तथ्यांक हेर्दा कात्तिक-मंसिरतिर काठमाडौंमा डेंगु देखिने गर्दछ। लेखकले केही समय अगाडिदेखि काठमाडौंमा डेंगु फाट्टफुट्ट देखेको थियो। तर पछिल्लो समय लेखकको सम्पर्कमा आएका डेंगु संक्रमितले आफ्नो बासस्थानतिर डेंगु व्यापक फैलँदै गएको जानकारी दिएका थिए। हाल सिमित व्यासमा मात्र देखिएको डेंगु विस्तारै काठमाडौंका अरु स्थानहरुमा पनि नफैलिएला भन्न सकिँदैन। तसर्थ, डेंगु फैलाउने लामखुट्टे र रोगको पहिचान समय नै गर्न सके प्रकोप तथा संक्रमित जटिल अवस्थामा जानबाट रोक्न सकिनेछ।
लामखुट्टे कस्तो हुन्छ,कहाँ र कतिबेला सक्रिय बढी हुने गर्दछ ?
मुख्यतय एडीस जातको इजिपटाई तथा एल्बोपिक्ट्स प्रजातिको लामखुट्टेले डेंगु फैलाउने गर्दछ। यसको जीउ र खुट्टा कालो सेतो छिरबिरे रंगको हुने गर्दछ। यो मानिस बसोबास गर्ने ठाउँ वरिपरि बस्न रुचाउँदछ। यसको वृद्धिविकास सफा पानीमा हुने हुँदा घरमा जम्मा गरी राखेका पानीमा पनि देखिने गर्दछ। त्यस्तै घर वरिपरि फलेका बाल्टिन, प्लास्टिक, गाडीका टाएरहरुमा पानी जम्मा भएको रहेछ भने एडीसका लार्भाहरु प्रशस्त हुनसक्दछ। यो लामखुट्टे सामान्यतय दिनमा सक्रिय हुने र टोक्ने गर्दछ। तसर्थ, डेंगु फैलिएको ठाउँमा कार्यस्थल रहेको भए डेंगु संक्रमित हुने सम्भावना बढी हुने गर्दछ। इपीडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले झन्डै एक दशक अगाडि नै सर्भे गर्दा एडीस जातको लामखुट्टे प्रशस्त पाहिएको जानकारी सार्वजनिक गरेको थियो।
डेंगुका लक्षणहरु कस्ता हुन्छन्?
१) ज्वरो आउनु।
२) टाउको दुख्नु ।
३) आँखाको गेडी दुख्नु।
४) शरीरमा स-साना थोप्ला जस्तो बिबिरा देखिने।
५) मांशपेशीका तथा जोर्नी असाध्य दुख्नु।
खतराका संकेतहरु के के हुनसक्दछ?
१) निरन्तर बान्ता हुनु।
२) पेट असाध्यै दुख्नु।
३) रक्तस्राब हुनु।
४) आलश्य वा व्यग्रता हुनु।
५) पेटमा पानी जम्नु (स्वास्थकर्मीले शारीरिक परिक्षण वा पेटको अल्ट्रासाउन्डा गरेर थाहा हुन्छ)।
६) कलेजोको आकार बढ्नु (स्वास्थकर्मीले शारीरिक परिक्षण वा पेटको अल्ट्रासाउन्डा गरेर थाहा हुन्छ) ।
७) रगत जाँच गर्दा प्लेटेलेट्सको संख्या तिब्र गतिमा घट्नु र हेमाटोकृत बढ्नु।
यी माथि उल्लेखित खतराका संकेतहरु देखिए तुरुन्त चिकित्सकको निगरानीमा उपचार शुरु गर्नु पर्दछ। यी संकेतहरु ज्वरो घटेको (१०० डिग्री फरेन हाइट भन्दा तल) २४ देखि ४८ घन्टामा देखिन सक्दछ। फ्लेक्सन, ब्रुफेन, एस्पिरिन जस्ता पेनकिलर औषधिहरुको प्रयोग कुनै पनि हालतमा गर्नु हुदैन। बरु आवश्यकता अनुसार (ज्वरो/शरीर दुखेमा) सिटामोल भने लिन सकिन्छ। स्वास्थकर्मीहरुले पनि माथि उल्लेखित लक्षणहरु बिरामीमा देखिए प्रयोगशाला परिक्षण गर्दा डेंगुलाई पनि समाबेश गर्नुपर्दछ। डेंगु फैलिएको ठाउँमा लामखुट्टेको लार्भा "खोज र नष्ट गर" अभियानलाई संचालन गर्नुपर्दछ। सन् २०१९ मा काठमाडौँमा डेंगु फैलदा लेखकले यहाँका बासिन्दामा डेंगु सम्बन्धी जानकारी/चेतना न्यून देखेकोले, "डेंगु सम्बन्धि जानकारीमुलक" प्रचार प्रसार पनि गर्न उत्तिकै जरुरी देखिन्छ।