वर्षायाममा बाढी पहिरोसँगै विभिन्न रोगको संक्रमणको जोखिम रहन्छ। यो समयमा विषेशगरी पानीजन्य र किटजन्य रोग बढी मात्रामा देखिने गरेको छ। यो समयमा स्वास्थ्यको विषेश ख्याल गर्नुपर्ने सुरुवा रोग तथा ट्रपिकल अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन बताउँछन्। वर्षामा केकस्ता सरुवा रोगको जोखिम हुन्छ र ती जोखिमयुक्त सरुवा रोगबाट बच्न के गर्नुपर्छ भन्ने विषयमा डा पुनसँग स्वास्थ्यखबरका लागि बिन्दु शर्माले गरेको कुराकानीः
हरेक वर्ष वर्षायाममा विभिन्न सरुवा रोगको प्रकोप फैलिन्छ ? यसबाट जोगिन के गर्नुपर्ला?
वर्षायाम सुरु भएसँगै झाडापखला, टाइफाइड, जन्डिस, हैजा जस्ता रोग हरेक वर्ष देखिने गर्छ। बाढी–पहिरोपछि देखिने स्वास्थ्य समस्या भनेको पानीसँग सम्बन्धित संक्रमणहरु हुन्। पानीमात्रै नभएर किटजन्य समस्या जस्तैः मलेरिया, डेङ्गु पनि देखिने हुन्छ।
वर्षायाममा साझा प्रकृतिका सरुवा रोगहरु मध्ये मलेरिया, डेङ्गु, झाडापखला र लेप्टोइस्पाइरोसिस जस्ता रोग बाढी–पहिरोपछि देखिने गर्छन्। त्यसमा पनि लेप्टोइस्पाइरोसिस अलि फरक प्रकृतिको सरुवा रोग हो, जुन मुसाको पिसाबबाट मान्छेमा सर्छ।
यो एक प्रकारको ब्याक्टेरिअल संक्रमण हो र खासगरी संक्रमित जनावरहरुको पिसाबबाट सर्ने गर्छ। यो पानी तथा माटोमा हप्तौं वा महिनौंसम्म पनि रहने गर्छ। तसर्थ मानिस संक्रमित पिसाब मिसिएको पानी वा माटोको सम्पर्कमा आएमा यो रोग सर्छ। शरीरमा घाउ भएको वा छाला काटिएर खुला भएमा वा संक्रमित पानी पिएमा लेप्टोइस्पाइरोसिस रोग लाग्नसक्छ। यी अवस्थाहरु बाढी–पहिरो जाँदा धेरै हुने भएकोले नै यो संक्रमणको जोखिम पनि बढी हुने गरेको हो।
लक्षण
यसका लक्षणहरु टाइफाइडसँग केही मिल्दोजुल्दो देखिन्छन्।
– काम ज्वरो आउनु,
– टाउको दुख्नु,
– मांसपेसी तथा जोर्नी दुख्नु,
– आँखा रातो हुनु, पेट दुख्नु,
– पखाला लाग्नु,
– शरीरमा बिबिरा देखिनु
यी लक्षणहरु संक्रमण भएको दुईदेखि एक महिनासम्ममा देखिने गर्छन्। रोगको अवधि बढ्दै जाँदा र उपचार नगरे आँखा पहेंलो हुने (कलेजोमा समस्या आउने), मिर्गौलामा तथा स्नायु प्रणालीमा पनि असर पार्ने गर्छ।
परीक्षण
लक्षणहरु लेप्टोइस्पाइरोसिससँग मिलेको भए पनि यसको किटान गर्न प्रयोगशाला निदान गर्न जरुरी हुन्छ। बाढी प्रभावित क्षेत्रमै पनि द्रुत परीक्षण गर्ने किटको प्रयोग गरी रोग यकिन पहिचान गर्न सकिन्छ। लेप्टोइस्पाइरोसिससँग अरु संक्रमणहरु पनि बाढीको समयमा फैलनसक्ने र यी संक्रमणहरुको लक्षण पनि धेरै हदसम्म एक अर्कासँग मिल्दो–जुल्दो हुने भएकोले प्रयोगशाला निदान अति आवश्यक हुन्छ।
उपचार
यसको उपचार डोक्सिसाइक्लिन नामक एन्टिबायोटिकबाट गर्न सकिन्छ भने गर्भवती महिला वा बालबालिकामा एमोकसिलिन नामक एन्टिबायोटिक दिन सकिन्छ। संक्रमणको जोखिमबाट बच्न हप्तामा दुई मिलिग्राम डोक्सिसाइक्लिन एन्टिबायोटिक दिँदा लेप्टोइस्पाइरोसिसको आक्रमण दर र मृत्युदरमा समेत कमी आएको विभिन्न अनुसन्धानले देखाएका छन्। यो समूहगत रुपमा दिन सकिन्छ।
हरेक वर्ष बाढी तथा पहिरो जाने भएकोले यसप्रति सबैको विशेष चासो हुनुपर्छ। हाम्रो समुदायमा मुसाको बिगीबिगी हुने हुँदा उनीहरुको पिसाब मानिसको सम्पर्कमा र खासगरी बाढीको समयमा सहजै आउने हुनाले लेप्टोइस्पाइरोसिसले महामारीको रुप नलेला भन्न सकिँदैन। गत वर्ष देखिएन भन्दैमा यो वा आगामी वर्षहरुमा नदेखिएला भन्न पनि सकिँदैन। यसकारण पनि स्वास्थ्यमा विषेश सावधानी अपनाउनुपर्छ।
बाढी–पहिरोका कारण विस्थापित भएकाहरुमा पानीजन्य रोगको संक्रमण हुने खतरा बढी रहन्छ। ठूलो समूहमा एकै ठाँउमा बसेर खाइने खाना, पिउने पानी, शौचालयको प्रयोग गर्नेहरुमा एकै पटक विभिन्न संक्रमण देखिनसक्छ। संक्रमणको मुख्य कारण सफा खाना, सफा पानी, बासस्थान र सफा शौचालय नहुनु हो।
यसरी सबैकुरा दूषित हुँदा विभिन्न संक्रणको जोखिम रहन्छ। विस्थापित भएकै कारण ठूलो समूहमा बस्नुपर्दा कतिपय अवस्थामा हावाजन्य रोगको जोखिम पनि प्रवल रहन्छ। जसमा टिबी र श्वाप्रश्वास सम्बन्धी रोग बढी मात्रामा देखिन्छ। हेपाटाइटिस ए र ई को जोखिम यो समयमा उच्च रहने हुनाले विषेश सावधानी अपनाउनुपर्छ। हेपाटाइटिस ए र ई ले गर्भवतीमा बढी प्रभाव पार्ने हुँदा उनीहरुले विषेश ख्याल राख्नुपर्छ।
विस्थापित क्षेत्रमा एकै रोगको संक्रमण नभएर विभिन्न रोगको संक्रमण हुनसक्छ। कतिपय भाइरल संक्रमण हुनसक्छ भने कतिपय ब्याक्टेरिअल। त्यसकारण सुरुमा व्यक्ति सचेत हुनुको साथै रोगको सही पहिचान गरी समयमै उपचार गर्नुपर्छ।
बाढी पहिरोको उच्च जोखिमका क्षेत्रहरुमा र विस्थापितहरुमा सुरुमा सुरक्षित बाससँगै सफा पानी तथा खानाको अनिवार्यता रहन्छ।
बाँकी भिडियोमा