डा सुवास प्याकुरेल
कोभिड-१९ सम्बन्धी तथ्य, तथ्यांक र तर्क दिनदिनै फरक परिरहेका छन्। 'ब्रान्ड न्यू' भाइरसले गराएको 'ब्रान्ड न्यू' रोग भएकाले नयाँनयाँ तथ्य खुल्दै जानु र तथ्यांक अदल-बदल भइरहनु अचम्म मानिरहनुपर्ने विषय पनि भएन।
नेपालका सन्दर्भमा कुरा गर्दा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा रुना झाले बताएका व्यवहारिक ज्ञानले धेरै जिज्ञासा सम्बोधन गरेको पनि छ। यद्यपि यो रोगका विषयमा धेरै जिज्ञासा र चासो व्यक्त भइरहेका छन्। तिनै जनजिज्ञासा मेट्न थोरै भएपनि योगदान गरोस् भन्ने हेतुले यो लेखमा संक्रमित तथा संक्रमितको सम्पर्क (कन्ट्याक्ट हिस्ट्री)मा आएका र कोभिड-१९ को लक्षणसँग मिल्दाजुल्दा लक्षण भएका व्यक्तिमा ल्याब परीक्षणमार्फत् डायग्नोसिस कसरी गरिन्छ भन्ने खुलाउन खोजिएको छ।
यसका लागि ज्ञान-स्रोतका रूपमा विश्व स्वास्थ्य संगठन, सेन्टर फर डिजिज कन्ट्रोल, नेपाल मेडिकल काउन्सिललगायतका विश्वसनीय र आधिकारिक संस्थाले अघि सारेका गाइडलाइन र प्रोटोकललाई आधार बनाइएको छ। साथै, अमेरिकाको मेयो क्लिनिकको अध्ययन, अब्बल मिडियामा सुनिएका र पढिएका विज्ञका तर्क र अन्य मुलुकमा कोभिड-१९ का बिरामीको उपचारमा खटिएका डाक्टर र स्वास्थ्यकर्मीका अनुभवलाई पनि उतिकै आधार बनाइएको छ।
१. कोभिड-१९ पत्ता लगाउन कति किसिमका ल्याब परीक्षण प्रचलनमा छन्?
हालसम्म दुइ प्रकारका टेस्टलाई विभिन्न मुलुकले प्रयोगमा ल्याएका छन्। पहिलोमा छ, कोरोना भाइरसको उपस्थिति जानकारी दिने 'आरटी पिसिआर' अर्थात् 'रियल टाइम रिभर्स ट्रान्सक्रिप्सन पोलिमरेज चेन रियाक्सन'। दोस्रोमा छ, उक्त भाइरसविरुद्धमा रगतमा उत्पन्न एन्टिबडीको जाँच गरिने 'इम्युनो-डायग्नोस्टिक टेस्ट' वा 'र्यापिड डायग्नोस्टिक टेस्ट'। यी दुइ टेस्टमध्ये एउटा हो, भाइरस प्रोटिन अर्थात एन्टिजेन हेर्ने पद्धति र अर्को चाँहि भाइरसविरुद्ध तयार भएको एन्टिबडी हेर्ने पद्धति।
२. आरटी पिसिआर कस्तो टेस्ट हो र के फ्याक्टर हेरिन्छ यसमा?
यस विधि अन्तर्गत तालिमप्राप्त प्याथोलोजिस्ट वा ल्याब प्राविधिककहाँ लगेर कोरोना भाइरसको मूल वंशाणु तत्व अर्थात् यसको 'आरएनए' को चरित्र र थर्मोसाइक्लर नामक पिसिआर मेसिनका सहायताले विशेष विधिबाट व्यक्तिबाट संकलन गरिएको स्याम्पल प्रशोधन गरी निक्लिएको लाखौ-करोडौ 'आरएनए' को चरित्र मिल्छ-मिल्दैन भनी रुजु गरिन्छ।
३. आरटी पिसिआरका लागि कहाँबाट र कसरी संकलन गरिन्छ नमुना?
यो टेस्ट गर्न 'इयर बड'सँग मिल्दोजुल्दो केही ठूलो साइजको स्वाब-स्टिकका सहायताले नाकको भित्री भाग वा मुखको भित्री भागबाट हल्का कोतरेर नमुना संकलन गरिन्छ। नाकपट्टिको भाग स्टिक छिराएर सबैभन्दा भित्तामै पुगी निकालिएको स्याम्पललाई 'न्याजो फ्यारिन्जियल स्वाब' र मुखबाट स्टिक छिराएर निकालिएको स्याम्पललाई 'ओरो फ्यारिन्जियल स्वाब' भन्ने गरिन्छ। यसमध्ये जुनसुकै विधिले नमुना संकलन गरेपनि समग्र प्रक्रिया र परिणाममा तात्विक भिन्नता भने रहँदैन।
४. आरटी पिसिआर विधिका प्राविधिक चरणहरु के के हुन्?
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा रुना झाका अनुसार सबैभन्दा पहिले स्याम्पललाई प्रशोधन गरी प्रतिनिधिमूलक भाग छुट्ट्याउने काम गरिन्छ। यसलाई प्राविधिक भाषामा 'एलिकोटिङ' भनिन्छ। एलिकोटिङपछि अझै छाँटकाँट गरी त्यसभित्र भएको वंशाणु पदार्थ अर्थात् 'आरएनए' निकालिन्छ। प्राविधिक भाषामा यस्तो प्रक्रियालाई टेम्प्लेट एक्स्ट्राक्ट भन्ने गरिन्छ। तत्पश्चात् सो आरएनएलाई अन्य आवश्यक पदार्थ (यस्तो कपि निक्लियोस् भनी रेफरेन्सका लागि प्रयोग हुने अर्को थरी खुराक आरएनए वा) 'प्राइमर', पानीलगायत 'पोलिमरेज' नामक जैविक इञ्जाइम राखेर 'मास्टर मिक्स' तयार गरिन्छ। यसरी तयार मिक्सलाई तापक्रम मिलाईमिलाई चारदेखि पाँच घण्टा पिसिआर मेसिनमा राखिन्छ। यसो गरिसक्दासम्म त्यहा लाखौं-करोडौं आरएनए कपी तयार भैसकेको हुन्छ। त्यसपछि अध्ययन गरी रिपोर्ट निकाल्ने विधि छ। संख्यामा व्यक्तिबाट संकलन गरिएको नमूनामा भएबाट निस्किएका लाखौं-करोडौंको आरएनएको चरित्र कोरोना भाइरसवाला आरएनएसँग मिल्दो आए कोरोना पोजेटिभ भनी रिपोर्ट गर्न सहज हुन्छ।
५. आरटी पिसिआर परीक्षण गर्न कति समय लाग्छ?
डा झाका अनुसार आरटी पिसिआर परीक्षणको मुख्य प्रक्रिया पूरा गर्न पाँच घण्टा लाग्छ। तर शुरुवातमा हुने अन्य प्रक्रिया र रिपोर्ट निकाल्ने प्रक्रिया सबै जोड्दा आठ घण्टा जति पुग्छ। अमेरिकाको भर्जिनिया स्टेटमा पल्मोनोलोजिस्ट र क्रिटिकल केयर विज्ञका रुपमा कार्यरत डा सोमनाथ चालिसेका अनुसार अमेरिकमा पनि सबै ल्याबले यसको टेस्ट गर्न पनि सक्दैनन् र सबै ल्याबले यस्तो परीक्षण गर्न स्वीकृति पाएका पनि हुँदैनन्। त्यसैले यो टेस्ट गर्ने ल्याबमा धेरै हस्पिटलबाट जम्मा भएको धेरै बिरामीको स्वाबको लोड रहेको हुन्छ। जसले गर्दा अहिलेको स्थितिमा अमेरिकामै पनि ४८ देखि ७२ घण्टा कुर्नु पर्ने स्थिति छ।
६. यो परीक्षणमा किन 'रियल टाइम' भन्ने शब्दावलीको प्रयोग गरिएको हो?
प्रोसेस भइरहेकै अवस्थामा पनि भाइरसको वंशाणुगत गुण भएको तत्व आरएनएबारे आँकलन गर्न सकिने हुनाले यस टेस्टमा रियल टाइम शब्दावली जोडेर बोल्ने गरिएको हो।
७. आरटी पिसिआर परीक्षण कति भरपर्दो हुन्छ?
यस टेस्टलाई आजका मितिसम्म विश्वले कोभिड-१९ को कन्फर्मेटरि टेस्टका रुपमा लिएको छ। कुनै पनि टेस्ट गर्ने विधिको उपादेयता र विश्वसनीयतामा दुई वटा गुणलाई हेरिएको हुन्छ। पहिलो, सेन्सिटिभिटी अर्थात् संवेदनशीलता। परीक्षणको नतिजाले नेगेटिभ देखाएपछि त्यस रोग नभएको भनी खुलाउने उक्त टेस्टको क्षमतालाई सेन्सिटिभिटी भन्ने गरिन्छ। यस सम्बन्धमा भने आरटी पिसिआर परीक्षणको सेन्सिटिभिटी ६५-७०% मात्रै छ। अर्थात्, ३० देखि ३५ प्रतिशतसम्म यो भाइरस संक्रमण भएको भए पनि संक्रमण नभएको (नेगेटिभ रिपोर्ट) भनी देखाइदिन सक्दछ। यसको अर्थ यो परीक्षणको पनि रिजल्ट शतप्रतिशत भन्ने नहुन सक्छ।
दोस्रो गुण हो, 'स्पेसिफिसिटी' अर्थात् विशिष्टता अर्थात् परीक्षण रिपोर्ट 'पोजिटिभ' आएपछि संक्रमण भएको भनी खुलाउने उक्त टेस्टको क्षमता। यस सम्बन्धमा भने यस टेस्टको स्पेसिफिसीटि शतप्रतिशत नै छ। यो परीक्षणबाट 'पोजिटिभ' देखाएकालाई भने शतप्रतिशत नै कोभिड-१९ भएको हुन्छ। समग्रमा भन्नुपर्दा कोरोना भाइरसको आरटी पिसिआर प्रविधिबाट गरिएको परीक्षणमा रिपोर्ट पोजेटिभ आए शतप्रतिशत कोरोना भाइरस संक्रमण हुन्छ। तर यस्तो परीक्षणको रिपोर्ट नेगेटिभ आए शतप्रतिशत नै कोरोनाको संक्रमण नभएको भनी ठोकुवा गर्न भने गाह्रो हुन्छ। कोरोना संक्रमण भएपनि रिपोर्ट नेगेटिभ आएको अवस्थालाई प्राविधिकहरूले 'फल्स नेगेटिभ रिजल्ट' भन्ने गरेका छन्।
८. फल्स नेगेटिभ रिजल्ट देखाउने कारण के हुन सक्दछ?
नमुना संकलन गर्ने बेलामा रोग सर्ने हो कि भनी प्राविधिकहरू डराएर अलिक हतार गर्ने भएकाले स्वाब कलेक्सन रीतपूर्वक हुन नसकेर भन्ने आँकलन गरिएको छ। कोभिड-१९ सम्बन्धी जनचेतना र नयाँ उपाय सुझाउने भूमिकामा खटिएर लाग्नु भएका जनरल सर्जन डा उदय कोइराला आरटी पिसिआरको विश्वसनीयताबारे भन्नुहुन्छ, 'पिसिआरमा पोजिटिभ देखिएका सबै केस पोजिटिभ हुन्। तर नेगेटिभ देखिएका सबै केस नेगेटिभ नै चाँहि नहुन सक्छन्।'
९. फल्स नेगेटिभ रिजल्टले झुठो-ढुक्कपना दिने हो कि?
यसै शीर्षकमा रहेर अमेरिकाको प्रसिद्ध अस्पताल मेयो क्लिनिकको अनुसन्धानमा संलग्न प्रिय सम्पतकुमारलाई उद्दृत गर्दै साइन्स डेली पत्रिकाले लेखेको छ, 'रोग हुँदाहुँदै पनि टेस्टका कारण छुट्न जाने केसका कारण भविष्यमा फेरि अर्को खतरा निम्तिने चुनौती कायमै रहन्छ। त्यसैले टेस्ट नेगेटिभ आउँदैमा पनि यदि लक्षण मिलेको छ, आवश्यक अन्य हिस्ट्री छ र छातीको एक्स-रे तथा सीटी स्क्यानले सुझाएका छन् भने कोभिड-१९ डायग्नोसिस भएकै जसरी उपचार अगाडि बढाइनु पर्दछ।
१०. कहिलेबाट यो टेस्ट पोजिटिभ देखिन्छ?
पल्मोनोलोजिस्ट डा राजु पंगेनीका अनुसार जुन दिनबाट व्यक्तिमा भाइरस छिर्छ र त्यसले आफ्नो फोक्सोतिरको यात्रा अघि बढाउदै जान्छ। सोही दिनबाट नै यो टेस्ट गर्ने बाटो खुल्छ र पोजिटिभ देखिन थाल्छ। रोग भएका व्यक्तिसँग सम्पर्क भइसकेको अवस्थामा लक्षण देखिनुअघिको अविध(इन्क्युबेसन अवधि)भित्रै पनि यो टेस्ट पोजिटिभ आउँछ। थप बुझ्नका लागि तल देखाइएको ग्राफलाई केही क्षण ध्यानपूर्वक हेर्न सकिन्छ।
११. एक पटक रोग लागेका व्यक्तिमा सधैं आरटी पिसिआरले पोजिटिभ नै देखाइराख्ने हो त?
होइन। जबसम्म स्वाब निकाल्न मिल्ने ठाउँमा भाइरस रहन्छ, तबसम्म मात्र यो टेस्ट पोजिटिभ देखिने हो। किनभने यस टेस्टले रगतभित्र भएको अन्य तत्व वा एन्टीबडी देखाउने होइन। जुन लामो समयसम्म पनि देखिराख्न सक्दछ। थप बुझ्न तलको ग्राफ उपयोगी हुन सक्दछ।
१२. कति समय लाग्छ पिसिआरको रिजल्ट आउन?
प्राविधिक रुपले ६ देखि ८ घण्टासम्ममा रिजल्ट देखिन्छ। यद्यपि, जतापनि यो टेस्ट सम्भव नहुनु वा धेरै अस्पतालले तोकिएको ल्याबमा नै नमुना पठाउनुपर्ने हुनु, धेरैजनाको स्याम्पलको लाइन हुनु, प्राविधिकको अभाव हुनुलगायत अन्य व्यवहारिक कारणले गर्दा अमेरिका र बेलायतजस्ता विकसित देशमा पनि स्वाब लिएदेखि यसको रिपोर्ट हात पर्ने अवधि दुईदेखि तीन दिनसम्म हुने गर्दछ।
१३. छिट्टै रिजल्ट दिने पिसीआरको विकास भएकै छैन त?
डा सोमनाथ चालिसेकाअनुसार हालै अमेरिकाको औषधि र खाद्य गुणस्तरको सर्वोच्च निकाय (फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसन)ले भर्खरै पिसिआर विधिको र्यापिड टेस्टलाई पूर्ण स्वीकृति नदिए तापनि यसलाई सकारात्मक ढंगले ग्रहण गरेको छ। र्यापिड टेस्टको आधा घण्टादेखि एक घण्टामा नै रिपोर्ट हेर्न सकिन्छ। यद्यपि, यो विधि व्यवहारिक प्रयोगमा आइनसकेकाले थप बोल्न सकिने स्थिति बनिसकेको छैन।
१४. पिसिआरको विकासको वैज्ञानिकले कहिले गरेका हुन्?
अमेरिकन बायोकेमिस्ट क्यारी ब्यांक्स मुलिसले सन् १९८५ मा यस पद्धतिको आविष्कार गरेका हुन्। यसका लागि उनलाई सन् १९९३ को रसायनशास्त्र तर्फको नोबल पुरस्कार प्रदान गरिएको थियो। उनको निधन सन् २०१९ अगस्ट ७ मा भएको हो।
१५. के हो नेपालमा प्रयोगमा आएको र्यागपिड टेस्ट (इम्युनो-डायग्नोस्टिक टेस्ट)?
कुनै पनि संक्रामक रोगमा रोगका कारक किटाणु (ब्याक्टेरिया) वा विषाणु(भाइरस) वा अन्य परजीवीको आफूसँगमात्र निहित विशेष प्रोटिन तत्वलाई एन्टिजेन भनी भनिन्छ। त्यही खास एन्टिजेनको प्रभाव कम गर्नका लागि हाम्रो शरीरभित्र प्राकृतिक तवरले रोग प्रतिरोधी गृहकार्य शुरु हुन्छ र एन्टीबडी भनिने प्रोटिन तत्व (इम्युनोग्लोब्युलिन) सेता रक्तकोष (बि लिम्फोसाइट वा प्लाज्मा सेल)बाट निस्कन्छ। एक किसिमले चोरविरुद्ध पुलिस खटिएर योजना निस्तेज पारेजस्तो प्रक्रिया चल्छ हाम्रो शरीरमा। हो, यो र्यापिड टेस्टले कोरोना भाइरसविरुद्ध निस्किएको यही एन्टिबडी पत्ता लगाउँछ।
१६. कतिको विश्वसनीय हुन्छ र्यापिड टेस्ट?
एन्टिबडी बन्न यसैपनि ३-४ दिन लाग्ने र त्यति समयसम्म यस टेस्टले संकेत दिन छुटाउने हुनाले यस टेस्टको उपादेयता प्रष्ट भैसकेको छैन। शुरुमा देखिने एन्टिबडी अर्थात् इम्युनोग्लोब्युलिन 'एम' बन्न पनि ३-४ दिन समय लाग्छ। पछिसम्म इम्युनिटी प्रदान गर्ने उद्देश्यले अलिक ढिला समयपछि देखिएर रहिराख्ने गरी देखा पर्ने इम्युनोग्लोब्युलिन 'जी' देखिन त झनै अरु केही दिन वा केही हप्तासम्म लाग्दछ। त्यसैले यो टेस्टले रोग शुरु भइसकेकै अवस्थामा पनि पोजिटिभ रिजल्ट दिन छुटाउन सक्दछ। तलको ग्राफले कति दिनपछि मात्रै यो टेस्ट उपयोगी हुन्छ भन्ने खुलाउँदछ।
१७. त्यसोभए एन्टिबडीमा आधारित र्यापिड टेस्ट ठ्याम्मै उपयोगी छैन त?
विश्व स्वास्थ्य संगठनले गत अप्रिल ८ मा आधिकारिक धारणा सार्वजनिक गर्दै यस्तो महामारीका बेला नयाँ नयाँ टेस्टको बाटो खुल्नु राम्रो भएता पनि निश्चित जनसंख्यामा टेस्ट भएर यस टेस्टको विश्वसनीयता प्रमाणीकरण प्रक्रिया टुंगोमा नपुग्दासम्म विश्वास गर्न नसकिने तर अनुसन्धानका लागि प्रयोग गर्न सकिने भनी उल्लेख गरेको छ। चीन, कोरियालगायत भारतले पनि 'नहुनु भन्दा यसैले पनि ठूलै हिन्ट दिन्छ' भन्ने आशयले मात्र अहिले नेपालले गरेझैँ ट्राभल हिस्ट्री र एक्सपोजर हिस्ट्री भएकाको स्क्रिनिङ गर्न र पोजिटिभ देखिए पिसिआर पद्धतिले कन्फर्म गर्ने मोडल पनि अख्तियार गरिरहेका छन्। यसको सेन्टिभिटी र स्पेसिफिसिटि पनि निर्क्यौल हुन बाँकि नै छ। एकैपटक यस्ता धेरै टेस्ट किट बजारमा ल्याउन लागेको भन्दै अमेरिकाको नियमनकारी निकाय 'एफडिए' का कमिसनर स्टेफेन हानले वक्तव्य जारी गरी यस्तो र्याकपिड टेस्ट किटको उपादेयता पुष्टि भइनसकेको स्पष्टीकरण दिइसकेका छन्।
१८. अरु किसिममका र्याभपिड टेस्ट उपलब्ध छन् कि छैनन्?
अर्को एकथरी आरडिटी अर्थात् र्यापिड डायग्नोस्टिक टेस्ट पनि प्रयोगकै चरणमा छ। माथि उल्लेख भएजस्तो एन्टिबडीमा आधारित नभई यो चाँहि भाइरस प्रोटिन अर्थात् एन्टिजेन हेर्ने प्रकृतिको छ। पिसिआरका लागि स्याम्पल लिएजस्तै नाक वा मुखभित्रको स्वाब वा खकार वा ब्रोंकोस्कोपी गरेर निकालिएको स्याम्पललाई विशेष स्ट्रिपमा हाली आधादेखि एक घण्टाभित्रमा रंग परिवर्तनका रूपमा पत्ता लाग्ने हुन्छ। यसलाई पनि आधिकारिक अनुमति भने मिलिसकेको छैन।
१९. आरटी पिसिआर र र्यापिड टेस्टबाहेक रक्त परीक्षणमा अरु के के देखिन्छन्?
कोभिड-१९ का बिरामीको रगत जाँच गर्दा लिम्फोसाइट भन्ने स्वेत रक्तकणको मात्रा घट्ने (लिम्फोपेनिया), त्यस्तै एएसटी र एएलटीजस्ता लिभर इञ्जाइम, ट्रोपोनिन, क्रिएटिनिन, एलडिएच, फेरिटिनिन र डी-डाइमरको मात्रा बढ्ने पाइएको छ। यद्यपि यस सम्बन्धमा थप गहन अध्ययन हुन भने बाँकि नै छ।