आजभोलि जोकोहीलाई पनि कहीँ/कतै बस्दा लामखुट्टेले टोक्ने गरेको पाइन्छ। लामखुट्टे कालो-सेतो, छिरबिरे रङको देखिन्छ। यसलाई एडीस जातको लामखुट्टे पनि भनिन्छ।
एजीपटाई तथा एल्बोपिकट्स गरी मुख्य दुई एडीस जातका लामखुट्टेहरु नेपालमा प्रशस्त पाइन्छन्। यी जातका लामखुट्टेहरुले डेंगु, चिकुनगुनिया तथा जिका जस्ता भाइरसहरु फैलाउने गर्दछन्। लामखुट्टेको सक्रिय (टोक्ने) समय मानिसको दैनिक तालिकाजस्तै कार्यालय खोल्ने र बन्दको समयसँग मिल्ने हुँदा मैले यसलाई 'स्मार्ट लामखुट्टे'को उपनाम दिएको हुँ। यी समयमा मानिसहरु आफ्नो कार्यव्यस्तताले गर्दा टोकेको थाहा नहुने, लखेट्न सम्भव नहुने तथा रातमा (सुनसान) जस्तो लामखुट्टेको आवाज थाहा नपाउने हुन्छ।
'स्मार्ट लामखुट्टे' एडीस देखिँदै जाँदा डेंगु र चिकुनगुनिया भाइरसको जोखिम पनि बढ्दै गएको छ। नेपालमा सन् २००४ र सन् २०१३ मा पहिलोपटक डेंगु र चिकुनगुनिया भाइरसहरु क्रमश: पत्ता लागेका हुन्। चिकुनगुनिया भाइरस मैले नेपालमा पहिलोपटक पत्ता लगाएको थिएँ। मनसुन सिजन सुरु भएसँगै डेंगु पनि फाट्टफुट्ट देखापरिसकेको छ। सामान्यतया डेंगु नेपालमा हरेक वर्ष पोस्ट मनसुनको समयमा (दसैं-तिहारतिर) बढी देखिने गरेको पाइन्छ। तर, सन् २०१९ मा भने मनसुन सुरु हुनुअगावै सुनसरीको धरानबाट सुरु भई नेपालका अधिकांश जिल्लाहरुमा फैलिएको थियो। नेपालको इतिहासमा नै त्यो सबैभन्दा ठूलो र लामो समयसम्म फैलिएको डेंगु थियो। र, त्यो अप्रत्यासित पनि थियो।
मैले काठमाडौंमा डेंगु देखिन सुरु भएदेखि अन्त्यसम्ममा हजारौँ संक्रमितलाई उपचार अथवा परामर्श दिएको थिएँ। चाखलाग्दो कुरा के थियो भने, डेंगु नेपालमा सन् २००४ देखि नै थाहा हुँदै आइरहेको भएता पनि अधिकांश काठमाडौंवासीलाई भने डेंगुको बारेमा राम्रो जानकारी नै थिएन। परिणामस्वरुप, डेंगुको बारेमा मिथ्या वा अफवाहले मानिसहरुबीच व्यापकता पाएको थियो।
चिकुनगुनिया भाइरस सन् २०१३ मा पत्ता लागे पनि परीक्षणले भने नियमितता पाएको छैन। नेपालमा यो भाइरस कति र कसरी फैलिइरहेको छ भन्ने यकीन तथ्यांक छैन। तर, टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सन् २०१६ मा झन्डै आधा दर्जनको हाराहारीमा चिकुनगुनिया भाइरस पुष्टि भएको थियो। यसबाट मृत्यु दुर्लभ मानिए पनि भारतको अहमेदाबाद सहरमा भने सन् २०१६ मा गरेको अनुसन्धानले १२ प्रतिशत संक्रमितको निधन भएको देखाएको छ। यस्तो परिवर्तनले भारतीय चिकुनगुनिया भाइरसमा म्युटेसन (अनुवांशिक उत्परिवर्तन) भइरहेको हुनसक्ने अनुमान गर्न सकिन्छ। यद्यपि, यसको पुष्टि भने अनुसन्धानबाट गर्नुपर्ने हुन्छ। सन् २०१७ मा नेपालमा पनि पहिलोपटक तीन जना चिकुनगुनिया भाइरस सक्रमितको मृत्यु भएको ईपीडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पुष्टि गरेको थियो।
'स्मार्ट लामखुट्टे' एडीसले जिका भाइरस पनि फैलाउने गर्दछ। सन् २०१५ मा (ब्राजिलमा) जिका संक्रमित गर्भवती महिलाहरुबाट जन्मिएका धेरै शिशुहहरुमा टाउकाको आकार सानो हुने 'माइक्रोकेफाली' भनिने एक प्रकारको स्वास्थ्य समस्या देखिएपछि विश्वको ध्यान आकृष्ट भएको थियो। यसले मस्तिष्क/स्नायुसँग सम्बन्धित अरु स्वस्थ्य समस्याहरु पनि ल्याउने गर्दछ। छिमेकी देश भारतमा सन् २०१६ देखि जिका संक्रमित देखिन सुरु भएको थियो। यद्यपि, त्यो समयभन्दा अगाडि नै जिका भाइरसको चक्र रहेको अनुमान गरिएको छ। यो भाइरसको नियमित परीक्षण नहुँदा नेपालमा यसको उपस्थिति छ/छैन यकीन गर्न सकिएको छैन। तर, 'स्मार्ट लामखुट्टे' एडीसले नै भाइरस सार्ने हुनाले जिका फैलिरहेको ठाउँबाट संक्रमित नेपाल आए नफैलिएला भन्न सकिँदैन। हाल भारतको केरला राज्यमा जिका फैलँदै गएको विभिन्न सञ्चारमध्यमहरुले जनाएका छन्।
यी तीनै वा 'त्रियो' भाइरसहरुमा सुरुआती समयमा ज्वरो आउने, शरीरमा बिबिरा आउने, जोर्नी दुख्ने, टाउको तथा जिउ दुख्ने जस्ता समान लक्षणहरु देखिने हुँदा प्रयोगशाला परीक्षण अनिवार्य हुन्छ। यी भाइरसहरुको परीक्षण पीसीआरबाट गर्न सकिन्छ। हाल कोरोना भाइरस महामारीको कारणले संक्रमण पत्ता लगाउन हरेक प्रदेशमा पीसीआर प्रविधि स्थापना भइसकेको छ। हाल यी तीन भाइरसहरु एकै पटकमा पीसीआर गरी पत्ता लगाउनसक्ने विधिको विकास भइसकेको छ। वास्तवमा, केही वर्ष अगाडि यो विधिको प्रयोग नेपालमा पनि भएको थियो। तर, हाल यो सेवा स्थगित छ। यो सेवाले भाइरसको द्रूत पहिचान र उपचारमा सहजता ल्याउनेछ।
हाल 'स्मार्ट लामखुट्टे' एडीस यत्रतत्र देखिन्छन्। यी तीन भाइरसका खोप विकास भइसकेको छैन भने विशेष औषधि पनि छैन। तसर्थ, लामखुट्टेलाई संक्रमण फैलिसकेपछि 'खोज र नष्ट' अभियान गर्नुभन्दा अहिले नै यसको वृद्धि विकास हुने वातावरण सिर्जना हुन नदिनु नै बुद्धिमानी हुनेछ।
-(डा पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजकका रुपमा कार्यरत छन्।)