काठमाडौं- खोटाङकी ३९ वर्षीया सरिता तामाङ गत चैतमा मिर्गौला प्रत्यारोपण गर्ने तयारीमा थिइन्। ५७ वर्षकी आमा सरितालाई मिर्गौला दिन खोटाङबाट काठमाडौं आइसकेकी थिइन्।
काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा गत फागुन अन्तिम साता दुवै जनाको स्वास्थ्य जाँच पनि गरियो। स्वास्थ्य जाँचको रिपोर्टले सरितालाई आमाले मिर्गौला दिन मिल्ने देखायो। टिचिङ अस्पतालका चिकित्सकहरुले केही दिनमै मिर्गौला प्रत्यारोपणका लागि अस्पतालमा भर्ना गर्ने योजना समेत बनाइसकेका थिए।
सरितालाई मिर्गौला प्रत्यारोपण गरेपछि केही महिनामै पहिलाकै जस्तो स्वस्थ भइने र नियमित डायलाइसिस गर्न नपर्ने चिकित्सकले बताएका थिए।
मिर्गौला बिग्रिएर नियमित डायलाइसिस गराउनुपर्ने बाध्यता भएपछि उनी ३ वर्षदेखि गाउँ छाडेर काठमाडौंमा डेरा लिएर बसेकी थिइन्। मिर्गौला प्रत्यारोपण गरेपछि केही महिनामै गाउँ फर्किने योजनामा थिइन् उनी।
तर, सरिताले सोचेजस्तो भएन। गत वर्ष चीनबाट सुरु भएको कोरोना संक्रमणले विश्वभर महामारीको रुप लिँदै गयो। नेपालमा पनि कोरोना संक्रमित भेटिन थाले।
कोरोना संक्रमित भेटिन थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गत चैत ७ गतेदेखि काठमाडौं उपत्यकाका ५० शय्या माथिका अस्पताललाई ओपिडी र अप्रेसन सेवा चैत मसान्तसम्म बन्द गर्न निर्देशन नै दियो। सबै ठूला अस्पाललाई कोरोनाका बिरामीलाई उपचार र व्यवस्थापन गर्न तयारी अवस्थामा राख्न भनियो।
स्वास्थ्य मन्त्रालयको निर्देशनपछि त्रिवि शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा पनि बन्द भयो। त्यसयता त्रिवि शिक्षण अस्पतालमा यही पुस २९ गतेबाट मात्र मिर्गौला प्रत्यारोपण सेवा सुरु भएको छ।
लामो समयदेखि सेवा सुचारु नहुँदा चैतदेखि नै मिर्गौला प्रत्यारोपणको तयारीमा रहेकी सरिता डायलाइसिसमै बस्न बाध्य छिन्। ‘चैतमा मिर्गौला प्रत्यारोपण गर्न पाएको भए, यतिबेला त स्वस्थ भएर गाउँ फर्किसकेको हुन्थें होला,’ उनले भनिन्, ‘प्रत्यारोपण सेवा नै बन्द भएपछि डायलाइसिस गर्न काठमाडौंमै बसिरहेको छु।’
खोटाङमा मिर्गौलाका बिरामीलाई डायलाइसिस सेवा उपलब्ध छैन। सरिताका लागि विराटनगर वा धरान घरपायक पर्ने भए पनि डायलाइसिस गर्ने बिरामीहरु धेरै हुँदा पालो पाउन मुस्किल छ। डायलाइसिसमै जीवन बिताउनुभन्दा आमाको मिर्गौला लिएर स्वस्थ भएर बाँच्ने रहर उनलाई छ।
‘काठमाडौंमा डेरामा बस्न गाह्रो छ, बेलैमा मिर्गौला प्रत्यारोपण गर्न पाए त गाउँ फर्किन हुन्थ्यो,’ उनले भनिन्, ‘अन्त जान पनि फेरि सबै परीक्षण गर्नुपर्ने रहेछ, तीन वर्षमा धेरै खर्च भइसक्यो, टिचिङमै प्रत्यारोपण गर्न पाए त हुन्थ्यो।’
लमजुङका ४० वर्षीय मानबहादुर गौतम पनि सरिता तामाङजस्तै मिर्गौला प्रत्यारोपण गर्नका लागि टिचिङमा सेवा खुल्ने पर्खाइमा छन्। ‘गत फागुनमै मिर्गौला प्रत्यारोपण गर्ने तयारी थियो, एक पटक मेरो स्वास्थ्य अवस्थाले गर्दा प्रत्यारोपण रोकियो, एक पटक डोनरमा समस्या देखियो। अर्को साता–अर्को साता समय थप हुँदै चैत महिनालाई सरेको थियो,’ गौतमले भने, ‘चैतबाट त सेवा नै बन्द भयो, अब त एक वर्ष नै हुन लाग्यो, अहिलेसम्म प्रत्यारोपण गर्न पाइएन।’
गौतम अहिले मिर्गौला प्रत्यारोपण गर्ने तयारीका लागि त्रिवि शिक्षण अस्पतालमा पुनः स्वास्थ्य परीक्षणहरु गराइरहेका छन्। ‘डायलाइसिस मात्रै गरेर बस्दा समस्या देखियो, डायलाइसिसमै बस्नुभन्दा प्रत्यारोपण नै गर्ने भनेर लागियो, पोहोर पनि प्रत्यारोपण गराउन पाइएन,’ उनले भने, ‘टिचिङमा अब त सेवा खुलेकाे छ, अब चाहिँ प्रत्यारोपण गर्न पाइन्छ कि !’
कोरोना संक्रमण न्यूनीकरण तथा संक्रमितको उपचार व्यवस्थापनका लागि भन्दै त्रिवि शिक्षण अस्पतालका आकस्मिक बाहेकका अघिकांश सेवा डेढ महिनासम्म बन्द भए। त्रिवि शिक्षण अस्पताल मात्र होइन, भक्तपुरको सहिद धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्र, वीर अस्पताल तथा अन्य निजी अस्पतालहरुमा हुने मिर्गौला प्रत्यारोपण सेवा चैतदेखि करिब ८ महिनासम्म बन्द भयो। जसले गर्दा मिर्गौला प्रत्यारोपणको योजनामा रहेका बिरामीहरु डायलाइसिस सेवामै बस्न बाध्य भए।
त्रिवि शिक्षण अस्पतालमा २०७५ साल चैत देखि २०७६ चैत महिनासम्ममा ७३ जनाको मिर्गौला प्रत्यारोपण गरिएको थियो। पुनः सेवा सञ्चालन भएपछि बिरामीहरू प्रत्यारोपणकाे लागि पालाे कुरिरहेका छन।
चिकित्सा शास्त्र अध्ययन संस्थान, आइओएमकी डिन एवं टिचिङ अस्पतालकी नेफ्रोलोजी विभागकी प्रमुख डाक्टर दिव्यासिंह शाहले तत्कालीन अवस्थामा अस्पतालको बेड र स्वास्थ्यकर्मीहरु कोरोना संक्रमितको उपचार तथा व्यवस्थापनका लागि तयारी अवस्थामा हुनुपर्ने भएकाले मिर्गौला प्रत्यारोपण सेवा बन्द गरिएको बताइन्। उनले नेपालमा मात्र नभई कोरोना संक्रमण देखिएका अघिकांश देशहरुको प्रत्यारोपण सेवा प्रभावित भएको बताइन्।
‘सरकारले नै इलेक्टिभ अप्रेसन बन्द गर्नु भनेको थियो, ट्रान्सप्लान्ट अप्रेसन पनि एक प्रकारको इलेक्टिभ अप्रेसन नै हो, यो आकस्मिक अप्रेसन होइन,’ डा शाहले भनिन्, ‘हामीले मिर्गौला दिने र लिने दुवै व्यक्तिको स्वास्थ्य परीक्षण गरेर पूर्वतयारी गरेर नै प्रत्यारोपण गर्ने हो, प्रत्यारोपण सेवा हाम्रो देशमा मात्र होइन, कोरोना संक्रमण देखिएका सबै देशमा बन्द भएको हो।’
मिर्गौला बिग्रिएका बिरामीले डायलाइसिस गराएर पनि लामो समय बाँच्न सक्ने भएकाले मिर्गौला प्रत्यारोपण सेवा आकस्मिक सेवाभित्र नपर्ने तर डायलाइसिस सेवा लिनै नमिल्ने अवस्थामा पुगेका बिरामीको मात्र तत्काल प्रत्यारोपण गर्नुपर्ने उनको भनाइ छ।
टिचिङमा प्रत्यारोपण सेवाका लागि पालो कुरिरहेका बिरामीहरुमा यस्तो अवस्था नभएकाले पनि तत्कालीन समयमा आकस्मिक रुपमा मिर्गौला प्रत्यारोपण सेवा प्रदान गर्न नपरेको उनले बताइन्।
‘नेपालमा कोरोना संक्रमितको दर कम हुँदै गएको र हाम्रो अस्पतालमा संक्रमितको संख्या पनि पहिलाको जस्तो नभएकोले मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेका छौं,’ डा शाहले भनिन्, ‘ गत चैतमा बन्द भएकाे सेवा २९ गतेदेखि मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिएकाे छ।पहिलाका बिरामीको पालो अनुसार स्वास्थ्य परीक्षण पनि सुरु गरिसकेका छौं।’
त्रिवि शिक्षण अस्पतालमा मात्र होइन, वीर अस्पतालमा पनि मिर्गौला प्रत्यारोपण सेवा गत चैतदेखि नै बन्द अवस्थामा छ। वीर अस्पतालका निर्देशक डा केदार सेञ्चुरीले मिर्गौला प्रत्यारोपण सेवा तत्काल सुरु गर्ने विषयमा छलफल हुन बाँकी नै रहेको बताए।
‘गत चैतदेखि नै हाम्रो अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा रोकियो,’ डा सेञ्चुरीले भने, ‘अब त कोरोना संक्रमणको दर कम भएको छ, तर हाम्रोमा मिर्गौला प्रत्यारोपण सेवा कहिलेदेखि सुरु गर्ने भनेर छलफल नै गर्न बाँकी छ।’
भक्तपुरस्थित सहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रले भने ८ महिनासम्म बन्द रहेको मिर्गौला प्रत्यारोपण सेवा मंसिर महिनादेखि पुनः सुरु गरेको छ।
अस्पतालका कार्यकारी निर्देशक प्राध्यापक डा प्रेम ज्ञवालीले विश्वमा कोरोना संक्रमणभन्दा मिर्गौलाका बिरामीको मृत्युदर बढी रहेकाले प्रत्यारोपण सेवा बन्द गर्न नहुने निष्कर्ष निकाल्दै मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको बताए।
कोरोना संक्रमण देखिन थालेपछि प्रत्यारोपण सेवा बन्द हुँदा लकडाउनको अवधिमै प्रत्यारोपणको योजनामा रहेका ४ जना मिर्गौलाका बिरामीको मृत्यु भएको डा ज्ञवालीले जानकारी दिए।
‘हाम्रो अस्पतालमा मिर्गौला प्रत्यारोपण गर्ने योजनामा रहेका ४ जना बिरामीको लकडाउनको अवधिमै मृत्यु भयोे,’ डा ज्ञवालीले भने, ‘उहाँहरुको मृत्युको घटनाले पनि हामीलाई दुःखी बनायो, उहाँहरुको योजना अनुसार पहिला नै प्रत्यारोपण भइसकेको भए सायद उहाँहरु बाँच्नुहुन्थ्यो कि भन्ने पनि लाग्यो।’
कतिपय मिर्गौलाका बिरामीले नेपालमा प्रत्यारोपण सेवा सुरु नहुँदा भारतमा समेत जाने तयारी गरेपछि केन्द्रमा मिर्गौला प्रत्यारोपण सेवा सुरु गरिएको डा ज्ञवालीको भनाइ छ।
केन्द्रमा आर्थिक वर्ष २०७५÷७६ मा ११९ जना बिरामीको मिर्गौला प्रत्यारोपण गरिएको थियो। यस्तै आर्थिक वर्ष २०७६÷७७ को साउनदेखि चैत महिनासम्ममा ५८ जनाको मिर्गौला प्रत्यारोपण गरिएको थियो। केन्द्रमा लकडाउनअघि चैत महिनामा २ जनाको मिर्गौला प्रत्यारोपण भएको डा ज्ञवालीले जानकारी दिए।
चैत ११ गते लकडाउन भएपछि भने केन्द्रमा ८ महिना अर्थात् कात्तिकसम्म मिर्गौला प्रत्यारोपण सेवा बन्द अवस्थामा थियो।
८ महिनासम्म सेवा बन्द हुँदा ४० जना बिरामी मिर्गौला प्रत्यारोपणका लागि पालो कुरेर बसिसकेको डा ज्ञवालीले जानकारी दिए।‘कोरोना संक्रमण देखिनुअघि पालो कुर्ने बिरामी १० जनासम्म हुन्थे, अहिले प्रत्यारोपणकै लागि सम्पर्कमा आइसकेका बिरामी ४० जना पुगिसकेका छन्,’ उनले भने, ‘पहिला त नियमित प्रत्यारोपण हुन्थ्यो, बिरामीहरुले धेरै समय पालो कुर्नुपर्ने अवस्था थिएन, तर लामो समय सेवा नै बन्द भएकाले प्रत्यारोपणका लागि पालो कुर्ने बिरामीको संख्या पनि बढी भयो।’
कोरोनाको त्रासका कारण मिर्गौला प्रत्यारोपण गर्ने बिरामी कम आएको हुनसक्ने भन्दै आगामी दिनमा प्रत्यारोपणका बिरामी अझै बढ्न सक्ने डा ज्ञवालीको ठम्याइ छ।
‘मिर्गौला प्रत्यारोपण सेवा सुरु भएको कतिपय बिरामीलाई जानकारी नभएको हुनसक्छ,’ डा ज्ञवालीले भने, ‘कतिपय बिरामी अझै कोरोनाको त्रासले गर्दा प्रत्यारोपण गर्न नआउनु भएको हुनसक्छ, त्यसैले अब विस्तारै प्रत्यारोपण गर्ने बिरामी थपिदै जाने सम्भावना छ।’
डा ज्ञवालीले मंसिर महिनादेखि मिर्गौला प्रत्यारोपण गर्ने बिरामीका लागि नयाँ मापदण्ड लागू गरिएको पनि जानकारी दिए। ‘हामीले केही दिनअघि मात्र मिर्गौला प्रत्यारोपणको तयारी गर्न लागेको बिरामीको मिर्गौला दिने आफन्तमा कोरोना संक्रमण भेटियो,’ डा ज्ञवालीले भने, ‘उहाँहरुको प्रत्यारोपण नै होल्ड गर्नुपर्ने अवस्था आयो। कोरोना संक्रमणको जोखिमलाई पनि मध्यनजर गर्दै नयाँ नियमहरु लागू गरेका छौं।’
डा ज्ञवालीका अनुसार मिर्गौला प्रत्यारोपण गर्ने बिरामी र मिर्गौला दिने व्यक्तिको प्रत्यारोपणका लागि अस्पतालमा भर्ना गर्नुअघि र प्रत्यारोपण गर्नुअघि दुई पटक कोरोना परीक्षण गर्न थालिएको छ। यसरी परीक्षण गर्दा दुवै जनामा पिसिआर परीक्षणको नतिजा नेगेटिभ आएमात्र उनीहरुको मिर्गौला प्रत्यारोपण गरिने डा ज्ञवालीको भनाइ छ।
अघिकांश अस्पतालमा सर्जरी सेवा प्रभावित
कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि भन्दै नेपालमा लामो समय लकडाउन र निषेधाज्ञा हुँदा मिर्गौला प्रत्यारोपण सेवामात्र होइन, अघिकांश अस्पतालका धेरै सेवाहरु प्रभावित भएका थिए।
कोरोना संक्रमण देखिन थालेपछि विभिन्न रोगको उपचारमा गरिने शल्यक्रिया सेवा पनि प्रभावित भए। सरकारले नै गत चैतमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेपछि देशभरका अस्पतालमा इलेक्टिभ अप्रेसन सेवाहरु केही समय बन्द नै भए।
अस्पतालहरुले करिब डेढ महिनाको लकडाउनपछि सर्जरी सेवाहरु स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै बिरामीको पिसिआर परीक्षण गरेर आंशिक रुपमा सेवा सुरु गरे। तर लामो समयको लकडाउन र निषेधाज्ञाका कारण बिरामी उपचारका लागि अस्पतालमा पुग्न सकेनन्।
विभिन्न अस्पतालको आर्थिक वर्ष २०७५÷७६ र आर्थिक वर्ष २०७६÷७७ को तथ्यांकलाई हेर्दा पनि अघिल्लो आर्थिक वर्षको तुलनामा कोरोना संक्रमण देखिएको आर्थिक वर्षमा मेजर र माइनर अप्रेसन गर्ने बिरामीको संख्या निकै कम छ।
वीर अस्पतालमा आर्थिक वर्ष २०७५÷७६ मा ३ हजार ६१० वटा मेजर सर्जरी भएको छ भने २ हजार १०० माइनर सर्जरी भएको देखिन्छ। यस्तै आर्थिक वर्ष २०७६÷७७ मा २ हजार ७४७ वटा मेजर अप्रेसन र ३ हजार १४२ वटामा माइनर सर्जरी भएको अस्पतालको तथ्यांक छ।
यो तथ्यांकले पनि अघिल्लो आर्थिक वर्षमा भन्दा कोरोना संक्रमण देखिएको आर्थिक वर्षमा कम सर्जरी भएको पाइन्छ।
वीर अस्पतालमा आर्थिक वर्ष २०७६÷७७ को चैतदेखि असार मसान्तसम्ममा सबैभन्दा कम मेजर सर्जरी भएको अस्पतालका निर्देशक डा केदार सेञ्चुरीले बताए।
नेपालमा कोरोना संक्रमण देखिन थालेपछि वीर अस्पतालमा अन्य रोग लिएर उपचारका लागि आउने बिरामीमा पनि कोरोना संक्रमण देखिएको थियो।
अस्पतालकै चिकित्सकहरुमा समेत कोरोना संक्रमण देखियो। यस्तै सरकारले वीर अस्पताललाई कोभिड–१९ विशेष अस्पताल घोषणा गरेसँगै अस्पतालका अन्य सेवाहरु प्रभावित भए। त्यसैले अस्पतालमा हुने जनरल सर्जरी, न्युरो सर्जरी, अर्थो सर्जरी, युरो सर्जरी, डेन्टल सर्जरी लगायतका सेवाहरु प्रभावित भए।
वीर अस्पतालका सर्जरी सेवा पूर्ण रुपमा बन्द नभए पनि कोरोना संक्रमणका कारण भएको लकडाउन र निषेधाज्ञामा सेवा लिन आउने बिरामीको संख्या निकै कम भएको निर्देशक डा सेञ्चुरीले बताए।
‘पहिला जस्तो पूर्ण रुपमा सेवा सञ्चालन भएको त थिएन। तर, हाम्रो अस्पतालमा सर्जरी सेवा पूर्ण रुपमा बन्द नै भने भएन,’ डा सेञ्चुरीले भने, ‘हामीले कोरोना संक्रमित बिरामीलाई आकस्मिक अवस्थामा सर्जरी सेवा दिएका थियौं।’ डा सेञ्चुरीले हाल भने सबै प्रकारका सेवा खुलेको जानकारी दिए।
कोरोना संक्रमणको जोखिम न्यूनीकरणका लागि भएको लकडाउन र निषेधाज्ञामा वीर अस्पताल मात्र होइन, काठमाडौं उपत्यकामा रहेका अघिकांश केन्द्रीय अस्पतालमा पनि सर्जरी सेवा प्रभावित भएको थियो। अधिकांश अस्पतालले सेड्युलमा हुने अप्रेसन सेवा केही समय बन्द गराएका थिए। तर आकस्मिक अवस्थाका अप्रेसन सेवा नरोकिएको अस्पताल प्रमुखहरुको दावी छ।
सिभिल अस्पतालमा पनि आर्थिक वर्ष २०७५÷७६ मा भन्दा आर्थिक वर्ष २०७६÷७७ मा सर्जरी सेवा लिने बिरामीको संख्या कम देखिन्छ।
सिभिल अस्पतालमा आर्थिक वर्ष २०७५÷७६ मा १ हजार ११९ मेजर र ३५३ वटा माइनर अप्रेसन भएको थियो भने आर्थिक वर्ष २०७६÷७७ मा ७९३ जनाको मेजेर र २०४ जनाको मात्र माइनर अप्रेसन भएको अस्पतालको तथ्यांक छ।
यस्तै तिलगंगा आँखा प्रतिष्ठानमा पनि आँखा सम्बन्धी रोगका बिरामीको मेजर र माइनर शल्यक्रिया प्रभावित भयो। आर्थिक वर्ष २०७५÷७६ मा २७ हजार ५०३ जनाको मेजर सर्जरी भएकोमा आर्थिक वर्ष २०७६÷७७ मा जम्मा ६ हजार ७० जनाको मात्र मेजर सर्जरी भएको प्रतिष्ठानको तथ्यांक छ।
प्रतिष्ठानमा आर्थिक वर्ष २०७५÷७६ मा ५ हजार ५१६ जनाको मेजर सर्जरी भएकोमा आर्थिक वर्ष २०७६÷७७ मा १ हजार ७८६ जनाको मात्र माइनर अप्रेसन भएको छ।
बालकालिकाको मात्र उपचार हुने केन्द्रीय अस्पताल कान्ति बाल अस्पतालमा पनि आर्थिक वर्ष २०७५÷७६ मा १ हजार ८२१ मेजर र ८२ माइनर अप्रेसन भएकोमा आर्थिक वर्ष २०७६÷७७ मा १ हजार ५० मेजर र ३९ वटा माइनर सर्जरी भएको छ।
कान्ति बाल अस्पतालमा गत चैत ११ गतेदेखि लकडाउन भएपछि इलेक्टिभ सर्जरी झन्डै ४÷५ महिना पूर्ण प्रभावित भएको अस्पतालका पेडियाट्रिक सर्जन डा विजय थापाले जानकारी दिए। डा थापाले आकस्मिक शल्यक्रिया र क्यान्सरका बिरामीको सर्जरी भने लकडाउनको समयमा पनि नरोकिएको बताए।
करिब ३ महिना अघिदेखि आंशिक रुपमा सर्जरी सेवा खुलेको डा थापाको भनाइ छ। ‘अहिले हामीले आंशिक रुपमा इलेक्टिभ सर्जरी सेवा सुचारु गरेका छौं,’ डा थापाले भने, ‘तर पूर्ण रुपमा भने अझै खुलेको छैन, दिनमा २÷४ वटा इलेक्टिभ सर्जरी हुन थालेको छ।’
डा थापाले अहिले अस्पतालका सेवा खुले पनि बिरामीहरु अघिल्लो वर्षको तुलनामा कम आइरहेको बताए। उनले भने, ‘पहिला–पहिला जाडो महिनामा सर्जरीको केस दिनमा २० जनाको आउँथ्यो भने अहिले सरदरमा २ वटा केस आइरहेको छ।
कान्ति बाल अस्पतालले केही संक्रमित बालबालिकाको समेत सर्जरी गरेको पनि डा थापाको भनाइ छ।
६ सय जना चिकित्सक तथा स्वास्थ्यकर्मी रहेको कान्ति बाल अस्पतालमा १५० जना चिकित्सक तथा स्वास्थ्यकर्मीमा कोरोना संक्रमण समेत देखियो। यीमध्ये १५ देखि २० जना चिकित्सक तथा स्वास्थ्यकर्मी सर्जरी विभागमै कार्यरत थिए।
जनशक्ति अभावका बीच अस्पतालमा दिनमा ५ वटासम्म आकस्मिक सर्जरी भएको डा थापाको भनाइ छ। अस्पतालमा भर्ना हुने बिरामीको सम्भव भए पिसिआर नभए एन्टिजेन परीक्षण गर्ने गरेको उनले बताए।
डा थापाले पहिलाकै अवस्थाअनुसार अस्पतालको सर्जिकल सेवा सञ्चालनमा आउन अझै दुई वर्ष लाग्न सक्ने बताए। ‘गत चैतमा हाम्रो ओपिडीमा लगभग २५ सय बिरामीले अप्रेसनका लागि पालो कुरेर बसेका थिए, ती बिरामीहरु विस्तारै आउन थालेका छन्, यो बीचमा पनि केही बिरामी थपिएका छन्,’ डा थापाले भने, ‘कोरोनाले गर्दा करिब एक वर्षसम्मको सेवा बन्द भयो, हाम्रो सर्जिकल विभागलाई पुरानै अवस्थामा फर्किन अझै दुई–तीन वर्ष लाग्न सक्छ।’
लामो समयदेखि सर्जिकल सेवा पूर्ण रुपमा सञ्चालनमा नआउँदा २ हजारभन्दा बढी बिरामी बालबालिका सर्जिकल सेवा लिनका लागि पालो कुरेर बसेको हुनसक्ने डा थापाले बताए। गत वैशाखमा सर्जरीको पालो पाएका बिरामीले आगामी वैशाखमा मात्र सर्जरी गर्न पाउने सम्भावना रहेको डा थापाको भनाइ छ।
‘हामीले २०७७ साल वैशाखमा अप्रेसन गर्ने भनेर मिति तोकेको बिरामीले अब २०७८ को वैशाखमा मात्र पालो पाउने सम्भावना छ,’ डा थापाले भने, ‘अबका दिनमा बिरामीको चाप अझै बढ्न सक्छ, नयाँ बिरामीले थप अर्को वर्षसम्म पालो कुनुपर्ने हुनसक्छ।’
डा थापाले सर्जरी सेवाका लागि थप एक वर्ष पालो कुनुपर्दा बालबालिकाको स्वास्थ्य अवस्था जोखिममा पर्ने खतरा समेत बढेको बताए। ‘समयमै शल्यक्रिया नहुँदा बालबालिकामा केही कम्प्लिकेसन त आउन सक्छ,’ डा थापाले भने, ‘जस्तै हर्नियाको शल्यक्रिया गर्नुपर्ने ९ महिनाको बालबालिकाले पालो कुर्दा ऊ साढे २ वर्षको उमेरमा सर्जरी गर्न आउँछ, जसले गर्दा उनीहरुमा दीर्घकालीन र अल्पकालीन समस्या देखिन्छ कि भन्ने चिन्ता थपिएको छ।’
अस्पताल व्यवस्थापक र सरकारले नियमित सेवा बाहेक अतिरिक्त समयमा पनि सेवा दिने व्यवस्था गरे समयमा अप्रेसन नगर्दा बालबालिकामा हुने जोखिम कम गर्न सकिने डा थापाको तर्क छ।
‘अस्पतालको सर्जरीको नियमित समय बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म नै हो। अबका दिनमा यो समय मात्र नभई, बिहान बेलुकाको अतिरिक्त समयमा पनि सर्जिकल विभाग र एनेस्थेसिया विभागको कर्मचारी मिलेर सेवा दिने हो भने बालबालिकामा हुने कम्प्लिकेसन कम गर्न सकिन्छ,’ डा थापाले भने, ‘यसका लागि सरकारले पनि सहयोग गर्नुपर्छ।’
दुर्घटनाका घाइते तथा हाडजोर्नी रोगका बिरामीको उपचार हुने राष्ट्रिय ट्रमा सेन्टरका निर्देशक डा सन्तोष पौडेलले चैत ११ गतेदेखि भएको लकडाउनमा अस्पतालको सेवा बन्द नगरेको दावी गरे।
‘लकडाउन भएपछि अधिकांश अस्पतालको शल्यक्रिया सेवा भन्द भयो, हामीले हाम्रो अस्पतालमा भर्ना भएका बिरामीको छिट्टै शल्यक्रिया गरेर सक्ने निर्णय गरेर सोही अनुसार काम ग¥यौं,’ डा पौडेलले भने, ‘तर पछि हाम्रो अस्पतालमा अन्य अस्पतालमा हुने बिरामीको समेत चाप बढ्यो। कोरोनाकै जोखिमको अवस्थामा पनि हाम्रो अस्पतालमा शल्यक्रिया गर्नैपर्ने बिरामीहरु आए।’
डा पौडेलले प्लान ए, बी र सी बनाएर जनस्वास्थ्यका मापदण्ड पालना गर्दै स्वास्थ्यकर्मी र बिरामी सबै सुरक्षित हुनेगरी सेवा सुचारु राखेको बताए।
लकडाउनपछि ट्रमा सेन्टरको सेवा बन्द नभएपछि बिरामीको संख्यामा केही कमी आएको छ। अस्पतालमा २०७५ साल चैत १० गतेदेखि २०७६ साल साउन ६ गतेसम्म १ हजार ७१९ जना बिरामीले सर्जिकल सेवा लिएका छन्। यस्तै कोरोना सक्रमणका कारण भएको लकडाउनको अवधि अर्थात् २०७६ चैत १० गतेदेखि २०७७ साउन ६ गतेसम्ममा ८९६ जनाले सर्जिकल सेवा पाएका छन्।
त्रिवि शिक्षण अस्पतालमा पनि कोरोना संक्रमण न्यूनीकरणका लागि गरिएको लकडाउन तथा निषेधाज्ञामा सर्जरी सेवा प्रभावित भयो। त्रिवि शिक्षण अस्पतालमा आर्थिक वर्ष २०७५÷७६ मा ५ हजार ८८५ वटा मेजर र २ हजार ४२५ वटा माइनर सर्जरी गरी ८ हजार ३१० वटा सर्जरी भएको थियो।
कोरोना संक्रमण देखिएको आर्थिक वर्ष २०७६÷७७ मा भने ४ हजार ७९९ वटा मेजर र १ हजार ७११ वटा माइनर सर्जरी गरी ६ हजार ५१० वटा मात्र सर्जरी भएको छ।
अस्पतालका प्रवक्ता रामविक्रम अधिकारीका अनुसार सरकारले इलेक्टिभ सर्जरी सेवा बन्द गर्न निर्देशन दिएपछि वैशाखसम्म सेवा पूर्ण रुपमा बन्द भयो । सरकारले त्रिवि शिक्षण अस्पताललाई कोरोना विशेष अस्पताल घोषणा ग¥यो। गत जेठ महिनामा अस्पतालमा कोरोना संक्रमित भेटिएपछि अस्पतालको इलेक्टिभ सर्जरी सेवा भदौ महिनासम्म बन्द भयो।
त्रिवि शिक्षण अस्पतालमा मिर्गौला र कलेजो प्रत्यारोपण सेवा अझै बन्द अवस्थामै छ। अन्य सर्जरी सेवाहरु भने मंसिरदेखि नियमित हुन थालेको अधिकारीले जानकारी दिए।
अस्पतालमा अहिले दैनिक मेजर सर्जरी ३७, रुटिङका २७ र आकस्मिकमा १० वटा सर्जरी हुन थालेको अधिकारीको भनाइ छ।
त्रिवि शिक्षण अस्पतालमा सामान्य अवस्थामा पनि बिरामीहरुले सर्जरी सेवा पाउन लामो समय पालो कुर्नुपर्ने बाध्यता छ। कोरोना संक्रमणका कारण सेवा बन्द भएकाले यसअघि नै पालो कुरेर बसेका बिरामी र नयाँ थपिने बिरामीको चाप अबका दिनमा बढ्न सक्ने उनको भनाइ छ।
‘हाम्रो अस्पतालमा कुनैकुनै रोगका बिरामीले मेजर सर्जरी सेवा लिन सामान्य अवस्थामा पनि एक वर्षसम्म पालो कुनुपर्ने अवस्था थियो, लकडाउनले सेवा बन्द हुँदा उहाँहरु झनै प्रभावित हुनुभयो,’ अधिकारीले भने, ‘पहिलाकै पालो अनुसार भएका बिरामीहरुलाई प्राथमिकता दिएर सर्जरी सेवा दिन थालेका छौं।’
अस्पतालका प्रवक्ता अधिकारीले नाक, कान, घाँटी सम्बन्धी शल्यक्रिया गर्नुपर्ने बिरामीले एक वर्षसम्म पालो कुर्नुपर्ने अवस्था पहिलादेखि नै रहेको बताए। यस्तै अर्थोपेडिक सर्जरी गर्नुपर्ने बिरामीले पनि लामो समय पालो कुर्नुपर्ने अवस्था रहेको उनको भनाइ छ।
‘हाम्रो अस्पतालमा इएनटी सेवा लिनेहरुले पहिला पनि एक वर्ष नै पालो कुर्नुपर्ने अवस्था थियो,’ अधिकारीले भने, ‘अर्थेपेडिकका बिरामीले पनि लामो समय पालो कुर्नुपर्ने हुन्छ।’ सामान्य सर्जरीका लागि समेत एक महिना पालो कुर्नुपर्ने अवस्था रहेको उनले बताए।