबर सुनेर म अर्धचेतमा पुगेँ। त्यसपछि के भयो थाहा भएन। श्रीमती र छोराहरुले हल्लाखल्ला गरेकाले छरछिमेकी जम्मा भइसकेछन्,’ उनी सुनाउँछन्।
दिउँसो काममा जाने बेला मनोजले काकालाई भनेका थिए रे, ‘तपाइँ खाना मात्रै बनाउनु। म आफैँ आएर सब्जी बनाउँछु।’
‘शिवरात्रिको दिन भएकाले लोकल कुखुरा ल्याएर पकाएछ। सँगै कोठामा बस्ने ६ जनाले नै एकैसाथ खाना खाएछन्। पछि बिछ्यौनामा पल्टिएको बेलामा टाउको झुण्डिएको साथीले देखेछ। के भयो भनेर बोलाउँदा सास नै नचलेको भेटिएछ,’ उनी सुनाउँछन्।
सास नै नचलेपछि मनोजका साथीहरुले अस्पताल लगेछन्। अस्पतालले हृदयाघात भएर मृत्यु भइसकेको घोषणा गर्यो। त्यसपछि मनोजका काकाले उसको मृत्यु भएको खबर आफूलाई फोन गरेर भनिदिएको बुद्धमान सुनाउँछन्।
नेपाल हुँदा मनोजलाई कुनै रोग नदेखिएको बुवा बुद्धमान सुनाउँछन्। ‘हट्टाकट्टा थियो। कुनै रोग लागेको थिएन। बित्नुभन्दा १५ दिनअघि मेडिकल गरेको भन्थ्यो। त्यो बेला पनि कुनै रोग देखिएको रहेनछ,’ उनले भने।
‘अहिले ओभरटाइमा काम छैन। बेसिक स्यालरी १५ सय रिङगेट मात्रै छ। ओभर टाइम गर्न पाए राम्रो कमाइ हुने थियो,’ मनोजले हृदयाघात हुनु दुई दिनअघि मात्रै बुवा बुद्धमानसँग फोनमा भनेका थिए।
‘कमाइ भएन भनेर चिन्ता नगर्नु, बरू आफ्नो स्वास्थ्यको ख्याल गर्नु’ बुद्धमानले फोनबाटै सम्झाएका थिए।
मनोजले सानै उमेरदेखि गाउँमा ट्याक्टरको सहचालकको रूपमा काम गरे। त्यही बेला उनले ट्याक्टर चलाउन सिकेका थिए। उमेर पुगेपछि ड्राइभर नै बने। आफ्नै गाउँमा ट्याक्टरमा गिटी–बालुवा बोक्ने काम गर्थे। ओभरटाइम काम गरेर मासिक २० हजार कमाइरहेकै थिए।
बुवा बुद्धमान पनि ज्यामी कामबाट दैनिक ७ सय रुपैयाँ कमाउँथे। जसरी–तसरी जीविकोपार्जन चलेकै थियो। तर मनोज विदेश गएर राम्ररी कमाइ हुने आशाले आफ्नै काका र साथीहरुसँगै वैदेशिक रोजगारीका लागि मलेसिया उडेका थिए।
मनोजको मृत्यु भएको एक हप्तापछि बुद्धमानले शव नेपाल झिकाए, आफ्नो परम्परा अनुसार अन्त्येष्टि गरे। त्यसको ३५ दिनमा उनले वैदेशिक रोजगार बोर्डमा आर्थिक सहायताको लागि निवेदन दिए। निवेदन दिएको एक सातामा उनको बैंक खातामा ७ लाख रुपैयाँ जम्मा भयो। सो रकम मनोजको हृदयाघातका कारण विदेशमा मृत्यु भएकाले परिवारले पाउने आर्थिक सहायता वापतको रकम थियो।
रकम प्राप्त गरे पनि कमाउने उमेर पुगेको छोरा गुमाउँदा आफू र आफ्नो परिवारलाई परेको गहिरो चोट कहिल्यै निको हुन नसक्ने बुद्धमान सुनाउँछन्।
‘सरकारले यसरी विदेशमा मृत्यु भएका परिवारलाई पैसा दिने व्यवस्था ल्याएको छ। यो एक हिसाबले राम्रो हो। तर यो व्यवस्थाको सट्टा युवाहरूलाई आफ्नै देशमा रोजगारी दिए राम्रो हुन्थ्यो। मेरो छोरा जस्ता लाखौँ युवा रगत पसिना बेच्नका लागि विदेशिनु पर्दैनथ्यो र यसरी अर्काको देशमा ज्यान गुमाउनु पर्दैनथ्यो,’ बुद्धमान गुनासो पोख्छन्।
यो वैदेशिक रोजगारीमा हृदयाघातका कारण ज्यान गुमाउनेको यो एउटा उदाहरण मात्र हो। वैदेशिक रोजगारीमा यसरी वार्षिक २ सयको हाराहारीमा नेपाली कामदारले ज्यान गुमाएको तथ्यांक स्वास्थ्य खबरपत्रिकाले प्राप्त गरेको छ।
हृदयाघातका कारण वार्षिका २ सयले परदेशमा गुमाउँछन् ज्यान
वैदेशिक रोजगारीमा जानेको संख्या बढेसँगै विदेशमा नेपालीको हृदयाघातका कारण मृत्य हुनेको संख्या भयाबह बन्दै गएको तथ्यांकले देखाउँछ। वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारमध्ये वार्षिक दुई सयको हाराहारीका हृदयाघातबाट मृत्यु हुने बोर्डको तथ्यांकमा उल्लेख छ। वैदेशिक रोजगारीमा रहेका कामदारका आफन्तले बोर्डमा निवेदन दिएका आधारमा यो तथ्यांक आएको हो। तर कतिपय कामदार हृदयाघातका कारण ज्यान गुमाए पनि बोर्डमा निवेदन दिन नआउने बोर्डका प्रवक्ता टीकाराम ढकाल बताउँछन्।
आर्थिक वर्ष २०६५/०६६ सालदेखि यता (चालू आर्थिक वर्षकको वैशाख दोस्रो सातासम्म (१६ वर्ष) २ हजार ५०१ जना नेपाली कामदारले हृदयघातका कारण ज्यान गुमाएका छन्।
आर्थिक वर्ष २०६५/०६६ सालमा विदेशमा हृदयघातका कारण मृत्यु हुनेको संख्या २३ रहेको छ। आर्थिक वर्ष २०६६/०६७ मा वैदेशिक रोजगारीमा रहेका नेपाली हृदयघातका कारण हुने मृत्युदर ह्वात्तै बढेको बोर्डको तथ्यांकले देखाएको छ।
आर्थिक वर्ष २०६६/०६७ मा १२०, २०६७/०६८ मा १४९,२०६८/०६९ मा १७४ जना नेपाली कामदारले हृदयाघातका कारण ज्यान गुमाएका थिए। फेरि आर्थिक वर्ष २०६९/०७० मा मृत्यु हुनेको संख्या केही मात्रामा घटेको तथ्यांकले देखाएको छ। सो वर्ष १४६ जनाको हृदयाघातका कारण मृत्यु भएको तथ्यांकमा उल्लेख छ।
सो वर्षपछि हृदयाघातका कारण मृत्यु हुनेको संख्या दोब्बर/तेब्बरले बढेको देखिन्छ। आर्थिक वर्ष २०७०/०७१ मा हृदयाघातका कारण मृत्यु हुनेको संख्या २६६, २०७१/०७२ मा ३५८, २०७२/०७३ मा २४५ जना वैदेशिक रोजगारीमा रहेका नेपालीको हृदयघातका कारण मृत्यु भएको छ। त्यसपछि क्रमशः मृत्यू हुनेको संख्या न्यून रूपमा घटेको तथ्यांकले देखाउँछ।
यस्तै आर्थिक वर्ष २०७३/०७४ मा १५५, २०७४/०७५ मा १८६, २०७५/०७६ मा १२०,२०७६/०७७ मा १०४, २०७७/०७८ मा १०७, २०७८/०७९ मा ९७ र २०७९/०८० मा ११५ जना नेपाली कामदारले हृदयाघातका कारण ज्यान गुमाएका छन्।
पछिल्लो समय ३० वर्षदेखि माथि ५० वर्ष मुनिका मानिसहरूमा हृदयाघातको कारण हुने मृत्यु एकदमै उच्च रहेको मुटुरोग विशेषज्ञ ओममूर्ति अनिल बताउँछन्। पछिल्लो समय युवाहरूले सूर्तिजन्य पदार्थ र मदिरा सेवन गर्नाले हृदयाघात हुने उनको भनाइ छ। यस्तै विदेशमा समयमा स्वास्थ्य परीक्षण तथा उपचार नगराउँदा र अस्वस्थ्य खानपानका कारण यस्तो समस्या आएको उनी बताउँछन्।

साढे ९ महिनामा हृदयाघातबाट १३६ जनाले गुमाए ज्यान, धेरैजसो खाडी मुलुकमा
चालु आर्थिक वर्ष २०८०/०८१ को साउन महिनादेखि वैशाखको दोस्रो सातासम्म (साढे ९ महिना) वैदेशिक रोजगारीमा रहेका १३६ जना नेपालीको हृदयाघातका कारण मृत्यु भएको छ। तीमध्ये हृदयाघातका कारण ज्यान गुमाउनेको संख्या धेरैजसो खाडी मुलुकमा रहेको बोर्डको तथ्यांकले देखाएको छ।
मुटुरोग विशेषज्ञ डा अनिल खाडी मुलुकमा काम गर्ने नेपालीहरू धेरै संख्यामा हृदयाघातका कारण मृत्यु हुनुको मुख्य कारण अत्यधिक तापक्रममा काम गर्ने तर पानी कम पिउने रहेको बताउँछन्। प्रायजसो खाडीमा काम गर्ने नेपालीहरूले गुणस्तरहीन मदिरा सेवन गर्दा हृदयाघात हुने गरेका उदाहरण आफूले प्राप्त गरेको बताउँछन्।
हृदयाघातका कारण मृत्यु हुनेमा सबैभन्दा बढी युनाइटेड अरब इमरेट्स (यूएई) मा नेपालीको मृत्यु हुने गरेको बोर्डको तथ्यांकले देखाउँछ। यूएईमा हृदयाघातका कारण ३६ जनाको मृत्यु भएको छ। दोस्रोमा कतार रहेको बोर्डको तथ्यांकले देखाउँछ। मलेसियामा हृदयाघातका कारण मृत्यु हुनेको संख्या ३० रहेको छ।
यस्तै साउदी अरेबियामा १५ कुवेतमा १२ जना, बहराइनमा ६ जापानमा २ र इजरायल, रोमानिया, अफगानिस्तानमा १/१ जनाको हृदयाघातका कारण मृत्यु भएको बोर्डको तथ्यांकमा उल्लेख छ।
हृदयाघात भएर मृत्यु हुने सबैभन्दा बढी कुन देशमा?

हृदयाघातका कारण विदेशमा मृत्यु हुने संख्यामा सबैभन्दा धेरै झापा
चालु आर्थिक वर्ष २०८०/०८१ को साउन महिनादेखि वैशाखको दोस्रो सातासम्म वैदेशिक रोजगारीमा गएका ४५ जिल्लाका युवाहरूले हृदयाघातका कारण ज्यान गुमाएका छन्। ज्यान गुमाउनेमध्ये सबैभन्दा धेरै झापाका रहेका छन्। झापाका १४ जना नेपालीले हृदयाघातका कारण विदेशी भूमिमा ज्यान गुमाएका हुन्। यस्तै दोस्रोमा धनुषाका ८ जना मोरङ, सर्लाही, कास्कीका ७/७ जनाले ज्यान गुमाएको बोर्डको तथ्यांकमा उल्लेख छ।
कुन जिल्लाका कति?

महिलाभन्दा किन पुरुष बढी?
चाल वर्षको वैशाख दोस्रो सातासम्ममा वैदेशिक रोजगारीमा रहेका नेपालीमध्ये महिलाभन्दा ४४.३३ गुणा बढी पुरूषले हृदयाघातका कारण ज्यान गुमाएको बोर्डको तथ्यांकले देखाएको छ।
चालु आर्थिक वर्षको साउनदेखि वैशाखको दोस्रो सातासम्म हृदयाघातका कारण मृत्यु हुने पुरूषको संख्या १३३ रहेको छ भने महिलाको संख्या ३ छ। नेपालबाट वैदेशिक रोजगारीमा महिलाको तुलनामा धेरै संख्यामा पुरूषहरू जाने भएकाले मृत्यु हुनेको संख्या पनि बढी भएको यो तथ्यांकले देखाएको छ।
पुरूषको तुलनामा महिलामा एकदमै थोरै मात्रामा मुटुमा समस्या हुने विभिन्न अध्ययनले नै देखाएको मुटुरोग विशेषज्ञ डा ओममूर्ति अनिल बताउँछन्। तर वैदेशिक रोजगारीका लागि विदेशिएक नेपाली कामदारमध्येमा पुरुषको तुलनामा महिलाको मृत्यु कम हुनुको पहिलो कारण विदेश जानेमा महिलाभन्दा पुरूषको संख्या धेरै ठूलो रहेको उनको भनाइ छ।
‘दोस्रो कारण धूमपान र मदिरा सेवन पुरुषभन्दा महिलाले थोरै गर्छन् र महिलाको घर भित्रको काम बढी हुन्छ। कमै मात्रामा मदिरा सेवन गर्ने भएकाले पनि हृदयाघात कम हुने हुन्छ,’ उनले भने।

४ करोड ८० लाख बराबर आर्थिक सहायता
चालु आर्थिक वर्षको दोस्रो सातासम्म वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारको हृदयाघातका कारण मृत्यु हुँदा बोर्डले ४ करोड ८० लाख ७५ हजार रुपैयाँ बराबरको आर्थिक सहायता मृतकको नजिकको हकवालालाई प्रदान गरेको छ। जसमध्ये ६८ जना मृतक कामदारका हकवालले ७ लाखका दरले रुपैयाँ प्राप्त गरेका छन्। यस्तै १९ जना मृतकका हकवाललाई २५ हजार रुपैयाँ आर्थिक सहायता प्रदान गरेको छ भने ५८ जना मृतकका हकवालाले आर्थिक सहायता पाउन बाँकी रहेको बोर्डको तथ्यांकमा उल्लेख छ।
कसरी पाउँछन् हकवालाले आर्थिक सहायता?
वैदेशिक रोजगारीमा रहेका कामदारको हृदयाघातका कारण मृत्यु भएमा स्थानीय तहमार्फत वा बोर्ड सचिवालयमा हकवालाले निवेदन दिनुपर्ने हुन्छ। आवश्यक कागजात साथ प्राप्त निवेदन तहगत रुपमा चेक जाँच गरी बोर्ड सचिवालयले हकवालाको बैंक खातामा आर्थिक सहायता रकम सिधै जम्मा गरिदिने बोर्डका प्रवक्ता ढकाल बताउँछन्।
जसका लागि मृतकको पासपोर्टको प्रतिलिपि (पासपोर्टमा प्रस्थान आगमनको छाप लागेको पृष्ठको प्रतिलिपि), नागरिकताको प्रतिलिपि बिरामी परिवारको सदस्यको नागरिकताको प्रतिलिपि, स्थानीय तहबाट सिफारिसपत्र, कामदार र मृतक/बिरामी परिवारको सदस्यबीच नाता प्रमाणपत्र, नेपालको मान्यताप्राप्त अस्पतालमा पछिल्लो पटक चेकजाँच गराएको प्रमाण (मेडिकल रिपोर्ट प्रेस्क्रिप्सन) र क वर्गको वाणिज्य बैंकको खाता नम्बर प्रमाणित हुने कागजात बुझाउनुपर्ने हुन्छ।
निवेदन दिएको एक हप्तामा आर्थिक सहायता बोर्डले दिने प्रवक्ता ढकालको भनाइ छ। निवेदन परेपछि मृतकको करार अवधिमा विदेशमै मृत्यु भएमा वा नेपाल आएको एक वर्ष भित्र मृत्यु भएमा हकवालाले ७ लाख रुपैयाँ आर्थिक सहायता प्राप्त गर्नेछन्।
करार अवधि सकिएपछि आर्थिक सहायता वापत २५ हजार रुपैयाँ हकवालाले पाउनेछन्। उक्त रकम बोर्डले हकवालाको खातामा जम्मा गरिदिने उनको भनाइ छ।
हृदयाघात भएर मृत्यु नभई अंगभंग भएमा आर्थिक सहायता पाउन सकिने व्यवस्था रहेको उनी बताउँछन्।
वैदेशिक रोजगारीमा गएकाहरुको हृदयाघातबाट मृत्यु हुने कारण

डा ओममूर्ति अनिल, मुटु रोग विशेषज्ञ
पछिल्लो समय ३० वर्षदेखि माथि ५० वर्ष मुनिका मानिसहरूमा हृदयाघातको कारण हुने मृत्युदर एकदमै उच्च छ। नेपालमै हृदयाघातका कारण मृत्यु हुने प्रमुख कारणमा हेर्ने हो भने सुर्ती, चुरोटको सेवन, त्यसपछि कोलेस्ट्रोल, प्रेसर, सुगरका कारण ५० वर्ष मुनिका मानिसहरूमा हृदयघात हुने विभिन्न अध्ययनहरूले देखाएका छन्। यही उमेरका मानिस नै रोजगारीका लागि विदेश जान्छन्। उनीहरू विदेश गएपछि चुरोट खान छाड्दैनन्। चुरोट खाँदा कोलेस्ट्रोल बिग्रिन्छ। यस कारण हृदयाघात हुने सम्भावना धेरै छ।
अहिले नेपालीहरूको खानपान शैली बिग्रिएको छ। वैदेशिक रोजगारीमा गएका नेपालीको खानपान शैली झनै बिग्रिन्छ। उनीहरू कामको प्रेसर हुने भएकाले खानपानको समय पनि मिल्दैन। जीवनशैली बिग्रिएको छ। तनाव धेरै हुन्छ भने मानिसलाई मुटुको समस्या हुने नै भयो।
चुरोट खान छाडेको छैन, जीवनशैली पनि राम्रो छैन, तनाव धेरै छ र कोलेस्ट्रोल भयो भने कतिपय खाडी मुलुकमा चेकअप हुँदैन। ब्लडप्रेसर र कोलेस्ट्रोलको नियमित चेकजाँच नभएपछि ब्लडप्रेसर बढे पनि औषधि सेवन सुरु गरेका हुँदैनन्। उपचार गराउन ढिलो गर्दा पनि हृदयाघात हुने सम्भावना उच्च हुन्छ।
कुनै कम्पनीमा काम गर्ने कामदारको कम्पनीले बीमा गरिदिन्छ। कम्पनीले बीमा गरेको भए उपचार गराउन बेलाबेलामा चेकजाँच गराउन सहज हुन्छ। औषधि पनि किन्नु पर्दैन, निःशुल्क पाउँछन्। तर अधिकांश कम्पनीले बीमा गरिदिँदैनन्। एक त खाडीमा नेपाली श्रमिकको पारिश्रमिक पनि थोरै छ। कम्पनीले बीमा नगरिदिएपछि चेकजाँच गराउँदैनन्। रोग छ तर खर्च हुन्छ भनेर औषधि उपचार गराउँदैनन्, यस्ता कारणले हृदयाघात हुने गर्छ।
यस्तै खाडी मुलुकमा जानेहरूले सस्तो मूल्यमा पाइने अवैधानिक मदिरा पिउँछन् र त्यसले गर्दा पनि हृदयाघात हुन्छ। यस्तै अत्यधिक गर्मीमा काम गर्दा मुटुमा असर पुग्न सक्छ।
अत्यधिक गर्मीमा काम गर्ने तर पानी कम पिउने गर्दा पहिलादेखि मुटुमा सामान्य समस्या छ भने पनि बढ्न सक्छ।
प्रतिकुल परिस्थितिमा काम गरिरहेका युवाहरूमा अचानक स्वास्थ्यमा अनेक समस्या आउन सक्छ। वातावरण, मानसिक अवस्था, आर्थिक अवस्था र स्वास्थ्यको दृष्टिकोणले पनि विदेश गएर काम गर्नु भनेको हाम्रो प्रतिकुल परिस्थिति हो। जसका कारण जुन किसिमका रोगहरू र खासगरी नसर्ने रोगहरू लाग्ने सम्भावना बढ्छ।
विदेशमा मान्छेहरू धूमपान र मदिरा सेवन गर्न छाड्दैनन्। विदेश जाने युवाहरूलाई सबैभन्दा पहिला धूमपान र मदिरा सेवन गर्न छाडिदिन सुझाव दिन्छु। जसले विदेश गएपछि हुने दुर्घटनाबाट बचाउँछ।
कुनै पनि बिरामी घरमै मृत्यु भएर अस्पताल पुर्याउँदा अस्पतालले मृत्यु घोषणा गर्छ। मदिरा होस् वा उच्च रक्तचाप, अस्पतालले पोष्टमार्टम नगरी कार्डियाक्यारेस्ट भनेर लेखिदिँदो रहेछ। त्यसैले विदेशमा हृदयाघातका कारण मृत्यु हुनेको संख्या बढ्दो देखिएको छ। यो मलाई विदेशमा बस्ने एक व्यक्तिले भनेको आधारमा यहाँ उल्लेख गरेका हुँ।
कसरी बच्ने हृदयाघातबाट?
वैदेशिक रोजगारीमा जाने युवाहरूले राम्ररी आफ्नो स्वास्थ्यको चेकजाँच गरेर मात्र जानुपर्छ। कुनै म्यानपावर कम्पनीले गरिदिने सामान्य चेकजाँच मात्रै हुन्छ। त्यस कारण आफ्नो स्वास्थ्यमा समस्या छ भने राम्ररी चेकजाँच गर्नुपर्छ।
नेपालमा धूमपान तथा मदिरा सेवन गरिरहेको छ भने विदेश जाँदा छाड्नु पर्छ। त्यसपछि विदेश पुगेपछि पनि आफ्नो स्वास्थ्यको लागि बेला–बेलामा ब्लड प्रेसर, सुगर, कोलेस्ट्रोल चेकजाँच गराउने गर्नु पर्छ। त्यसपछि डाक्टरको सल्लाह अनुसार औषधि सेवन गर्न सकिन्छ। जतिसक्दो तनाव कम लिने बानी बसाल्नु पर्छ। आफ्नो खानपान शैलीलाई पनि स्वास्थ्यमा लाभ पुग्ने हिसाबमा बदल्नु पर्छ। मुटुसँग सम्बन्धित रोग छ भने नियमित रूपमा औषधि सेवन गर्नु आवश्यक छ।