काठमाडौं– नेपाली चिकित्सक यतिबेला चुनावी माहोलमा छन्। नेपाल मेडिकल काउन्सिलको एकजना उपाध्यक्ष र आठजना सदस्य पदका लागि आगामी मंसिर ३ देखि ११ गतेसम्म निर्वाचन हुँदैछ।
४ वर्षे कार्यकालका लागि एकजना उपाध्यक्षको पदमा ३ जना र आठजना सदस्य पदका लागि ३२ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
काउन्सिलको निर्वाचन समितिले काठमाडौं उपत्यका बाहिर मंसिर ३ र ४ तथा काठमाडौं उपत्यकाभित्र मंसिर १० र ११ गते निर्वाचन गर्ने मिति पनि तय गरिसकेको छ।
यसअघि २०७४ सालमा निर्वाचित कार्यकारीहरुको पदावधि असोज ५ गते समाप्त भइसकेको छ।
उम्मेदवारी दिएका चिकित्सकहरु विभिन्न योजना र प्रतिवद्धता सार्वजनिक गर्दै मत माग्न व्यस्त छन् भने अन्य चिकित्सकहरु काउन्सिलको यसअघिका पदाधिकारीको कामको समिक्षा गर्दै र नयाँ उम्मेदवारी दिएकाहरुको योजना हेर्दै छन्।
चिकित्सा शिक्षा आयोगले पूर्णता पाएपछि काउन्सिलको जिम्मेवारी र काम केही कम भएको छ। काउन्सिलको बाँकी काम र जिम्मेवारी सम्हाल्न तथा चिकित्सकको हक हितको नारा लिएर उम्मेदवारी दिने चिकित्सकहरुमा भने उत्साह कम भएको छैन।
स्वास्थ्यखबरले काउन्सिलको आगामी निर्वाचनका लागि उम्मेदवारी दिएका चिकित्सकहरुसँग उनीहरुले काउन्सिलमा उम्मेदवारी दिनुको कारण, उनीहरुको योजना र प्रतिवद्धता लगायतका विषयमा कुराकानीको श्रृंखला सुरु गरेको छ।
जसमध्ये पहिलो श्रृंखलामा काउन्सिलको सदस्य पदमा उम्मेदवारी दिने ३२ जनामध्ये डा निर्मल प्रसाद साहसँग कुराकानी गरेको छ।
डा साह बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबिबिएस तथा एमएस अध्ययन पुरा गरी सोही प्रतिष्ठानमा ५ वर्षदेखि कार्यरत छन्।
उनीको चुनावी नारा छ, ‘चिकित्सकहरुको पेशागत र सहकार्यको आव्हान एनएमसीको सदस्य पदका लागि डा निर्मललाई मतदान।’
डा निर्मलको उम्मेदवारी किन? के-के छन् प्रतिवद्धता? डा निर्मलको जवाफ उनकै शब्दमाः
कुनै पनि संस्थामा एक्लै कार्य गर्ने भन्ने हुँदैन। समूहमा काम गर्ने हो। मैले एक्लै गर्छु भन्न मिल्दैन। अहिले नेपाल मेडिकल काउन्सिल (एनएमसी)को कतिपय काम तथा जिम्मेवारी चिकित्सा शिक्षा आयोगमा गइसकेको छ। अहिले लाइसेन्स परीक्षा लिने तथा डाक्टरहरुलाई कन्ट्रोल गर्ने कोड अफ कन्डक्ट छ।
एनएमसी भनेको डाक्टर फ्रेन्डली हुनुपर्छ। एनएमसी भनेको चिकित्सकहरुकै संस्था हो। चिकित्सकहरुको लागि एनएमसी उपयोगी हुनुपर्छ। अहिले ७ वटा प्रदेशहरु छन् तरपनि केही काम पर्दा एनएमसी खोज्न काठमाडौं नै आउनुपर्ने बाध्यता चिकित्सकहरुको छ। प्रदेशहरुमा एनएमसीको कुनै शाखा वा केही छैन। हरेक प्रदेशमा एनएमसीको शाखा कार्यालय भयो भने डाक्टरहरुलाई सजिलो हुन्छ। यसमा केही गर्नुपर्छ।
अर्को रिकोग्नाइजेसनको कुरा छ। विदेश जाँदा रिकोग्नाइजेसन गर्ने कुरा अहिले भएको छैन। यसमा एनएमसीले काम गर्नुपर्छ। त्यसो भएमा यहाँका चिकित्सकहरु बाहिर गएर काम गर्न पनि सहज हुन्छ।
अहिलेको जमानानै डिजिटलाइज छ। एनएमसीबाट हुने कामलाई पनि डिजिटलाइज गर्नुपर्ने देखिन्छ।
नेपालमा अहिले चिकित्सा शिक्षामा स्नातक तह अध्ययन पूरा गर्नेको संख्या करिब २८ हजार छन् तर स्नातकोत्तर अर्थात एमडी एमएस गर्नेको संख्या ७ हजार मात्रै छ। यो ‘ग्याप’ हरेक वर्ष थपिँदै गइरहेको छ। यो ‘ग्याप’ कम गराउन जिल्लाहरुमा भएको जनरल अस्पताल तथा टिचिङ अस्पतालहरु मार्फत पिजीको अध्ययनका लागि सिट विकास गर्न सकिन्छ। पिजी सिट बढाउन आवश्यक छ।
डाक्टरहरुको ड्युटी आवरको कुरा पनि छ। अन्य देशहरुमा रेजिडेन्ट डाक्टरहरुको पनि ‘ड्युटी आवर’ तोकिएको हुन्छ। मेरो भाइ नै पनि भारतमा अध्ययन गर्दैछ। उसको ‘ड्युटी आवर फिक्स’ हुन्छ। तर यहाँ नेपालका रेजिडेन्ट चिकित्सकको कुनै ड्युटी आवर नै छैन। काम छ भने २ दिनसम्म बसिरहनु पर्छ। रेजिडेन्ट डाक्टरको पनि ड्युटी आवर तोकिनुपर्छ। त्यो भयो भने उनीहरुलाई काम गर्न सहज हुन्छ।
काउन्सिलको सदस्य पदमा उम्मेदवारी दिँदै गर्दा धेरै कुरामा सुधार गर्ने योजना बनाएको छु। तर यी मध्ये पनि मेरा प्रमुख पाँच एजेन्डा भने यस्ता छन्:
१. नेपाल मेडिकल काउन्सिलको परीक्षालाई व्यवस्थित, स्तरीय साथै अन्तराष्ट्रिय मापदण्डको बनाउन पहल गर्ने।
२. एनएमसीको परीक्षालाई प्रविधिमैत्री बनाउन पहल गर्ने।
३. मालप्राक्टिसलाई हदैसम्म नियन्त्रण गर्न सर्वपक्षिय पहल गर्ने साथै अन्य व्यवसाय परिषदसँग समन्वय गर्न पहल गर्ने।
४. फरेन ग्राजुयटको समस्या, इक्युभ्यालेन्स आदिको झन्झटिलो प्रक्रियालाई सहज बनाउन पहल गर्ने।
५. एमबिबिएस-इन्टर्नसिप र मेडिकल अधिकृतको सीप विकासका लागि सर्ट टर्म ह्यान्डस अन ट्रेनिङका निम्ति सम्बन्धित निकायसँग पहल गर्ने।
काउन्सिलको सदस्य पदमा निर्वाचित भएर यस्तै कुराहरुमा सुधारका लागि लबिइङ गर्ने मेरो सोच छ।
नोट: स्वास्थ्यखबरले मेडिकल काउन्सिलको निर्वाचनमा उम्मेदवारी दिएका सबै उम्मेदवारहरुको भनाई र योजना प्रकाशित गर्दै जाने छ। कृपया यो इमेल [email protected] मा आफ्ना योजना तथा निर्वाचनमा उठ्नुको कारण पठाउनु होला। धन्यवाद।