एक परिवारका सबै सदस्यहरुमा खोकी र ज्वरो देखिएपछि कोरोनाको त्रास सृजना भयो। अहिलेको अवस्थामा त्रास देखिनु स्वाभाविक पनि थियो। त्रासले गर्दा एक हप्तामा तीन पटकसम्म कोरोनाको परीक्षण गर्दा नेगेटिभ नै देखियो। तर मनमा कोरोनाको डर यथावत थियो। तसर्थ टेकु अस्पतालमा पुगी थप परीक्षण गर्दा फ्लू भाइरस पोजिटिभ देखियो।
अर्को उदाहरण, केहि दिनको खोकी लगत्तै ज्वरो आउने, घाँटी दुख्ने, थकित हुने, टाउको दुख्ने समस्याहरु देखिएपछि आफ्नो श्रीमतीलाई कोरोना शंका लागेर परीक्षण गर्न टेकु अस्पताल आइपुगेका थिए एक दम्पति। तर अनुमान बिपरित फ्लू "बी" पोजिटिभ देखियो भने कोरोनाको पिसिआर गर्दा नेगेटिभ देखियो।
यी दुई प्रतिनिधि उदाहरणहरु मात्र हुन्, तर लेखकले पछिल्लो समयमा फ्लू संक्रमितहरु बढ्दै गएको तथ्यांक देखेको छ। सन् २०२१ सालको शुरुवातीसंगै फ्लू भाइरस नेपालका विभिन्न ठूला शहरहरुमा देखिन थालेका छन्। यस्तो अवस्था सन् २०२० भने थिएन। फ्लू र कोरोनाका लक्षणहरु धेरैजसो एक अर्कासंग मिल्दोजुल्दो हुनु नै मानिसमा डर/मनोत्रास सृजना हुने मुख्य कारण हो।
फ्लू "ए" र "बी" भाइरस हरेक सिजनमा देखिने गर्दछ। एचवान एनवान (स्वाईन फ्लूको नामले चिनिने), एच थ्री (हंगकंग फ्लूको नामले चिनिने), एचफाइभ एनवान (बर्ड फ्लूको नामले चिनिने) भाइरसहरु फ्लू "ए" अन्तर्गत पर्ने केहि मुख्य भाइरसहरु हुन्। बर्ड फ्लू मानिसमा संक्रमण गर्न शुरु भएको ठिक दश बर्षमा (सन् २०१९ मा) नेपालमा पनि बर्ड फ्लू संक्रमणले मानिसको मृत्यु भएको थियो। यो नै नेपालको इतिहासमा बर्ड फ्लूको कारणले भएको प्रमाणित मृत्यु थियो। कोरोना भन्दा अघिल्लो पेनडेमिकको रुपमा स्वाईन फ्लू देखिएको थियो। तत् पश्चात यो भाइरस सिजनल फ्लूको रुपमा देखिँदै आइरहेको छ।
चाखलाग्दो कुरा के छ भने, कोरोना भाइरसको प्रवेश भएपछि भने आजको मितिसम्म स्वाईन फ्लू भाइरस देखिएको छैन। तर फ्लू "ए" अन्तर्गत पर्ने फ्लू हंगकंग फ्लू भने देखिँदै आइरहेको छ। हरेक फ्लू सिजनमा हंगकंग फ्लू र स्वाईन फ्लू संगसंगै देखिँदै आइरहेका थिए। नेपालको फ्लू सिजन फेब्रुवरी–मार्च तथा जुलाई–अगस्ट गरि बर्षमा दुई पटक मानिन्छ। तसर्थ आगामी केहि हप्तामा फ्लू संक्रमित बढ्दै जाने निश्चित प्राय देखिन्छ तर सबै ठाउँमा यसको परीक्षणको सुविधा नहुँदा यकिन तथ्यांक भने आउने छैन। फ्लू "बी" भाइरसले पनि कडा लक्षणहरु देखाउने गर्दछ। लेखकले विगतमा फ्लू "बी" भाइरस संक्रमितहरु सिकिस्त भएको देखेको पनि छ। तर फ्लू "बी" भाइरसले हालसम्म पेनडेमिकको रुप लिएको भने छैन।
फ्लू भाइरसले संक्रमण गरे सामान्यदेखि कडा लक्षणहरु देखिन सक्दछ। ज्वरो, खोकी लाग्नु, घाँटी दुख्नु, नाकबाट पानी बग्नु, जीउ दुख्नु, टाउको दुख्नु, थकित हुनु र कसैकसैलाई पखाला लाग्नु यसका मुख्य लक्षणहरु हुन्। सामान्यतय संक्रमण गरेको एकदेखि चार दिन सम्ममा लक्षणहरु देखिने गर्दछन्। बिरामी हुन सुरु भएको तीन चार दिनमा लक्षणहरु कडा हुनसक्दछ। संक्रमितले लक्षण देखिएको एक दिन अगाडि र त्यसपछिको पाँच-सात दिनसम्म भाइरसहरु अरुलाई सार्न सक्दछ। निमोनिया रोग फ्लूको जटिल अवस्थामा बढी देखिने गर्दछ। फ्लू भाइरसले दीर्घ रोगी, गर्भवती तथा बालबालिकामा बढी स्वास्थ जटिलता ल्याउने गर्दछ। फ्लूविरुद्ध ओसेलटामिभिर नामक एन्टीभाइरल औषधी प्रयोग गरिन्छ। यो लक्षण देखिएको ४८ घण्टा भित्र प्रयोग गर्दा राम्रो नतिजा दिने गर्दछ। अर्थात् संक्रमितहरुले द्रुत गतिमा स्वास्थ्यलाभ गर्ने छन्। फ्लूविरुद्धको खोप पनि उपलब्ध छ। खोपले विशेष गरेर दीर्घ रोगीहरुलाई जटिल अवस्था हुनबाट रोक्ने गर्दछ। फ्लू परिक्षणको लागि र्यापिड टेष्ट तथा पिसिआर दुवै प्रबिधिको प्रयोग गर्ने गरिन्छन्। पिसिआर प्रबिधिबाट स्वाईन फ्लू (एचवान एनवान), हंगकंग फ्लू (एच थ्री), बर्ड फ्लू (एच फाइभ एनवान) छुट्याउन सकिन्छ। हाल पिसिआर प्रबिधि कोरोना भाइरस पत्ता लगाउन प्रयोग हुँदै आइरहेको छ।
माथि उल्लेखित उदाहरणहरुले संक्रमण फ्लूको भए पनि मानिसहरुमा कोरोना डर/त्रास यथावत देखिन्छ। यो दुई भाइरसहरु लक्षणहरुको आधारमा छुट्याउन गाह्रो हुने हुँदा पनि त्यस्तो भएको हो। हाल कोरोनाको त्रास बढी देखिएको भएता पनि फ्लू संक्रमणले पनि जटिल अवस्था ल्याउन सक्ने वा मृत्यु गराउने लेखकसंग विगतका अनुभवहरु छन्। तसर्थ फ्लुलाई पूर्णरुपमा बेवास्ता गर्न हुदैन।
अन्तमा, सन् २०२१ देखि नेपालमा फ्लू भाइरसले फेरि कम्ब्याक गरिसकेको र फैलदै गरेको तथ्यांकले देखाउदछ। फ्लू भाइरसको उपचार वा परामर्श कोरोनाको भन्दा फरक हुने गर्दछ। हाल कोरोनासंगै फ्लू पनि देखिएको र यी दुई भाइरसहरु बीच लक्षणहरु धेरै मिल्दो जुल्दो हुँदा फ्लू संक्रमितहरुले कोरोनाको पनि थप त्रास/मानसिक तनाब लिनु परेको देखिन्छ। तसर्थ रुघाखोकी, ज्वरो देखिएर यी दुई (फ्लू र कोरोना) मध्ये कुनै एकको टेष्ट नेगेटिभ देखिए, अर्को भाइरसको निदान गर्नुपर्दछ।
-(डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवारोग अस्पतालको क्लिनिकल रिसर्च युनिट संयोजक हुन्)