विश्वभर दैनिक लाखौंले कोभिड-१९ विरुद्धको खोप लिइरहेका छन्।र यो खोप अभियान महिनौ वा बर्षौसम्म निरन्तर चलिरहने छ। खोप लगाएपछि के गर्ने/नगर्ने वा खाने/नखाने भन्ने जिज्ञासाहरु खोप प्रापकहरुमा रहने गरेका पाइन्छ।नेपालमा त झन् बिरामी हुँदा होस् वा औषधि लिँदा वा खोप लिएपछि यस्ता प्रश्न/जिज्ञासाहरु लगभग सबैमा रहने गरेको पाइन्छ। नेपालमा पनि हाल खोपले निरन्तरता पाइरहँदा खोप प्रापकहरुले के नखाने/नगर्ने भनेर लेखकसँग पनि जिज्ञासा राख्ने गरेका छन्।
खोप लगाएपछि के नखाने/नगर्ने ?
१) रक्सी /चुरोट नपिउने- यस सम्बन्धित वैज्ञानिक अनुसन्धानहरु भएका त छैनन, तर रक्सी /चुरोट प्रयोग गर्दा इम्युनिटी (रोग प्रतिरोध) प्रणालीमा नकारात्मक असर पार्ने र त्यसको कारणले खोपबाट प्राप्त हुनसक्ने/अनुमानित उच्चतम फाइदा नपाउन सक्नेछ।
२) खोप लगाएपछि स्वास्थ मापदण्डमा बेवास्ता नगर्ने- खोप लगाएपछि पनि संक्रमित हुनसक्दछ र कोरोना भाइरस खोप लगाउन नपाएका वा खोप पर्खिरहेकासम्म खोप लगाएकाहरु नै मध्यम बनेर संक्रमण फैलन सक्नेछ।
३) निरन्तर स्वास्थ समस्या देखिए बेवास्ता नगर्ने- खोप लगाएपछि सामान्य स्वास्थ समस्याहरु देखिन्छ जुन केहि दिनमा कम भएर जानेछ तर यदि त्यस्तो समस्याहरु निरन्तर देखिए वा जटिल हुदै गरे तुरुन्त चिकित्सकलाई सम्पर्क गर्नु पर्दछ।
४) कडा शारीरिक क्रियाकलाप/काम नगर्ने- खोप लगाएको २/३ दिन सम्म कडा शारीरिक क्रियाकलाप/काम नगर्ने किनभने शरीरमा स्वास्थ समस्याहरु देखिएको भए कम हुन केहि दिन लाग्न सक्दछ।
५) अति आवश्यक खोपहरु नछुटाउने- कहिले काहि कोभिड-१९ खोप संगसंगै जीवन रक्षाको लागि अरु आवश्यक/नियमित खोपहरु पनि लगाउनु पर्ने अवस्था आउन सक्दछ। त्यस्तो बेला खोपहरु छुटाउनु हुँदैन।
-(डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवारोग अस्पतालको क्लिनिकल रिसर्च युनिट संयोजक हुन्)