काठमाडौं– ‘मैले तपाईंहरु सबैलाई देखें, मैले आँखा देखें’ ओखलढुंगाकी ३७ वर्षीया कुसुम रम्तेल खुसीले चिच्याइन्।
छोराको हात समातेर शल्यक्रिया कक्षमा पुगेकी उनी १० मिनेटपछि देख्न सक्ने हुँदा निकै खुसी भइन्।
एकवर्ष अघिदेखि रम्तेलले आँखा देख्न छाडेकी थिइन्।
गाउँमै खेतीकिसानी गरेर जीवन निर्वाह गरीरहेकी रम्तेलको जीवन आँखा देख्न छोडेपछि अन्धकार भएको थियो।
आर्थिक अवस्था कमजोर भएकाले शहरमा पुगेर उपचार गराउने सामथ्र्य थिएन। आँखा देख्न छोडेपछि उनी घरमै झोक्राएर बसिरहन्थिन्। काँही हिड्नुपर्दा उनलाई अरुको साहरा चाहिन्थ्यो।
कोरोना संक्रमणपछि तिलगंगा आँखा अस्पतालका विशेषज्ञ चिकित्सकको टोली ओखलढुंगाको सामाुदायीक आँखा अस्पतालमा विशेष शिविर लिएर पुगेका थिए।
गत बुधबार गाउँमा शिविर सञ्चालन हुँदैछ भन्ने जानकारी पाएपछि रम्तेललाई उनका परिवारले घरबाट २ घण्टासम्मको बाटोमा बोकेरै शिविर स्थलसम्म ल्याएका थिए।
आँखाकै डाक्टरलाई भेट्न पाउने भनेपछि रम्तेलमा फेरी आँखा देख्छु कि भन्ने आसा पलायो।
तिलगंगा अस्पतालबाट ओखलढुंगा पुगेका डा वेन लिम्बुको टोलीले उनको आँखा जाँच गरे।
मोतिविन्दुको कारणले उनको दुवै आँखाको ज्योती गुमेको पत्ता लाग्यो। मोतिविन्दुको उपचार गरेमा उनको आँखाको ज्योती फर्किने कुरा डा लिम्बुले रम्तेल र उनको परिवारलाई बताए।
डाक्टरले नै उपचार गरेर आँखा देख्न सकिन्छ भनेपछि रम्तेल खुसी भइन्। शल्यक्रियाका लागि उनको अन्य स्वास्थ्यजाँच गरियो।
तर, स्वास्थ्यजाँच गर्दा उनमा रक्तचापको समस्या देखियो।
मोतिविन्दुको उपचार गर्दा बिरामीको आँखाको शल्यक्रिया गर्नुअघि एनेस्थेसिया इन्जेक्सन दिनुपर्ने हुन्छ। तर रक्तचापको समस्या भएका बिरामीलाई उक्त इन्जेक्सन दिन मिल्दैन।
दुवै आँखा नदेख्ने त्यसमा पनि इन्जेक्सन दिन नमिल्ने भएपछि डा लिम्बुको टोलीले उनको शिविरमै तत्काल शल्यक्रिया हुन नसक्ने बताए।
तर रम्तेलका परिवारले डाक्टरलाई भने, ‘शरहमा गएर पैसा तिरेर उपचार गाउन हामी सक्दैनौं, जसरी हुन्छ यही उपचार गराइदिनुस् न, अहिले उपचार भएन भने जीवनभरी यसरी नै बाँच्नुपर्ने हुन्छ।’
चिकित्सकहरु बिरामीले सफल उपचार पाएर खुसी भएको हेर्न चाहन्छन्। रम्तेलको सोही शिविरमा उपचार नगरिए निको हुन सक्ने अन्धोपनको समस्या लिएरै बस्ने देखेपछि डा लिम्बुको टोलीले उनको शल्यक्रिया गर्ने निर्णय लिए।
शिविरमा आएका सबै बिरामीको शल्यक्रिया सकिएपछि अन्तिममा उनको शल्यक्रिया गर्ने निर्णयमा चिकित्सकहरु पुगे।
तर रम्तेललको शल्यक्रिया गर्नु अन्य बिरामीलाई जस्तो सहज थिएन। किनकी बिना इन्जेक्सन मोलियाविन्दुको शल्यक्रिया सम्भव थिएन। उनलाई बिना इन्जेक्सन एनेस्थेसिया झोल लगाएर शल्यक्रिया गरियो।
अन्ततः रम्तेलको आँखाको उपचार सफल भयो। उनी शल्यक्रिया १० मिनेटमै पुरा भयो उनले दुवै आँखा देखिन्।
रम्तेल आँखा देख्न सक्ने भएर रमाएपछि डा लिम्बुको टोली पनि खुसी भए।
बिना इन्जेक्सन दुवै आँखाको शल्यक्रिय गर्नु जटिल केस भएपनि रम्तेलको उपचार सफल भएको डा लिम्बुले बताए।
‘उच्च रक्तचापको समस्या भएकाले उहाँको शल्यक्रिया नगर्ने निर्णयमा पुगिसकेका थियौं, मैले यसअघि बिना इन्जेक्सन एउटा मात्र आँखाको शल्यक्रिया गरेको थिएँ, तर उहाँको दुवै आँखाको गर्नुपर्ने थियो,’ डा लिम्बुले स्वास्थ्यखबरसँग भने, ‘दुवै आँखामा मैले पहिलो पटक झोल लगाएर दुवै आँखाको मोतिविन्दुको शल्यक्रिया गरँ। बिरामी खुसीले चिच्याउनु भयो। हामीलाई धेरै खुसी लाग्यो।’
डा लिम्बु सहितको चिकित्सकहरुको टोलीले ओखलढुंगामा बुधबार र बिहीबार दुईदिने शिविर संचालन गरी एकसय जना मोतिविन्दुका बिरामीहरुको निशूल्क शल्यक्रिया गरेका थिए।
उक्त शिविरमा दुवै आँखाको मोतिविन्दुको उपचार गर्ने बिरामी रम्तेल सहित १५ जना थिए।
यस्तै अन्य बिरामीहरुको भने एउटा आँखामा मोतिविन्दु भएर अन्धोपन भएकाहरुको उपचार गरिएको थियो।
कोरोनाका कारण सेवा बन्द हुँदा अन्धोपनका बिरामी बढ्दै
मोतिविन्दुको कारण हुने अन्धोपनका बिरामीहरु कम गराउन तिलगंगा आँखा अस्पतालले विभिन्न समयमा ग्रामिण क्षेत्रहरुमा आँखा शिविर संचालन गर्दै आएको छ। तर कोरोना संक्रमणका कारण लामो समयसम्म यस्ता शिविरहरु सञ्चालन भएको थिएन। तिलगंगा अस्पतालले कोरोना संक्रमणका कारण नेपालमा भएको लकडाउन र निषेधाज्ञा पछि ओखलढुंगामा गरिएको शिविर दोस्रो शिविर हो। यसअघि पहिलो शिविर धादिङमा गरिएको थियो। धादिङमा ११५ जना मोतिविन्दुका कारण अन्धोपनाको समस्या भएका बिरामीको शल्यक्रिया गरिएको थियो।
कोरोना संक्रमणका कारण अस्पतालहरुमा मेजर शल्यक्रिया सेवा बन्द भएको र मानिसहरु उपचारको पहुँचमा पुग्न नसक्दा मानिसहरुमा अन्धोपनाको समस्या बढेको डा लिम्बुले बताए।
‘पहिला पहिला उपचार गराउन सक्नेहरु त शहरमा गएर उपचार गराउथें तर नेपालमा कोरोना संक्रमणपछि लकडाउन र निशेधाज्ञाका कारण मोतिविन्दुको समस्या लिएर घरमै बस्न बाध्य भए,’ डा लिम्बुले भने, ‘हामीले धादिङ र ओखलढुंगामा गरेको शिविरबाट पनि अनुभव गर्यौं, मानिसहरु मोतिविन्दुको पनि अन्तिम अवस्थामा, आँखा पाकेको अवस्था, दुवै आँखा नदेख्ने गरी अन्धोपन भएर बसेको मान्छेहरु भेटिए।’
कोरोना संक्रमणका कारण लामो समय बिरामीहरु उपचार सेवाबाट बञ्चित भएकाले अन्धोपना कम गर्ने लक्ष्य पुरा गर्न चुनौती थपिएको डा लिम्बुको भनाई छ।
‘१९९७ मा शुन्य दशमलब ६ प्रतिशत रहेको अन्धोपनाको समस्या २०१९ मा शुन्य दशमलब ३ प्रतिशतमा झरेको थियो,’ डा लिम्बुले भने, ‘ आँखामा काम गर्ने हामी स्वास्थ्यकर्मीहरुले २०२० मा सबै अन्धोपना हटाउने संकल्प लिएका थियौं, तर कोरोना सुरु भएपछि धेरै मानिसहरुले उपचार पाएनन्। जसका कारण अन्धोपनको संख्या झन् बढेको हामीले अनुमान गरेका छौँ।’