डेंगु धरानबाट हेटौंडा आइपुगेको छ। संयोग पनि कस्तो भने, मैले धरानमा सुरुवाती चरणमै डेंगु संक्रमित बिरामी हेरेको थिएँ भने हाल हेटौंडामा पनि संक्रमण देखिएको लगभग सुरुवातमै (झन्डै दुई हप्ता अगाडि) नै बिरामी हेर्ने मौका पाएको थिएँ। मैले त्यतिबेला नै डेंगु त्यहाँ फैलिँदै गरेको अनुमान पनि गरेको थिएँ।
बिरामीको भनाइलाई आधार मान्ने हो भने त्यहाँ कम्तीमा ५० भन्दा बढी डेंगु संक्रमितका बिरामी देखापरिसकेको छन्। यो संक्रमण नियन्त्रणमा आउन अझै समय लाग्नसक्छ। अझ भनौं, खासगरी एडिस जातको लामखुट्टे व्यापक भएका ठाउँहरुमा यसको भौगोलिक विस्तार हुँदै नजाला भन्न सकिँदैन। किनभने डेंगुको जोखिम सामान्यत: कात्तिक-मङ्सिरसम्म रहने गर्छ।
डेंगु संक्रमितहरु सबै अस्पताल भर्ना हुनु पर्दैन। तसर्थ घरमै बसेर स्वास्थ्यलाभ गर्दा के गर्ने र के नगर्ने भन्ने कुरा थाहा पाउनु जरुरी छ। हाल डेंगु व्यापक रुपमा फैलिरहेकोले यो सामग्री सान्दर्भिक हुनसक्छ।
के गर्ने?
१) प्रसस्त आराम गर्नुपर्छ। धेरै मानिसहरु संक्रमणका बाबजुद पनि स्कुल, कार्यालय वा आफ्नो व्यवसायमा व्यस्त हुने गरेको देखिन्छ, जसले बिरामीलाई झन् कमजोर बनाउँछ।
२) प्रसस्त झोलिलो खानेखुरा खाने (कम्तीमा एक जना वयस्कले पाँच चिया गिलास भन्दा बढी पिउने) जस्तै: दूध, फलफूलको जुस, जीवनजल, सुप आदि।
३) ज्वरो आएमा सिटामोलको मात्र प्रयोग गर्ने (२४ घन्टामा अधिकतम चार ग्रामसम्म मात्र प्रयोग गर्ने)।
४) कपडा पानीले भिजाएर टाउकोमा राखिदिएर ज्वरोलाई केही हदसम्म नियन्त्रण पनि गर्न सकिन्छ। भिजाएको कपडाले जिउ पुछिदिँदा पनि बिरामीले आराम महसुस गर्ने छ।
के नगर्ने?
१) पानी मात्र बढी नपिउने। यसले लवणको मात्रा अनियन्त्रित हुनसक्छ।
२) फलेकसोन, ब्रुफ़ेन, एस्पिरिन जस्ता दुखाई कम गर्ने औषधिहरु प्रयोग नगर्ने।
३) एन्टिबायोटिक औषधिको प्रयोग जताभावी नगर्ने (चिकित्सकको परामर्श बिना प्रयोग नगर्ने)।
यी बाहेक घरभित्र र बाहिर कतै पनि पानी जम्ने वातावरण सिर्जना गर्नुहुँदैन र यदि कारणवस सफा पानी राख्नैपर्ने अवस्था भए पानी जम्मा गर्ने भाँडा बेलाबेलामा अवलोकन गर्नुपर्छ। यदि त्यहाँ लामखुट्टेको लार्भा देखिए तुरुन्त त्यो पानी फाल्नु पर्छ।
आफ्नो घरमा मात्र नभएर टोल, सहर सबै ठाउँमा सबै एकजुट भएर लामखुट्टेको वृद्धि–विकास हुने वातावरण नै सिर्जना नहुने उपायहरु अपनाउनुपर्छ।
हाल धरानमा देखिएको डेंगु धरानमा मात्र 'लामखुट्टे खोज र नष्ट' अभियान केन्द्रित हुँदा विस्तारै अरु ठाउँमा पनि फैलँदै गएको छ र यो जहाँ जहाँ लामखुट्टे छ, त्यहाँ त्यहाँ नपुग्ला भन्न सकिँदैन। यसको लागि स्थानीय सरकारको मात्र सहायताको आश नगरी हामी स्वयंले यसको विरुद्ध अभियानमा अभिनुपर्छ।
-(डा पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन्)