काठमाडौँ
– चीनमा वायु प्रदूषणको मात्रा डरलाग्दो स्थितिमा पुगेपछि लाखौँ मानिस सहर छाडेर अन्यत्र जान वाध्य भए । विश्व स्वास्थ्य संगठनका अनुसार चीनको बेजिङमा धुलोको कण पिएम २ दशमलब ५ को मात्रा ८५ माइक्रोग्राम÷घनमिटिर रहेको छ। जबकि मापदण्ड अनुसार यसको मात्र १० माइक्रोग्राम/घनमिटिरसम्म हुनुपर्ने थियो।
– भारतको दिल्लीमा पिएम २ दशमलब ५ को मात्रा १२२ माइक्रोग्राम÷घनमिटिर छ। प्रदूषणको मात्रा बढ्दै गएपछि दिल्लीमा डिजेलको प्रयोगलाई कम गर्ने, प्लास्टिक तथा फोहोरलाई जथाभावि जलाउन निषेध गर्ने लगायतका कार्यक्रम अगाडि बढाएको छ।
– काठमाडौँमा धुलोको कण पिएम २ दशमलब ५ को मात्रा ४९ माइक्रोग्राम/घनमिटिर छ । यो मापदण्डभन्दा पाँच गुणा बढी हो । सरकारले प्रदूषण नियन्त्रणका लागि ठोस कदम नचलाल्दा यो मात्रा झन् बढ्दो क्रममा छ।
विश्व स्वास्थ्य संगठनका अनुसार हावामा मिसिएका धुलोका २ दशमलव ५ माइक्रोनभन्दा कम व्यास भएका मसिना कणहरुलाई पिएम २ दशमलब ५ भनिन्छ । यस्ता धुलोको कण नाकको रौँंले समेत रोक्न सक्दैन । मानिसको कपालको रौँको मोटाइ ५० माइक्रोन हुन्छ । कपालको मोटाइभन्दा पनि निकै साना आँखाले समेत देख्न नसक्ने धुलोका यस्ता कणहरु सोझै श्वासप्रश्वासका क्रममा फोक्सामा पुगेर टाँसिने गर्दछ । यस्ता धुलोका कणमा सवारी साधनको धुँवा सहज रुपमा टाँसिने हुँदा झन् खतरा बढेको छ । शरीरको अक्सिजन आवश्यकता पूरा गर्नका लागि हामी हरेक दिन करिब २२ हजार पटक सास फेर्छौं र यसका लागि करिब २५ किलो हावा चाहिन्छ । त्यही हावामा प्रदूषणको मात्रा प्रचुर भए पनि मानिसको स्वास्थ्य स्वतः बिग्रिन्छ ।
वातावरणविद् भुषण तुलाधरका अनुसार धुलोका कणलाई पिएम २ दशमल ५ र पिएम १० मा मापन गरिन्छ । पिएम २ दशमलब ५ भन्दा पिएम १० केही ठूला कण हुन् तर यी कणलाई समेत मानिसको नाकको रौँले रोक्न सक्दैन । यस्ता कणमा स्वास्थ्यलाई गम्भीर असर गर्ने पोलिसाइक्लिक एरोमेटिक हाइड्रोकार्वन जस्ता विषालु रसायनिक पदार्थ र गह्राैँ धातुका कणहरू टाँसिएर रहेका हुन्छन् । जुन श्वासप्रश्वासका क्रममा सोझै फोक्सोमा पुग्ने गर्छन् । लामो समयसम्म यस्ता पदार्थको सम्पर्कमा रहने व्यक्तिमा श्वासप्रश्वासका सामान्यदेखि सिओपिडीजस्ता कडा रोग लाग्ने तथा फोक्सोमा क्यान्सर उत्पन्न हुन सक्छ । साथै ती कण फोक्सोबाट रगतमा मिसिएर मुटुसम्म पुग्ने र त्यसले मुटुका रोगसहित स्नायुप्रणालीमा समेत गम्भीर असर पुर्याउने गर्छ। अाम मानिसमा धुलोले श्वासप्रश्वासका रोग मात्र लाग्छ भन्ने भ्रम छ। तर धुलोले शरिरका महत्वपूर्ण अगहरुमा गम्भिर असर गरिरहेको छ।
अमेरिकामा भएको एक अध्ययन अनुसार हावामा पिएम २ दशलमब ५ को मात्रा १० माइक्रोग्राम प्रतिघनमिटरले वृद्धि भएमा क्यान्सर हुने सम्भावना ८ प्रतिशतले बढ्छ । यस्तै, मुटु रोगका कारण हुने मृत्युदर ६ प्रतिशतले बढ्छ भने कुल मृत्युदरमा ४ प्रतिशतले वृद्धि हुन्छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१५ मा गरेको अध्ययनले काठमाडौँका हावामा भेटिएका धुलोका यस्ता मसिना कणलाई बजारमा पाइने कपडाका मास्कले समेत छेक्न नसकेको देखाएको थियो । परिषद्ले धुलोको कणबाट जोगिन कम्तिमा सर्जिकल मास्क वा एन ९५ भन्ने विशेष खालको मास्क प्रयोग गर्न सुझाब दिएको छ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले सन् २०३० सम्ममा प्रदूषणका कारण श्वासनली साँघुरिने रोग सिओपिडी विश्वभरमा हुने कुल मृत्युको तेस्रो कारण हुने अनुमान गरेको छ । संगठनले प्रदूषण घटाउन विश्व समुदायसँग आग्रहसमेत गरेको छ । संगठनको आग्रहपछि विश्वका धेरै राष्ट्रले प्रदूषण नियन्त्रणका लागि आवश्यक कदम चालिसकेका छन्।
तर, नेपालमा भने डब्लुएचओको चेतावनी विपरित प्रदूषण बढाउने काम भइरहेको छ । काठमाडौँ उपत्यकामा सडक विस्तार तथा मेलम्ची खानेपानीको पाइप बिच्छ्याउने नाममा प्रदूषण नियन्त्रणका सामान्य उपायलाई समेत बेवास्ता गर्दै बुङ्बुङ्ती धुलो उडाउने काम भइरहेको छ । प्रदूषण नियन्त्रणका लागि निर्माण क्रममा धुलो उड्न नपाओस् भनेर नियमित पानी हाल्नुपर्ने हुन्छ । तर, ठेकेदारले आफ्नो यो जिम्मा पूरा नगर्दा सडकमा दिनभरि धुलो मडारिइरहन्छ । त्यसमाथि सवारीसाधनले धुँवाको मुस्लो फाल्दै उक्त धुलोलाई कुइरीमण्डलमा परिणत गराइदिन्छ।
काठमाडौँका सडक विस्तार हुनुअघि वातावरण मन्त्रालयले सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार काठमाडौँको प्रदूषण बढाउनेमा धुलोको योगदान २५ प्रतिशत थियो । त्यसयता यो विषयमा अनुसन्धान भएको छैन । तर, पछिल्ला दिनमा सडक विस्तार तथा मेलम्चीको पाइप बिच्छ्याउने नाममा सडक खनेर जथाभावी छाड्ने गर्दा प्रदूषणमा धुलोको मात्रा बढेर ३० प्रतिशतभन्दा माथि पुगेको अनुमान गरिएको छ।
डरलाग्दा डिजेलका गाडी
वातावरण मन्त्रालयको प्रदूषण सम्बन्धी प्रतिवेदन अनुसार काठमाडौँको प्रदूषणको प्रमुख स्रोत सवारीको धुँवा नै हो । ‘डिजेलबाट चल्ने सवारी साधनहरूको धुवाँ एकदमै खतरनाक हुन्छ । धुवाँमा मसिना धुलोका कणहरू अत्याधिक पाइन्छ र यी कणहरुमध्ये ९० प्रतिशत जति एक माइक्रोनभन्दा मसिना हुन्छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘डिजेलको धुवा“मा यस्ता धुलाका कणहरू पेट्रोलको धुवाँको तुलनामा एक सय गुणा बढी हुन्छ । यस्तो धुलोका कणहरूले मान्छेको फोक्सोमा क्यान्सर निम्त्याउन सक्छन् ।’
प्रतिवेदनमा सन् १९९७ मा जापानी वैज्ञानिकहरूले क्यान्सर रोग निम्त्याउन सक्ने अहिलेसम्म पत्ता लागेका रसायनहरूमध्ये सबैभन्दा खतरनाक पदार्थ डिजेलबाट निस्कने धुवा“मा पाएको उल्लेख छ । यस्तो डरलाग्दो तथ्यांक बाहिर आइसक्दा पनि सरकारले बढी प्रदूषण गर्ने डिजेलका सवारी साधनको नियन्त्रणमा काम गर्न सकेको छैन । नेपालमा हरेक वर्ष लाखभन्दा बढी सवारी साधन भित्रिरहेका छन् । नेपालमा हाल २३ लाख सवारी साधन छन्।
वातावरणविद् तुलाधार सवारी साधनको प्रदूषणको नियन्त्रणका लागि विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्न, इथानोल, कम सल्फर भएको डिजल ल्याउन, युरो २ तथा ३ का सावरी चलाउन, धुँवा जाँचलाई कडाइ गर्न सरकारलाई पटक–पटक आग्रह गरिएको बताउँछन् ।
‘सवारीको धुँवाका कारण हुने प्रदूषण नियन्त्रणका लागि सरकारलाई बारम्बार सुझाब दिइएको छ,’ उनले भने, ‘तर नेपालमा हरेक दिन डिजेलका सवारी साधन नै झन् बढी भित्रिरहेका छन् ।’ काठमाडौँ लगायतका सहरी क्षेत्रको प्रदूषण नियन्त्रणका लागि सरकारले ठूला र विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्दै जानुपर्ने तुलाधारको भनाइ छ ।
बढी जोखिममा पर्नेहरु
चिकित्सकहरुका अनुसार बालबालिका, बुढाबुढी, गर्भवती, फोक्सो र मुटुका रोगीहरू वायु प्रदूषणबाट बढी प्रभावित हुने गर्दछन् । यस्तै सडक छेउका स्थानीयदेखि, व्यापारी, दिनहुँ आऊजाऊ गर्ने यात्रु तथा बटुवा, सडकमा काम गर्ने मजदुर, ट्राफिक प्रहरी, सवारी चालक तथा सहचालकहरु बढी जोखिममा पर्ने गरेका छन् । ग्रामीण भेगमा भने दाउरा, कोइला तथा धुँवायुक्त चुल्होमा काम गर्ने र धूमपान गर्नेहरु बढी जोखिममा पर्छन्।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका डिएसपी सविन प्रधानका अनुसार सडकमा लगातार काम गर्नुपरेका कारण धेरै ट्राफिकमा ब्रोङ्काइटिसको समस्या देखिने गरेको छ । उनले ट्राफिकसँगै सडक खण्डमा पसल चलाउने र नियमित ओहोरदोहोर गर्नेहरुलाई दम, सिओपिडीजस्ता श्वासप्रश्वासको दीर्घ समस्या, मुटु र नशाका दीर्घ समस्याले सताउने चेतावनी चिकित्सकहरुले दिइसकेको जनाए।
स्वास्थ्य अनुसन्धान परिषद्ले ट्राफिक प्रहरीमा गरेको अध्यायनले पनि बढी प्रदूषण भएका ठाउँमा खटिएका प्रहरीको फोक्सोको कार्यक्षमता घट्दै गएको देखाएको छ । परिषद्ले ट्राफिक प्रहरीको शरीरमा नै प्रदूषण मापक यत्र जडान गरेर अध्ययन गरेको थियो । ‘सडकमा खटिने प्रहरीले अधिकांश जोखिमयुक्त समय सडकमै बिताउने हुँदा उनीहरुमा बढी असर देखिएको हो,’ प्रतिवेदनमा उल्लेख छ । वरिष्ठ छातीरोग विशेषज्ञ डा. अर्पणा न्यौपानेले भन्छिन्, ‘छोटो समयका लागि धुलोको सम्पर्कमा आउने व्यक्तिमा रुघाखोकी, एलर्जी, ब्रोङ्काइटिसजस्ता समस्या देखिन्छन् भने लगातार सम्पर्कमा आइरहनेलाई केही वर्षपछि कडा खालको दम (सिओपिडी), क्षयरोग र फोक्सोको क्यान्सरसम्म हुने खतरा छ ।’
२० वर्ष पुराना सवारी हटाइँदै
प्रदूषणले बिरामीको संख्या बढाइरहेको भन्दै सर्वत्र विरोध भएपछि सरकारले बल्ल फागुनको तेस्रो साताबाट २० वर्ष पुराना सार्वजनिक यातायातका साधन हटाएको छ । पुराना सवारी साधन हटाउने निर्णय गरे पनि सवारीको धुँवा जाँचपासमा भने अझै कडाइ गर्न सकेको छैन । २० वर्ष नपुगेका सवारी साधनले पनि धुँवाको मुस्लो फाल्दै सडकमा गुडिरहेका दृश्य दैनिक देखिने गरेको ट्राफिक प्रहरी बताउँछन् ।
सवारी साधन प्रदूषण ऐन, ०५४ ले राजधानीमा धेरै प्रदूषण गर्ने सवारी साधनलाई प्रवेश रोक लगाएको छ । तर, राजधानी भित्रिने हजारौँ गाडीहरुको प्रदूषण जाँच हुँदैन । यातायात व्यवस्था कार्यालय, साना–ठूला सवारी कार्यालय वागमती प्रमुख वसन्त अधिकारी सवारी साधनको प्रदूषण जाँच सबैतिर अनिवार्य नहुँदा प्रभावकारी नभएको बताउँछन् । उनले चक्रपथभित्र गुड्ने सीमित गाडीको मात्रै प्रदूषण जाँच गर्दै आएको स्वीकार गरे ।
यातायात कार्यालयले प्रदूषण जाँच पास गरेका सवारीलाई हरियो स्टिकर प्रदान गर्छ । प्रदूषण जाँच फेल भएका सवारी साधनलाई रातो स्टिकर टाँसेर एक साताभित्रै सुधार गर्नुपर्ने व्यवस्था छ । तर, यातायातकै कर्मचारीले पाँच सय रुपैयाँ लिएको भरमा रातो स्टिकरलाई हरियोमा परिणत गर्ने गरेको यातायात क्षेत्रको विकृति विरुद्ध लड्दै आएका अभियन्ता राम थापाले दाबी गरे ।
यातायात कार्यालयका प्राविधिक शाखाका सुपरभाइजर सन्तोष कोइरालाका अनुसार पेट्रोल तथा ग्यासबाट चल्ने सवारी साधनको धुँवाको मात्रा ग्यास एनालाइजरमार्फत मापन गरिन्छ । सवारी साधनमा धुँवाको मात्रा हजार पिपिएम र कार्बन मोनोअक्साइटको मात्रा तीन प्रतिशत हुनुपर्ने मापदण्ड छ । त्यस्तै, डिजेलबाट चल्ने सवारी साधनको ‘डिजेल स्मोक मिटर’मार्फत धुँवाको मापन गरिन्छ । यसमा धुँवाको मात्रा २ दशमलब ४४ एचएसयू हुनुपर्ने मापदण्ड छ । ‘सडकमा मापदण्डभन्दा बढी धुँवा फाल्ने सवारी गुडिरहेका छन्,’ प्राविधिक शाखाका अधिकृत यमबहादुर क्षत्री भन्छन्, ‘सवारी साधनको प्रदूषण जाँच गर्दा फेल हुने सवारी साधनलाई कारबाही गर्ने संयन्त्र नहुँद मनपरी बढेको हो ।’
पाँच वर्षमा धुँवामुक्त नेपाल !
वातावरण मन्त्रालयका सचिव विश्वनाथ ओलीले वायु प्रदूषण नियन्त्रणका लागि तत्कालीन र दीर्घकालीन योजना बनाएर काम गरिरहेको बताएका छन् । उनले भने, ‘प्रदूषण नियन्त्रणका लागि वातावरण विभागका महानिर्देशकको संयोजकत्वमा गठित कार्यदलले दिएको १२ बुँदे सुझाबका आधारमा मन्त्रालयले काम अगाडि बढाउँछ ।
समितिले बुझाएको प्रतिवेदनमा सडकको धुलो नियन्त्रण गर्ने, सार्वजनिक यातायातको प्रवद्र्धन गर्ने, सवारी साधनको उत्सर्जन कम गर्ने, हरियो स्टिकर टाँस्ने व्यवस्थालाई प्रभावकारी बनाउने, विद्युतीय तथा हाइब्रिड सवारी साधनलाई प्रवद्र्धन गर्ने जस्ता सुझाव छन् । यस्तै, पैदलयात्रु र साइकल चलाउनेलाई प्रोत्साहन गर्ने, जथाभावी फोहोर फल्ने र बाल्ने काम बन्द गराउने, हरियाली प्रवद्र्घन गर्ने, इँटा भट्टाको धुवाँ तथा धुलो नियन्त्रण गर्ने, जनचेतना अभिवृद्घि गर्ने, नियमित अनुसन्धान र अध्ययन गर्ने परिपाटी बसाल्नुपर्ने लगायतका सुझाव आएका छन् ।
सचिव ओलीले प्रदूषण नियन्त्रणका लागि वातावरण, सहरी विकास, भौतिक पूर्वाधार तथा सडक, स्वास्थ्य, स्थानीय, कृषि, शिक्षा, उद्योग लगायतका मन्त्रालयबाट पनि आवश्यक कदम चाल्नुपर्ने जानकारी दिए ।
सरकारले आगामी पाँच वर्षभित्र धुवाँमुक्त नेपाल बनाउने लक्ष्यका साथ जैविक ऊर्जा रणनीति कार्यान्वयनमा ल्याएको छ । जनसंख्या तथा वातावरण मन्त्रालयको संयोजकत्वमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले ग्रामीण क्षेत्रका प्रदूषण नियन्त्रणका लागि पाँच वर्षे नयाँ रणनीति बनाएको हो ।
रणनीतिमा ग्रामीण भेगमा परम्परागत तरिकाले प्रयोग हुँदै आएका दाउरा, गुइँठाजस्ता ऊर्जालाई आधुनिक, दीगो र स्वच्छ ऊर्जाका रुपमा विकास गर्ने र त्यसको पहुँच वृद्धि गर्ने तथा वातावरण संरक्षणमा योगदान पुर्याउने उद्देश्य राखिएको छ ।
रणनीतिले सन् २०२२ सम्म देशका सम्पूर्ण घरधुरीमा कमसेकम जैविक ऊर्जाबाट स्वच्छ खाना पकाउने प्रविधिको प्रवद्र्धन गरी घरभित्रको धुवाँमुक्त नेपाल बनाउने नीति लिएको छ । साथै सन् २०३० सम्म दाउरा, गुइँठाजस्ता ठोस जैविक इन्धन प्रयोग गर्ने सम्पूर्ण घरधुरीमा आधुनिक स्वच्छ ऊर्जाको पहुँच सुनिश्चित गर्ने नीतिसमेत लिएको छ ।
प्रदुषणले गर्छ के, जोगिने कसरी ?
- डा. अर्पणा न्यौपाने, छातिरोग विशेषज्ञ
नेपालका विभिन्न सहरको वायु प्रदूषणको स्थिति आँकलन गर्दा खतराको घण्टी बजिसकेको छ । प्रदूषणको असर तत्कालीन र दीर्घकालीन हुन्छ । केही सामान्य स्वास्थ्य समस्या तुरुन्तै देखिए पनि गम्भीर समस्या देखिन समय लाग्छ । चिकित्सकहरुका अनुसार अबको चारदेखि पाँच वर्षमा अहिलेको प्रदूषणको असर देखिनेछ। यही तरिकाले वायु प्रदूषण बढ्दै गएमा केही वर्षमै वायु प्रदूषणको चरम संकट भोगेका विश्वका केही सहरकै हविगतमा नपुगिएला भन्न सकिन्न ।
अहिले नै भविष्यमा आउन सक्ने खतरालाई मूल्यांकन गरेर अघि बढ्नुपर्ने आवश्यकता छ । काठमाडौँको धुलोले आजित भएका यहाँका बासिन्दाले काठमाडौँलाई ‘धुलोमाडौँ’ भनेर ब्यंग्य गर्न थालिसकेका छन् । हुन पनि घर बाहिर निस्किसक्नु छैन । धुलैधुलो, सास फेर्न पनि सकस पर्ने अवस्था । अहिले काठमाडौँको आकासमा मडारिरहेको धुवाँधुलो वायु प्रदूषणको कुन चरणमा होला भनेर धेरै चिन्तित छन् ।
वायु प्रदूषण कसरी ?
प्रदूषण भनेको हावाको गुणस्तरमा कमी आउनु हो । अर्थात् श्वासप्रश्वास प्रक्रिया अन्तर्गत हामीले सासभित्र लिने र बाहिर फ्याँक्ने गर्छाैं । यो शरीरका लागि अनिवार्य अक्सिजन परिपूर्ति गर्ने प्रक्रिया हो । तर, हावामा स्वास्थ्यका लागि नभई नहुने अक्सिजन मात्र होइन, धेरै मात्रामा हानी गर्ने तत्वहरु मिसिएका छन् भने त्यसलाई प्रदूषणका रुपमा बुझ्नुपर्छ ।
हावासँगै विभिन्न कणहरु उडिरहेका हुन्छन् । ती हामीले सास फेर्दा सँगै शरीर भित्र जान्छन् । तीमध्य कतिपय कणलाई हाम्रो श्वासप्रश्वास प्रक्रियाले पचाउँछ वा बाहिर निस्कासन गर्छ । कतिपय कणलाई भने केही गर्न सक्दैन र ती फोक्सोमा गएर बस्छन् । रक्तसञ्चार प्रणालीका माध्यमबाट शरीरका अन्य भागमा पुग्छन् र समग्र स्वास्थ्यस्थिति बिगार्छन् ।
हावाको गुणस्तर हावामा रहेका हानिकारक कणहरुको मात्रा र साइज अनुसार मापन गरिन्छ । विश्व स्वास्थ्य संगठानले वायु प्रदूषण मापनका लागि १० पर माइक्रोमिटर (पिएम) भन्दा सानो र २ दशमलब ५ पर माइक्रोमिटर (पिएम) भन्दा सानो भन्ने मापन बिन्दु तय गरेको छ । हावामा साना कणको संख्या जति धेरै भयो उति यसको गुणस्तर कम ठानिन्छ । साना कणले स्वास्थ्यमा बढी समस्या सिर्जना गर्छन् । हावामा रहने विभिन्न हानिकारक वस्तु तथा रसायनका कणलाई विज्ञानसम्मत वर्गीकरण र व्याख्या गरिन्छ । त्यसअनुसार २ दशमलब ५ पिएमभन्दा साना कणलाई खतरनाक मानिएको हो । किनभने यी फोक्सोको भित्री भाग हुँदै शरीरका अन्य अंगसम्म फैलिन सक्छन् ।
हावामा हुने हानिकारक तत्व
धुलोधुवाँमा विभिन्न हानिकारक तत्व हुन्छन् । दाउरा, फोहोर, कोइला र गाडीको धुवाँधुलोका कारण कार्बन्डाइअक्साइड, कार्बनमोनोअक्साइड निस्किन्छ । ढुंगा, बालुवा, सिमेन्टजस्ता तत्व मिसिएका सडक, घर आदि भौतिक संरचना भत्काउँदा निस्किएको धुलो नै काठमाडौँको आकासमा फैलिएको धुलोको प्रमुख स्रोत हो । यसमा सल्फेडाइअक्साइड, नाइट्रेटअक्साइड, सिलिका, ग्रेनाइट जस्ता रसायनिक तत्व नहोला भन्न सकिन्न । यसको असर तुरुन्तै नदेखिन सक्छ । अबको चार–पाँच वर्षपछि देखिएला । भविष्यमा काठमाडौँबासीलाई फोक्सो सम्बन्धी विभिन्न रोगसँगै ढुंगा फोड्ने र घर भत्काउने मजदुरलाई बढी देखिने एस्कोसिस, सिलिकोसिस जस्ता समस्या आउने सम्भावना प्रवल छ ।
सिमेन्ट वा ढुंगामा प्रचुर मात्रामा सिलिका हुन्छ । सिलिका श्वाप्रश्वासको माध्यमबाट फोक्सोमा गयो भने त्यसलाई रक्त कोषिकाले तान्छ । यसलाई पचाउन वा फुटाउनन नसकिने हुनाले फोक्सोमा बसिरहन्छ । विस्तारै सास फेर्ने क्षेत्रमा खराबी आउँछ । पछि खत बस्छ र फाइब्रोसिस हुन्छ । सिलिका जस्ता हानिकारक तत्वहरु फोक्सोमा गएपछि क्षयरोग र फोक्सोको क्यान्सर हुने सम्भावना पनि उत्तिकै रहन्छ ।
खोकी हावाका माध्यमबाट शरीरभित्र पसेका अनावश्यक कणहरु निकाल्ने प्रक्रिया हो । तर सबै अवस्थामा यी कणहरु बाहिर निस्किँदैनन् । निस्कन नसक्ने कणलाई शरीरको प्रणालीले फुटाएर निकाल्ने, अन्यत्र सार्ने वा पचाउने काम गर्छ । तर, कतिपय यस्ता कण हुन्छन्, जो फुट्दैनन्, पच्दैनन् र अन्यत्र सर्दैनन् पनि । फोक्सोमै गडेर बस्छन् । ती कण बसेको ठाउँमा एकखालको संक्रमण हुन्छ । जुन अन्यत्र फैलिँदै दीर्घकालमा फोक्सो सम्बन्धी विभिन्न रोगमा परिणत हुन्छ । क्रोनरी आर्टरी डिजिज, स्ट्रोक, क्यान्सर आदि रोग यसैको कारण हो ।
किन आइरहन्छ खकार ?
घाँटी चिलाउने, खसखस हुने, औषधि खाँदा कम हुने तर निको नहुने, खकार नआउने तर निकाल्न मन लागिरहने जस्ता समस्या अहिलेको धुलोका कारण निम्तिएका हुन् । कतिपयलाई खकार ननिकाल्ने तर निकाल्न खोजिरहने बानी परेको हुन्छ । यो चाहिँ प्रदूषणले निम्त्याएको मानसिक समस्या हो । जसले घाँटीमा केही छ भन्ने महसुस गराइरहेको हुन्छ ।
शरीरको प्रणालीले घाँटीभन्दा तल पुगेका कणलाई खकारका माध्यमबाट निकाल्न खोज्छ । खकार शरीरको रोग प्रतिरोधी प्रणालीमै पर्छ । खकारले बाहिरबाट आएको फोहोरलाई बाहिरै निकाल्ने काम गर्छ । साथै, श्वासप्रश्वासलाई सुख्खा हुनबाट जोगाउँछ पनि । प्रदूषणका कारण धेरै फोहोरका कण भित्र पुग्न थालेपछि यो प्रणाली बढी सक्रिय हुन्छ । अर्थात् खकार धेरै निस्किन थाल्छ । खकार लगातार निस्किरहने प्रक्रियालाई ‘एक्युड ब्रोन्काइटिस’ भनिन्छ । वर्षाैंसम्म यस्तै भइरह्यो भने यो ‘क्रोनिक ब्रोन्काइटिस’मा रुपान्तरित हुन्छ । खकार आइरहने भएकाले श्वासनलीमा स्थायी परिवर्तन आउँछ ।
लगातार फोहोर बाहिर निकाल्नुपर्ने भएपछि खकार निकाल्ने ग्रन्थी ठूलो बन्छ । शरीरका हरेक अंग वा प्रणाली सामान्य रहे मात्र मानिस स्वस्थ रहन्छ । यसरी ग्रन्थी ठूलो भयो र निरन्तर खकार आइरह्यो भने त्यो असजिलो प्रक्रिया हुन जान्छ ।
जोगिन के गर्ने ?
वायु प्रदूषण नियन्त्रणको सवालमा सरकारले चाँडोभन्दा चाँडो सम्बोधन गर्नुपर्छ । धुलोका कारण आउने समस्या एकातिर छँदै छ । समग्र वायु प्रदूषणकै कारण आउने समस्या झन् जटिल बन्दै छ ।
विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार २ दशमलब ५ पिएमबाट मापन गर्दा हावामा बढीमा ४० सम्म धुलोधुवाँका कणहरु हुनुलाई स्वस्थ मानिन्छ । तर, अहिले काठमाडौँमा २ दशमलब ५ पिएम एक सय ९० सम्म पुगेको एउटा तथ्यांकले देखाएको छ । जसलाई हानिकारक हावा मानिन्छ ।
अहिले प्रदूषणको स्थिति हानिकारक तहमा रहेकाले यसबाट जोगिन उपाय अपनाउनुपर्छ । औषधि–उपचारले शरीरमा पसेका हानिकारक तत्व निकाल्ने काम गर्छ । औषधिको सहायताले शरीरभित्र पसेका हानीकारक कण निकाल्दै जाने तर वायु मण्डलबाट कण भित्र पसिरहने हो भने त्यो उपचारको कुनै अर्थ रहँदैन ।
सकेसम्म सुरक्षित मास्क लगाएर हिँड्ने गर्नुपर्छ । सुरक्षित मास्क यसकारण भनिएको हो कि, बजारमा उपलब्ध सबै मास्कले धुलोधुवाँका साना कणहरु रोक्नै सक्दैनन् ।
बिरामी, बच्चा र बृद्धलाई प्रदूषणले बढी असर गर्छ । त्यसैले बिहान र बेलुकीपख सकेसम्म बाहिर निस्कन दिनु हुँदैन । हावा स्थिर र चिसो अवस्थामा रहने भएकाले त्यो समय धुलोधुवाँका कण जमिनभन्दा धेरै माथि पुग्न पाएका हुँदैनन् । बिहान र बेलुकाको समयमा प्रदूषणका कणहरु श्वासप्रश्वासबाट छिटो शरीरभित्र पुग्छन् ।
लामो समय खोकी लागिरहे, घाँटी खसखस भइरहे वा यस्तै अन्य समस्या देखियो भने जति सक्दो चाँडो उपचारका लागि स्वास्थ्य संस्थामा पुगिहाल्नुपर्छ । बालबालिकामा त झन् श्वासप्रश्वास प्रणाली विकास हुने क्रममा रहने भएकाले यस्तो समस्या आएमा उपचारका लागि चिकित्सकको परामर्श लिन ढिलाइ गर्नु हुँदैन ।
- डा. न्यौपाने काठमाडौं मेडिकल कलेज शिक्षण अस्पतालकी मेडिसिन विभाग प्रमुख हुन्।
प्रदूषणले छालामा पुर्याउने असर, यस्ता छन् जोगिने तरिका
डा. सविना भट्टराई, डर्म्याटोलोजिस्ट
वायु प्रदूषण ६ कुराले गराइरहेको हुन्छ। पहिलो अटो मोबाइलको धुवाँ हो। जसबाट कार्बन्डाइअक्साइड र कार्बनमोनोअक्साइड निस्किन्छ। दोस्रो हो, विभिन्न उद्योगबाट निस्किने रसायनिक प्रदूषण र बालीनालीमा छर्किने विषादीहरु। यी पनि वायुमण्डलमै मिसिन आइपुग्छन्। तेस्रो, धूमपानको धुवाँ हो। यो वातावरणमा घुमिरहेको हुन्छ।
चौथो समस्या हो, सडक तथा घर भत्काउँदा निस्किएको धुलो।
वायु प्रदूषणको पाँचौँ चुनौती हो, काठ, फोहोर, कोइला आदि बाल्दा निस्किने धुवाँ। जसलाई ‘ब्ल्याक कार्बन सुट’ भनिन्छ। यस्तै अहिलेको मौसममा पालुवा पलाउने र फूलहरु फुल्ने गर्छन्। वायु प्रदूषणको छैटौँ कारण पालुवा पलाउँदा वा फूल खेल्दा त्यहाँबाट निस्कने एक प्रकारमा मसिना भुवाँहरु हुन्। हुरिबतास यही मौसममा लाग्ने भएकाले ती मसिना कण उडेर हामीसम्म आइपुग्छन्।
काठमाडौंको कुरा गर्दा यी ६ थरिकै प्रदूषण विद्यमान छन् । जसले स्वास्थ्यका अन्य अंगजस्तै छालामा पनि असर गर्छन्।
छालामा पुग्ने हानी
धुलोधुवाँको प्रदूषणले हाम्रो शरीरको बाहिरी अंग छालालाई सबैभन्दा बढी हानी गर्छ। माथि उल्लेखित सबै प्रदूषणले ‘रियाक्टिभ अक्सिजन पिसिज’ हानिकारक तत्व उत्पादन गर्छन्। यसले हाम्रो छालामा हुने डिएनए अर्थात् छालाका कोषहरु नाश गरिदिन्छ।
कोषहरुमा यसले असर पारेसँगै छालामा सुख्खापन बढ्ने, एलर्जी हुने, चिलाइरहने समस्या आउँछ। प्रदूषणले छालालाई एकदमै संवेदनशील बनाइदिने भएकाले खस्रो हुने, चायापोतो वा चायापोतो जस्तै देखिने रङ्गीबिरङ्गी दागहरु आउने लगायतका समस्या देखा पर्छन्।
धुवाँधुलोमा लामो समय रहनुपर्यो भने छालाका केही दीर्घ समस्या देखिन थाल्छन् त्यसमा चाउरी पर्ने, बुढ्यौलीका संकेत देखिने, डन्डिफोर आइरहने हुन्छ। छालालाई मात्रै होइन, कपाललाई पनि यसले असर गर्छ। कपाल सुख्खा हुने, झर्ने, टुक्रिने आदि समस्या वायु प्रदूषणको उपज हुनसक्छ।
अहिले हामीकहाँ धेरैजसो बिरामी अनुहार चिलाउने र अनुहारमा टाटेपाटे दाग आउने समस्या लिएर आइरहेका छन्। यसैगरी पूरै शरीर चिलायो भनेर उपचार खोज्नेको संख्या पनि अघिल्ला वर्षभन्दा बढेको छ।
पहिले युवाहरुमा यस्ता छालाजन्य समस्या कम देखिन्थे । तर अहिले उनीहरुलाई पनि जिउ चिलाउने र अनुहारमा पोतोजस्ता कालो धब्बाहरु आउने गरेको प्रसस्त उदाहरण छन्। यो प्रदूषणकै कारण बढेको हो ।
कसरी जोगिने?
धुलोधुवाँबाट जोगिनका लागि सकेसम्म शरीरका सबै भाग छोपिने खालका लुगा लगाउनुपर्छ। यति गर्दा पनि अनुहार र हातका केही भाग खुलै रहन्छन्। त्यसका लागि अनुहारमा मास्क लगाउन सकिन्छ। बाहिर निस्किँदा सनग्लास लगाउने र सनब्लक क्रिम प्रयोग गर्ने। सनब्लकको निरन्तर प्रयोगले घामका विकिरणबाट जोगाउने मात्रै नभई धुवाँधुलोलाई सिधै छालासम्म पुग्नबाट पनि रोक्छ। यसले छालाबाहिर एउटा तह बनाउँछ। धुलोधुवाँ त्यहीँ टाँसिएर बस्छ र छालामा हानी पुर्याउन सक्दैन।
बाहिरबाट घर पुगेपछि सकेसम्म सधैंँ ‘क्लिन्जर’ लगाएर मुख धुने गर्नुपर्छ । मेकअप गरिएको छ भने तुरुन्तै मेकअप उतारेर सकेसम्म ‘मोस्चराइजर’को प्रयोग गर्नु राम्रो। यस्तै पानी प्रसस्त पिउने बानी बसाल्नु जरुरी छ । छालाका लागि लाभदायक एन्टिअक्सिडेन्ट तत्व भएका गोलभेँडा, अंगुर र कागतीको सेवन बढाउनुपर्छ।
छालामा रहने कोषहरुलाई प्रदूषणको प्रभावबाट चाँडै पराजित हुन नदिन फलफूलको सेवन लाभदायक हुनेछ। फलफूलमा हुने तत्वले त्यसविरुद्ध लड्ने शक्ति आर्जन गर्न मद्दत गर्छ। फूलफूलमा पनि आँप, सुन्तला, मेवाजस्ता रङ्गीन फलफूल खानु फाइदाजनक मानिन्छ।
छालालाई सदा सुन्दर र मुलायम बनाइराख्न नुहाउँदा र अनुहार धुँदा एकदमै नरम खालको स्याम्फु, साबुन र क्लिन्जिरको प्रयोग गर्नुपर्छ।
यसरी वायु प्रदूषण विश्वव्यापी समस्या
डा. ओमप्रकाश कुर्मी, वरिष्ठ वैज्ञानिक (श्वासप्रप्रश्वास महामारी विज्ञान र पर्यावरण स्वास्थ्य), अक्सफोर्ड युनिभर्सिटी, बेलायत
वायुको गुणस्तर र त्यसले स्वास्थ्यमा पार्ने असरबारे मानिसले सयौँ वर्षदेखि चिन्ता गर्दै आइरहेका छन् । रोमनको दार्शनिक लुसियस सेनेकाले इस्वि सम्वत् ६२ मा वायु प्रदूषण र चिम्नीबाट निस्किने दुर्गन्धित धुँवाबारे उल्लेख गरेको पाइन्छ । बेलायतकी महारानी एलिजाबेथ प्रथमको सन् १५५८ मा राज्यरोहण भएपछि लन्डनमा सदन चलेको बेला कोइला बाल्न रोक लगाएको उल्लेख छ । त्यस्तै, जोन इबलिनले आफ्नो डायरी 'फ्युमिफुजियम'मा लन्डन शहरको वायु प्रदूषणको स्रोत, त्यसबाट स्वास्थ्यमा हुने असर र रोकथामका केही तरिकाबारे विस्तारमा लेखेको पाइन्छ ।
सुरुसुरुमा बेलायतका घरहरूमा कोइला बाल्दा निस्किने प्रदूषणको डरलाग्दो अवस्थालाई १८औँ शताब्दीमा भएको औद्योगिक क्रान्तिले झन् प्रदूषित पार्न सहयोग पुर्याएको थियो। त्यतिबेलाका कलकारखानाबाट निस्किएको प्रदूषणले (मुख्यतः सल्फरयुक्त प्रदूषण) त्यहाँ रोजगारी गर्ने मानिसको स्वास्थ्यमा निकै खराब असर पार्न थाल्यो । जसका कारण लन्डनमा ४ देखि ८ डिसेम्बर १९५२ मा लागेको तुँवालोले एक हप्ताभित्र चार हजार मानिसको ज्यान लिएको थियो । यसको असर केही महिनासम्म रह्यो । पछिल्लो तथ्याङ्क अनुसार त्यसबेलाको तुँवालोको असरले मृत्यु हुनेहरुको वास्तविक संख्या जम्मा संख्या लगभग १३ हजार पाँच सय पुगेको थियो । यो घटनाको फलस्वरुप विश्वको पहिलो स्वच्छ हावा ऐन, १९५६ (क्लिन एयर एक्ट, १९५६) पारित भयो । जसले सल्फर डाइअक्साइडको प्रदूषण कम गर्नमा धेरै सहयोग पुर्यायो ।
सन् १९७० ताका बेलायतका मानिसहरुलाई प्रदूषण नियन्त्रण गरियो भन्ने आभाष हुन थालिसकेको थियो । तर, सन् १९८० तिर सवारीसाधनबाट हुने नाइट्रोजन डाइअक्साइड, कणिका पदार्थ (पार्टिकुलेट म्याटर, पिएम) र हाइड्रो कार्बनजस्ता प्रदूषणको पहिचान भयो । यसप्रकारका वायुप्रदूषक तत्वहरुलाई खाली आँखाले सजिलै देख्न सकिँदैन । यी प्रदूषणले मानिसको स्वास्थ्यमा मात्र असर गर्ने नभई अरु प्रदूषणहरु जस्तैः ओजन र नाइट्रोजन डाइअक्साइड बनाउनमा पनि मद्दत गर्दछन् । यी सबै किसिममा प्रदूषणको असर लसएन्जल्स, एथेन्स, मेक्सिको लगायत विश्वका प्रख्यात सहरहरुका साथै पूर्वी र दक्षिण एसियाका प्रमुख सहरहरु बेइजिङ, नयाँ दिल्ली, काठमाडौँ, ढाका लगायतमा दिनानुदिन बढ्दो छ । विश्वका हरेक मुलुकका सहरी बासिन्दाहरु वायु प्रदूषणको दीर्घकालीन असरले सताइएका छन् ।
विकासोन्मुख देशका सहरी क्षेत्रमा वाह्य प्रदूषणका साथसाथै गाउँमा घरभित्र खाना पकाउन, जाडोबाट बच्न र काहीँकाहीँ बत्ती बाल्नका लागि ठोस इन्धन (दाउरा, कोइला, सुकेको गोबर आदि) को प्रयोग भएको पाइन्छ । तर यस आलेखमा वाह्यवायु प्रदूषण र त्यसले स्वास्थ्यमा पार्ने असरबारे चर्चा गर्न खोजिएको हो । वायु प्रदूषणले मानिसको शरीरमा तुरुन्तै पुर्याउने असरहरुको तुलनामा दीर्घकालीन असर कम देखिए पनि यससम्बन्धी विस्तृत अनुसन्धानहरु भइरहेका छन् र दिनप्रतिदिन नयाँ जानकारीहरु आइरहेका पनि छन् ।
वायु प्रदूषणका किसिम र स्रोतहरु
वायु प्रदूषण भन्नाले वायुमा छोडिएका त्यस्ता पदार्थलाई जनाउँछ, जुन प्राकृतिक रुपमा घातक हुन सक्छन् र यी पदार्थहरु प्राकृतिक वातावरणमा सामान्यभन्दा बढी पाइन्छन् । सत्य के हो भने, वायु प्रदूषण मान्छेको गतिविधि (उर्जा, पारवहन, उद्योग, कृषि) बाट उत्पन्न हुन्छ । तर, केही प्राकृतिक घटनाहरु (आद्र भूमिबाट मिथेन उत्सर्जन, ज्वालामुखी विस्फोट, चट्याङ आदि) ले पनि वायु प्रदूषणमा टेवा पुर्याँउछन् । औद्योगिक क्रान्ति र आधुनिक इन्धनमा आधारित अर्थ व्यवस्थाको आगमनले गर्दा धेरै आय भएका देशमा वायु प्रदूषणलाई तुलनात्मक रुपमा कम महत्व दिएको देखिन्छ ।
वायु प्रदूषणको ठोस परिभाषाको कमीले गर्दा वायु प्रदूषणबारे लामो सूची तयार गर्न सकिन्छ भन्ने कुरामा कुनै आश्चर्य मान्नु पर्दैन । यिनीहरुलाई धेरै किसिमले वर्गीकरण गर्न सकिन्छ । जस्तै, कणिक पदार्थ (पिएम), सल्फर डाइअक्साइड र कार्बन मोनोअक्साइड प्राथामिक प्रदूषकका केही उदाहरण हुन् । किनभने यिनीहरु विभिन्न स्रोतबाट सिधै वातावरणमा घुलमिल हुन्छन् । माध्यमिक प्रदूषणहरु (ओजोन, नाइट्रोजन डाइअक्साइड) प्राथामिक प्रदूषकद्वारा वायुमण्डलमा उत्पादन हुन्छन् । जमिनको सतहमा पाइने ओजोन सूर्यको प्रकाशको उपस्थितिमा नाइट्रोजन र हाइड्रोकार्बन डाइअक्साइडको रासायनिक प्रतिक्रियाद्वारा उत्पादन हुन्छ । ओजोन 'फोटोकेमिकल स्मोगको मुख्य भाग हो, जुन न्यानो र घाम लागेको बेला धेरै मोटरगाडी भएका सहरमा देखिन्छ ।
सहरी परिवेशमा वायु प्रदूषणको मात्रा घरभित्रको तुलनामा घरबाहिर बढी पाइन्छ । किनकि यातायातका साधनले धेरै मात्रामा वायु प्रदूषकहरु वायुमण्डलमा छोड्छन् । प्रायः धेरै आय भएका मुलुकहरुमा उन्नत किसिमको तापक्रम नियन्त्रण (थर्मल इन्सुलेसन) र आधुनिक वातानुकूलन (एयर कन्डिसनिङ)को प्रयोगले घरभित्र प्रदूषकको मात्रा घर बाहिरको तुलनामा बढी हुन सक्छ । त्यसैगरी, कम आय भएका मुलुकमा ठोस इन्धनको प्रयोगले घरभित्र प्रदूषणको मात्रा बढी हुने गर्छ ।
प्रदूषकहरुलाई उनीहरुको भौतिक गुणहरुका आधारमा विभिन्न समूहमा वर्गीकरण गर्न सकिन्छ । त्यस्तो वर्गीकरण समूहमा कणिक पदार्थ (पिएम), जसलाई 'टोटल सस्पेन्डेड पार्टिकल (टिएसपी) भन्ने गरिन्छ । कणिक पदार्थ वायुमा मिसिएका (तैरिरहेका) ठोस कण र पदार्थहरुको मिश्रण हो, जसको विभिन्न आकार, संरचना र उत्पत्ति हुन्छ । कणिक पदार्थको मुख्य बनावट अकार्बनिक यौगिक (सल्फेट, नाइट्रेट्स, एम्मोनिया, कालो कार्बन, समुद्री नुन र खनिज धुलो) बाट हुन्छ । तर, त्यसमा केही कार्बनिक पदार्थ (जस्तैः पराग, ढुसी आदि) पनि पाइन्छ। कणिक पदार्थको वायुगतिक व्यास १० माइक्रोमिटर (पिएम१०) भन्दा सानो हुन्छ। जुन मुख्यतः ठूलो पदार्थहरुबाहेक खस्रो (घिस्रिएका) माटो, बाटोको धुलो (गाडीको टायरबाट निस्कने), निर्माण सामाग्री अथवा मसिना कणहरुको मिश्रणबाट बनेको हुन्छ । धेरै मसिना कण (फाइन एन्ड रेस्पिरेबल) को वायुगतिक व्यास २ दशमलब ५ माइक्रोमिटर (पिएम२.५) भन्दा सानो हुन्छ । यिनीहरु फोक्सोको सानो भागसम्म पुग्न सक्छन् । त्यस्तै अल्ट्राफाइन पार्टिकल्स एक सय नैनोमिटरभन्दा साना हुन्छन् र यिनीहरु रक्त प्रणालीसम्म पुग्न सक्छन् ।
स्वास्थ्यमा पर्ने असर
हाम्रो स्वास्थ्यमा कुनै एक प्रकारको प्रदूषकले पार्ने असर मापन गर्न गाह्रो हुन्छ । किनभने वायुमण्डलमा धेरै किसिमका प्रदूषक पाइन्छन् । विभिन्न किसिमका प्रदूषकको अन्य कारकहरु (मौसमको स्थिति, एलर्जी गराउने पदार्थहरु, श्वासप्रश्वास नलीमा संक्रमण, व्यायाम, आहार, सामाजिक-आर्थिक स्थिति, धूमपान आदि) सँग सम्भावित अन्तरक्रिया भइरहेका हुन्छन् ।
वायु प्रदूषणले मानव स्वास्थ्यमा पार्ने प्रभाव सम्बन्धी केही महत्वपूर्ण अनुसन्धानहरु भएका छन् । केही ठूला अनुसन्धानमा हार्भर्ड सिक्स सिटिज, अमेरिकन क्यान्सर सोसाइटी, एयर पोलुसन एन्ड हेल्थः अ युरोपियन एन्ड नर्थ अमेरिकन एप्रोच, पब्लिक हेल्थ एन्ड एयर पोलुसन इन एसिया, युरोपियन स्टडी अफ कोहर्ट्स फर एयर पोलुसन इफेक्ट आदि पर्छन्। प्रायःजसो नेपाल जस्ता कम आय भएका देशमा यस्ता ठूला अनुसन्धान गरिएको छैन ।
हामीले नेपालजस्ता देशमा वायु प्रदूषणका कारणले गर्दा स्वास्थ्यमा पर्ने असरको तथ्याङ्क निकाल्दा पहिला गरिएका अध्ययनहरुको (प्रायः धेरै आय भएका देशको अध्ययनहरु) तथ्याङ्कलाई मोडलिङ गरिन्छ र नयाँ तथ्यांक निकालिन्छ जुन यथार्थता वा तथ्यबाट टाढा पनि हुन सक्छ। किनकि विभिन्न स्रोतबाट निस्किएका प्रदूषणले स्वास्थ्यमा पार्ने असरहरु फरक हुने सम्भावना बढी हुन्छ । माथि उल्लेख गरिएका विभिन्न अनुसन्धानले विभिन्न किसिमका हृदयरोग र श्वासप्रश्वास समस्याहरु (जस्तैः दम, ब्रोन्क्राइटिस आदि) र वायु प्रदूषणबीच सम्बन्ध प्रस्तुत गरेका छन् । हालको दशकमा केही अनुसन्धानले अन्य विभिन्न स्वास्थ्य समस्याहरु (मधुमेह, स्नायु प्रणाली सम्बन्धी रोग, समय नपुग्दै बच्चाको जन्म, कम तौल भएका शिशुको जन्म आदि) सँग पनि वायु प्रदूषणलाई जोडेर हेरेका छन् ।
सन् २०१५ मा प्रकाशन भएको 'ग्लोबल बर्डन अफ डिजिज'को रिपोर्ट अनुसार सन् २०१३ मा विश्वभर २९ लाख मानिसको मृत्यु वाह्य वायु प्रदूषणको कारणले भएको थियो । त्यसमध्ये ८८ प्रतिशतभन्दा बढी मृत्यु कम आय भएका मुलुकमा भएको उल्लेख छ । प्रायः अध्ययनहरु धेरै आय भएका मुलुकहरुमा गरिएको छ । जहाँ प्रदूषणका स्रोतहरु र प्रदूषणका मात्राहरु कम आय भएका ठूला सहरहरुको तुलनामा १५ देखि २० गुणा कम हुन्छ। धेरै आय भएका देशको तथ्याङ्कलाई आधार मानेर कम आय भएका मुलुकको स्वास्थ्य सम्बन्धी तथ्याङ्क निकाल्नु कतिको जायज होला ? यो ठूलो प्रश्न हामी माँझ छ।
वायु गुणस्तर निर्देशिका र मानक परिभाषा अनुसार सबै वायु प्रदूषण हानीकारक भए पनि केही प्रमुख प्रदूषणहरुको वातावरणमा अनुगमन गर्ने गरिन्छ । थोरै मात्र देशहरुमा कानुनी प्रक्रियाद्वारा कडाइका साथ नियम अनुसार अनुगमन गरिन्छ । वायुको गुणस्तरको निर्देशिका तयार गरे पनि कति मात्राभन्दा कम प्रदूषणले स्वास्थ्यमा असर गर्दैन भन्न धेरै गाह्रो छ । हालसालै गरिएका केही शोधपत्रअनुसार विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डभन्दा कम मात्रामा भएको वायु प्रदूषणले पनि स्वास्थ्यमा प्रतिकूल असर पार्ने गरेको छ ।
विभिन्न देशका र अन्तर्राष्ट्रिय संघसंस्थाले वायु प्रदूषणले स्वास्थ्यमा पार्ने असरको मात्रा, व्यावहारिकता, उपलब्ध लागत र राजनीतिक दृढताका आधारमा वायु प्रदूषणका विभिन्न सीमा र लक्ष्य राखेका छन् । प्रायःजसो राष्ट्रिय मापदण्डहरु अन्तर्राष्ट्रिय मापदण्डको तुलनामा धेरै खुकुला हुन्छन् ।
वायु गुणस्तर सूचांक
संसारभरिका सरकारी संघसंस्थाले वास्तविक समयमा वायु प्रदूषणको अल्पकालीन पूर्वानुमान र त्यसले स्वास्थ्यमा पार्न सक्ने प्रतिकूल असरको जानकारी दिने धेरै किसिममा वायु गुणस्तर सूचांक (एयर क्वालिटी इन्डेक्स अर्थात् एक्युआई) जारी गर्ने गरेका छन् । बेलायतमा 'कमिटी अन मेडिकल इफेक्ट अफ एयर पोलुसन'को सल्लाह अनुसार दैनिक वायुको गुणस्तर सूचांक तयार गरी सार्वजनिक गरिन्छ । दैनिक एक्युआई १० अंकको स्तरलाई चार रङ समूह (कोड ब्यान्ड) मा विभाजन गरिन्छ । जहाँ १ देखि ३ (कम), ४ देखि ६ (मध्यम), ७ देखि ९ (उच्च) र १० धेरै उच्च भनेर बुझिन्छ । सर्वसाधारणले भोलिपल्टको दैनिक एक्युआई कुन समूह (ब्यान्ड) मा छ र वायु प्रदूषणले स्वास्थ्यमा के असर गर्न सक्छ भन्ने कुराको अध्ययन गर्छन् र त्यसअनुसार अग्रीम योजना बनाउन सक्छन् । जसले गर्दा तिनीहरुको स्वास्थ्यमा कमभन्दा कम मात्रामा असर पुग्छ । यस्ता जानकारीले मुख्यतया संवेदनशील व्यक्तिहरुलाई धेरै सहयोग पुग्नेछ ।
निष्कर्ष
वायु प्रदूषणको मात्रा कम रहेको अवस्थामा पनि यसले संवेदनशील मानिसहरुको स्वास्थ्यमा नराम्रो परिणाम ल्याउ“छ भन्ने नया“ प्रमाणहरु सार्वजनिक भइरहेका छन् । केही दशक यता धेरै आय भएका धनी मुलुकले प्रदूषणको मात्रा निकै कम गरिसकेका छन् । तर पनि हाल रहिआएको मात्रा भन्दा कम गर्न धेरै आर्थिक लगानी आवश्यक पर्छ । कम आय भएका गरिब मुलुकमा वायु प्रदूषणको समस्या विकराल छ । यसले विश्वभर विभिन्न किसिमका स्वास्थ्य समस्या ल्याउनुका साथै मृत्युदरमा पनि वृद्धि हुने कुरा सहजै अनुमान गर्न सकिन्छ । यो समस्यालाई सरकारी तथा विभिन्न गैरसरकारी संघसंस्थाले समयमै ध्यान पु¥याउन जरुरी छ ।