काठमाडौं– सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पक्राउ गर्नुको कारण र आधार पेस गर्न गृह मन्त्रालय र प्रहरीका नाममा आदेश जारी गरेको छ।
प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको भनी दायर बन्दीप्रत्यक्षीकरणको निवेदनमा न्यायाधीश डा मनोज शर्माको इजलासले लिखित जवाफ पेस गर्न आदेश दिएको हो।
सर्वोच्च अदालतले प्रसाईंलाई समेत अदालतमा उपस्थित गराउनु भनी आदेश दिएको छ।
मेडिकल व्यवसायी प्रसाईंले कम्बोडियाको टेलिकममा प्रधानमन्त्री ओलीको साढे ३२ अर्ब लगानी रहेको आरोप लगाउँदै कागजपत्रहरु सार्वजनिक गरेका थिए। उनले सार्वजनिक गरेको कागजपत्र किर्ते रहेको प्रहरीको प्रारम्भिक निष्कर्ष रहेको छ।
प्रसाईंलाई प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोबाट गएका टोलीले गत मंगलबार पक्राउ गरेको हो।